भाद्र २२ बुधबार, काठमाण्डाै । सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएकाको सुनुवाइ अन्यौलमा रहने देखिएकाेछ । न्यायपरिषद्ले सर्वोच्च अदालतमा नियुक्ति अघि संसदीय सुनुवाइ गरिदिन तीन न्यायाधीशको सिफारिस गरेको छ। न्यायपरिषद्ले मंगलबार उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षित, जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद पौडेल र नेपाल ल क्याम्पसका विभागीय प्रमुख डिएन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। साथै संसद सचिवालयले परिषद्ले सुनुवाइका लागि पत्र प्राप्त भएको जनाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक तथा समिति सन्चालन सम्बन्धि नियमावलीले यसरी पत्र प्राप्त भएको ४५ दिन भित्र सुनुवाइ गरिसक्नुपर्ने प्रावधान छ। तर प्रतिनिधि सभाको कार्यकालबारे देखिएको अन्योलले सुनुवाइमा समेत अन्यौलता देखिएको छ। संविधानले प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष हुने प्रावधान गरेको छ। तर निर्वाचनका बेला कार्यकालको अन्त्य कहिले हुन्छ भन्ने द्विविधा देखिएको छ।
Author: prayatnayekkoshis
-
नायक पल शाहलाई बालयौन दुरूपयोगमा दुई वर्ष छ महिना कैद
भाद्र २२ बुधबार, काठमाण्डाै । नवलपुर जिल्ला अदालतले मङ्गलबार नायक पल शाहलाइ साढे दुई वर्ष कैद फैसला सुनाएको छ। नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरूपयोगमा दुई वर्ष छ महिना कैद , रु २५ हजार जरिवाना र रु दश लाख क्षतिपूर्तिको फैसला सुनाएको हो। नायक शाहलाइ जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बालयौन दुरूपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको छ। शाहविरूद्ध नवलपुर अदालतमा गत चैत ३ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो।
साथै नायक शाह विरुद्ध बालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै तनहुँ प्रहरीमा पनि गत फागुन ११ गते उजुरी परेको थियो। शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो। हाल तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ। यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेसी स्थगित भएको थियो। तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेसी तोकिएको जानकारी दिए।
-
बसन्तपुरमा य: सिं ठड्याइ इन्द्रजात्रा सुरू गरियाे
भाद्र २२ बुधबार, काठमाण्डाै । हनुमानढोकामा आज बुधबार बिहान इन्द्रजात्राको लिंगो (य:सिं) ठड्याइएको छ। हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाण्डाैको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहित लिङ्गो ठड्याइ जात्रा सुरू हुने गर्छ। बुधबार बिहान ७:१५ बजेको साइतमा लिंगो ठड्याइएको छ। परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइएको छ। इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । भक्तपुरको चित्तपोलस्थित य: सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको रुखबाट लिंगो तयार गरिन्छ । इन्द्रजात्राका बेला लिंगो ठड्याइनु काे साथै मुख्य रुपमा गणेश, भैरब , कुमारी देवीलाइ रथहरुमाकाे राखि परिक्रमा गराउने चलन रहेकाेछ ।
नेवार समुदायमा मनाइने यो जात्रा आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी मनाइन्छ । नेवार समुदायको हिन्दू र बौद्ध धर्मावलम्बीहरुले यो जात्रा भब्यताका साथ मनाउँछ।
-
कोरला नाका खाेल्न सके पर्यटन व्यवसाय अझ बदी फस्ताउने
भाद्र २० साेमबार, काठमाण्डाै । पोखरा पर्यटन परिषदले मुस्ताङ जिल्लाको पर्यटन प्रवर्धन तथा कोरला नाका सम्बन्धि सरोकारवाला सँग गरेकाे छलफल कार्यक्रममा मुस्ताङका जनप्रतिनिधि हरुले कोरला नाका खाेल्न सके पर्यटन व्यवसाय अझ बदी फस्ताउने बताएका छन् । कार्यक्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले ‘यो नाका (कोरला–त्रिवेणी) खुलाउने हो भने त्यसको लाभ पर्यटनबाट सबैभन्दा बढी लिन सकिन्छ,’ भनेका छन् । उनले कोरला नाका संचालनमा ल्याउन सके गण्डकीको मुकाम पोखरा केन्द्र बन्ने बताए। उनका अनुसार कोरला देखि गण्डकी प्रदेशलाई भारतसँग जोड्ने त्रिवेणी नाकाम्मको दूरी ४५७ किलोमिटर छ। उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो रुट नै कोरला–त्रिवेणी हुने उनले बताए। ‘उत्तरी र दक्षिणी मुलुकलाई जोड्दै व्यवसाय गर्न सकिन्छ। उनका अनुसार कोरला नाकामा नेपालतर्फ १३ सय रोपनी जग्गा सरकारको नाममा छ। तर, जग्गा भएपनि काम केही पूर्वाधर तयार नभएको उनले बताए।चीनले आफ्नोतिरको सडक यसअघि नै कालोपत्रे गरिसकेको भएपनि नेपालतर्फ भने आवश्यक भौतिक पूर्वाधारको नामोनिसान समेत नभएको उनको भनाइ छ। तिब्बततिर चीनले भन्सार, अध्यागमन सहित सुरक्षा निकायका लागि आवश्यक संरचना बनाईसकेको छ। तर, नेपालतर्फ भने खासै गतिला संरचना नबनेको उनले बताए।
२०७२ को नाकाबन्दीले भारतबाट आयात रोकिएपछि उत्तरी नाका खोल्ने प्रयास थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका प्राथमिकता परेको हो। त्यही प्रयास पछि चीनले आफ्नो क्षेत्रमा भव्य संरचना बनाइ सक्दा नेपालतिर भने सुनसान रहेको छ। सरकारले यस तिर त्यति चासाे दिएकाे छैन । जसले गर्दा भौतिक पूर्वाधार बनाउने कार्य ठप्प नै छ ।
-
प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” छलफल गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
भाद्र १९ आइतबार, काठमाण्डाै । प्रतिनिधिसभाको आज भएको बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले उक्त प्रस्ताव प्रतिनिधि सभामा पेश गरि सर्वसम्मतिबाट स्वीकृत गरिएकाे छ । यसअघि सभाले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९” लाई प्रस्तुत गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०५ र नियम १११ का प्रावधानको समय सीमा छोट्याउन नियमावलीको नियम २५० बमोजिम नियम निलम्बन गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो ।
प्रस्तावमाथि विरोधको सूचना राख्दै सांसद प्रेम सुवालले शासनमा रहेकाहरूले शक्तिको दुरुपयोग गरेर विधेयक ल्याउन समय छोट्याइनु गलत भएको बताउनुभयो । विरोधका सूचना राख्ने सांसदको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयकमा अन्तर्राष्ट्रिय कानुन अनुसार कानुनलाई संशोधन गर्न आवश्यक रहेकाले विभिन्न १६ वटा कानुनलाई संशोधन गर्ने गरी विधेयक ल्याइएको बताउनुभयो ।
-
मन्त्रीलाइ लाइनमा बस्नुस् भन्ने सुरक्षा गार्ड पक्राउमा
भाद्र १९ आइतबार, काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई तपाइ मन्त्री भए पनि लाइनमा बस्नुस भन्ने सुरक्षागार्ड पक्राउमा परेका छन्। पक्राउ पर्नेमा गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराका अनुसार मन्त्री श्रेष्ठ छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि पुगेका थिए। तर मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्नु पर्ने भनेछ। त्यसपछि मन्त्रीका पिएसओले उनी मन्त्री भनि बुझाउन प्रयास गर्दा पनि सुरक्षागार्ड नमानि जो मानिस भए पनि लाइनमा बस्नु पर्ने भनि काराएछ ।अनि त्यहाँ धकेला धकेलको अवस्था सिर्जना भएको थियाे। त्यसपछि पिएसओले प्रहरीमा जाहेरी दिइ सुरक्षागार्डलाइ नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। सुरक्षागार्ड शेरजंग गुरूङमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ।
-
११ किलो गाँजा सहित दुई जना पक्राउ
भाद्र १९ आइतबार, काठमाण्डाै । काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डाैका अनुसार शनिबार धादिङबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बसमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले सवार गरेका यात्रुहरुलाइ चेक जाँच गर्दा दुई जनालाइ पक्राउ गरेको थियो। जसमा धादिङ गजुरी गाउँपालिका-१९ वर्षीय सुमन प्रजा र १८ वर्षीय सन्तोष प्रजाबाट ११ किलो गाँजा साथमा फेला पारेको थियाे। प्रहरी वृत्त थानकोटले घटनाको थप अनुसन्धानकाे लागि मुद्दा अघि बढाएको छ। थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको छ।
-
ठगी आरोपित होटल मेरियटबाट पक्राउ
भाद्र १९ आइतबार, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट भागेका एक जना ठगी आरोपितलाइ प्रहरीले होटल मेरियटबाट पक्राउ गरेका छन्। प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार बिहान साढे ८ बजे फ्लाइ दुबईको विमानबाट काठमाण्डाै आएका थियाे । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार राति १० बजे नक्सालस्थित मेरियट होटलबाट पक्राउ गरेको छ । आलम माथि पाइलट बनाइदिने भन्दै एक करोड ६८ लाख ठगी गरेको आरोप छ। काठमाण्डाै जिल्ला अदालतबाट उनीसहित ११ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणामा दुबईबाट अरब पार्लियामेन्टका उपसभामुख र नेशनल फेडरल काउन्सिलका सदस्य शुक्रबार बिहान काठमाण्डाै आइपुगेका थिए। आरोपित रिजवान आलम उनीहरूकाे दोभाषे बनेर आएका थिए।
-
हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् – मेयर बालेन
भाद्र १९ आइतबार , काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना सय दिनमा गरिएका काम सम्झँदै पाँच बर्षका लागि याेजना रहेकाे भनाइ सार्वजनिक गरेका छन्। उनले अनधिकृत संरचना हटाउने कार्यलाई महानगरले प्राथमिकताका साथ अगाडि बढाएको पनि बताएका छन्। फोहोर व्यवस्थापनमा ढिलाइ भएकाे पनि स्विकारेका छन।
मेयर बालेन साहले १०० दिन कार्यकाल पुगेको सन्दर्भमा लेखेका छन् – ”हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आम मानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ ।

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन शाह १. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सहि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफुले पाएको अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।
२. Esports का लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढि थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।
३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो । यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफु त्यो बिधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।
४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भुमिकाका लागि अर्को भुमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।
५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ ।
६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधी हुनुको औचित्य पनि त्यहि हो ।
अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।”
-
केन्या विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजय
भाद्र १८ शनिबार, काठमाण्डाै । नेपालले शनिबार केन्याविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा १७ रनको विजय हासिल गरेको छ । योसँगै नेपालले तीन खेलको एकदिवसीय शृंखला २–० ले जितेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । नेपालले यसअघि पनि पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो ।कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितकुमारले नेपालको नेतृत्व गरेका थिए ।रोहितले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । उनले ९५ बलमा सात चौका सहित ७८ रन बनाएका थिए । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । साथै २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा सबै विकेट गुमाएर २१३ रन मात्र बनाए ।
-
भरतपुरकाे बजार क्षेत्रका सडकमा विधुत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरियाे
भाद्र १९ शनिबार, काठमाण्डाै। पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत नेपाल विधुत प्राधिकरणले भरतपुरकाे बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरेका थिए। भरतपुर महानगर कार्यालयको अगाडि पूर्व-पश्चिम राजमार्गको छेउमा गैंची चलाएर आयोजनाको आरम्भ गरेका थिए। नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आयोजनाले कास्कीको पोखरा वितरण केन्द्र तथा चितवनको भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी सडकहरुको विधुत लाइनहरु भूमिगत गर्ने तथा ट्रान्सफरमरहरु सुदृढीकरण र थप गरिनेछ। साथै आयोजनाले अप्टिकल फाइवर केवल बिछ्याउने तथा वितरण प्रणाली स्वचालन गरिने पनि बताए। यो आयोजनाको पहिलो चरणको कामका लागि करिब ३ अर्व बजेट खर्च हुने प्राधिकरणले जनाएको छ।
-
फन पार्कले तिर्यो पाँच वर्षकाे मनोरन्जन कर
भाद्र १६ बिहिबार, काठमाण्डाै। भृकुटीमण्डप स्थित फनपार्कले पाँच वर्षकाे मनोरन्जन कर तिरेको छ। महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार भृकुटीमण्डप स्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरन्जन कर महानगरको राजस्व विभागलाई बुझाएकाे छ । उक्त मनोरञ्जन कर पाँच वर्षको हो। काठमाण्डाै महानगरपालिकाले सबै कर चुक्ता गर्न फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिए थियाे । पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले २४ घन्टे अल्टिमेटम दिएको थियो।
समाज कल्याण परिषदले फनपार्कलाई ६० रोपनी जग्गा भाडामा दिएको छ। जसले गर्दा परिषदले भाडाको दस प्रतिशत कर महानगरलाई बुझाउनुपर्ने हुन्छ। फनपार्कले मनोरन्जन कर बुझाएपनि अन्य करहरु तिर्न बाँकी नै रहेकाे विभागका प्रमुख अधिकारीले जानकारी दिएकाछन्।
-
नागरिकता विधेयक संविधान अनुसार रहेकाे- वर्षमान पुन
भाद्र १६ बिहिबार, काठमाण्डाै। नेकपा का उपमहासचिव वर्षमान पुनले नागरिकता विधेयक संविधान अनुसार नै रहेकाे छ बताएका छन् । उनका अनुसार विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ। पुनले शीतल निवासमा बुधबार राष्ट्रपतिसँग भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरूले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको बताए। उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषलाई बराबरी गर्न संविधान संशोधन गर्नुपर्ने बताए। संविधानमै नेपाली पुरूषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भए पनि महिलाले विदेशी पुरूष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा मौन रहेको उल्लेख गरे। हाल बाहिर सर्वत्र भएकाे सार्वजनिक बहस र राष्ट्रपतिले उठाएको सवाल सही भए पनि संविधान संशोधन नगरि संभव नभएकाे बताए।
पुनका अनुसार हाल वैवाहिक अंगीकृतको विषयमा अनावश्यक विवाद खडा गरिएको छ। २००९ सालदेखि हालसम्म वैवाहिक अंगीकृत नागरिकताबारे एउटै व्यवस्था रहेको छ। जब सरकारले नागरिकता विधेयक संघीय संसदमा प्रस्तुत गर्ने क्रममै राष्ट्रिय सहमति कायम गरेर अर्को विधेयक ल्याउने प्रतिबद्धता गरेकाले त्यसमा शंका गरिरहनुनपर्ने अवस्था रहेको बताए।
-
पशुपतिमा लाखाैंकाे संख्यामा दर्शनार्थी उपस्थित
भाद्र १४ मंगलबार, काठमाण्डाै । हिन्दु नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखाैं दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिए अनुसार आज बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेकाेछ । आज राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर लगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । त्यसै समयदेखी याे पूजा व्रत बस्ने चलन चल्दै आएकाे छ । सोमबार राति दर खाएपछि औपचारिक रुपमा सुरु भएकाे तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । हिन्दु नेपाली नारीले यो पर्व विशेष महत्वका मनाउँछन् ।
-
चाडबाड केन्द्रित सुरक्षा योजना लागू गरिने- ए.आई.जि.पि सहकुल बहादुर थापा
भाद्र १४ मंगलबार, काठमाण्डाै । ए.आई.जी.पी सहकुल बहादुर थापाले आफ्ना मातहतका प्रहरी अधिकारीहरूलाई अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखेर चाडबाड केन्द्रित सुरक्षा योजना बनाई लागू गर्न निर्देशन दिनुभएको छ । उनले आज प्रहरी प्रधान कार्यालयबाट प्रदेश प्रहरी प्रमुख, ब्युरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल रूपमा निर्देशन दिनुभएको छ । साथै हुन लागेकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न गर्नका लागि आवश्यक तयारीमा जुट्न पनि निर्देशन दिनुभयो ।
आज भएकाे कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरुणकुमार बिसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवाली, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण राणा लगायतका प्रहरी अधिकृतहरूको उपस्थिति रहेकाे थियो ।
-
फास्ट ट्र्याकमा विधेयक पारित गरेर संसदमा लैजाने – सांसद सुरेश आले
भाद्र १२ आइतबार, काठमाण्डाै । माओवादी केन्द्रका सांसद सुरेश आलेले विधेयकलाई फास्ट ट्र्याकमा पारित गरेर संसदमा लैजाने बताए। राष्ट्रिय सभाले नागरिकता विधेयकलाई थप छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकाे थियाे। सांसद सुरेश आलेले ‘हामीले फास्ट ट्र्याकबाट विधेयक पारित गर्छौं। राष्ट्रपतिले अलिकिति विधि प्रक्रिया मिलाउने भनेर फिर्ता पठाउनु भयाे ,तर समितिले त्यही विधेयक पारित गर्ने हो, त्यसमा परिवर्तन हुँदैन।’ समितिमा १५ सांसद रहेकाे छ, जसमा गठबन्धनमा रहेका दलहरूका १० सांसद , एमालेबाट ४ र १ जना स्वतन्त्रका छन्। समितिको बैठक भोलि बस्दैछ।
कांग्रेसबाट जितेन्द्र नारायण देव, नारायण दत्त मिश्र र प्रकाश पन्थ, माओवादी केन्द्रबाट गंगाकुमारी बेल्वासे, तारामान स्वार, राधेश्याम पासवान र सुरेशकुमार आलेमगर, एकीकृत समाजवादीबाट उदयबहादुर बोहरा र बेदुराम भुसाल र जनता समाजवादीबाट प्रमिला कुमारी रहेका छन्। एमालेका तर्फबाट देवेन्द्र दाहाल, भगवती न्यौपाने, भैरव सुन्दर श्रेष्ठ र विमला राई पौडेल छन्। साथै स्वतन्त्रबाट खिमलाल देवकोटा रहेका छन् । यसरि १५ सदस्य रहेकाे समितिको सभापति जेष्ठ सदस्य नारायण दत्त मिश्र रहेका छन्।
-
हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ
भाद्र २ बिहिबार, काठमाण्डाै । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगद सहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाण्डाै तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा महागढीमाई नगरपालिका-७ बेनौली घर भई काठमाण्डाै-१३ कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार शाह र धनुषा जनकपुर उपमहानगरपालिका-३ घर भई काठमाण्डाैकाे टेकु बस्ने ३३ वर्षीय अंकित गोयनका रहेको छ । विषेश सुत्रकाे सूचनाको आधारमा बुधबार खटिएको टोलीले माधव श्रेष्ठ लगायतमाथि निगरानी गरेको थियो।
श्रेष्ठ घण्टाघरमा संजोग टुर्स एन्ड ट्राभल्स प्रालि सञ्चालन गर्दै आएका थिए। त्यहाँबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको थियाे । सोही बेला श्रेष्ठको कार्यालयमा सुनिलकुमार शाह हुन्डीको भुक्तानी गर्न आइपुगेका थिए। उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनी अंकित गोयनकाको लागि काम गर्ने खुल्यो। त्यसपछि कलंकीस्थित अंकित गोयनकाले सन्चालन गरेको आनी इन्टरनेशनल नामक कार्यालयमा प्रहरीको टोली पुगि कार्यालयमा तलासी लिँदा त्यहाँबाट थप ९ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक कोइरालाका अनुसार आराेपीहरु माथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको छ।
-
कानुनमन्त्री बन्दीले अनसनरत निहारिका राजपुतसँग भेटवार्ता
भाद्र २ बिहिबार, काठमाण्डाै । कानुनमन्त्री गोविन्द बन्दीले महाराजगन्ज स्थित प्रहरी अस्पतालमा अनसनरत निहारिका राजपुतसँग भेटवार्ता गरेका छन्। मन्त्री बन्दीले अस्पताल पुगेर राजपुतलाई अनसन तोड्न आग्रह गरेका थिए। तर राजपुतले अनसन नताेड्नुका साथै उनका पहिलेका माग पूरा गर्नुपर्ने र त्यसबाहेक थप माग समेत राखेकी छन्। उनले आफ्नाे मागमा उनले गरेका मागहरू पूरा भएपछि मात्रै अनसन तोड्ने , डिएनए टेष्ट गराइदिनु पर्ने र अपराधीको डिएनए टेष्ट गराउनको लागि रगत तान्दा उनकै अगाडि तान्नुपर्ने भनेर थप माग गरेकी छिन। भोलि फेरि अरू कसैको पनि रगत राखिदिन सक्छन् भनेर उनले त्यस्तो माग गरेकाे बताए । यस्तै, उनले आफ्नो लागि मात्रै नभएर हरेक कुमारी आमाबाट जन्मिएका बालबच्चाको भविष्य, हक अधिकारका साथ बाँच्न पाओस् भनेर सुनिश्चित गर्नुपर्ने माग गरेकी छन्। डिएनए टेष्ट गर्दा मिलेको खण्डमा आरोपित भनिएका शिवराज श्रेष्ठले सजाय पाउनुपर्ने माग राखेकी छन्। यदि मिलेन भने आफू सजायको भागिदार हुने उनले बताइन्। डिएनए टेष्ट गरेर मिलेपछि कुनै पनि बलात्कारीले पाउने सजाय पाउनुपर्छ। प्रहरीले घटनामा अनुसन्धान गर्न भन्दै आरोपित शिवराज श्रेष्ठलाई बुधबार धनुषाबाट पक्राउ गरेकोछ।
-
बन्दिपुरमा ऐतिहासिक बाघजात्रा
भाद्र १ बुधबार, काठमाण्डाै । बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मंगलबार सकिएको छ। बन्दीपुरका नेवार समुदायका व्यक्तिले तीन वर्षपछि बाघजात्रा मनाएका हुन्। कोभिड–१९ को जोखिमका कारण यसअगाडि बाघजात्रा निकालिएको थिएन। खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो। बन्दीपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले भने, ‘जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्य देखाइएको थियो। बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन्। बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ। भक्तपुरबाट बन्दीपुरमा छिरेका नेवार समुदायले यहाँको जात्रा र संस्कृति संरक्षण गर्दै आएको बताइन्छ। आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइसराइँ गरी आएका जनाइएको छ। भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाएकाे थियाे। भक्तपुरबाट उनीहरू भक्तपुरे नेवारी संस्कृतिलाई पनि भित्राएको थियो। यसरी व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण बन्दीपुरमा आजसम्म पनि विभिन्न जात्राको परम्परा रहँदै आएको छ।
-
अब मोबाइल एपबाटै कर्जा लिन सकिने
भाद्र १ बुधबार, काठमाण्डाै । सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेको योगदानकर्ताले मोबाइल एपबाटै विभिन्न कर्जा सुविधा लिन पाउने भएका छन् । कोषले आजदेखि मोबाइल एप सन्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवरले योगदानकर्ता विशेष सापटी र मोबाइल एपको शुभारम्भ गर्नुभयो । यस एपको प्रयोग गरेर योगदानकर्ताले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा लिन सक्ने भएकाेछ ।
कोषका सूचना अधिकारी डा रोशन कोजुले यस एप मार्फत कोषमा योगदान गरेको रकम र विभिन्न सापटी तथा कर्जा लिएको विवरण लिन सकिने छ । कोषमा जम्मा भएको ८० प्रतिशत रकम (विशेष सापटी) झिक्नका लागि आवेदन दिने, सूचीकृत अस्पतालको सूचीलगायत विभिन्न सुविधाका बारेमा जानकारी लिन सकिने जानकारी दिनुभयो । विसं २०७६ साउनसम्म नियमित योगदान गरेका योगदानकर्ताले कोषबाट सापटी तथा कर्जा लिन पाउने भएका छन् । कोषमा योगदान सङ्कलन गर्न सुरु थालेयता करिब सात सय योगदानकर्ता त्यस्तो सुविधाका लागि योग्य भएका छन् । उनीहरूले आवश्यक परेको अवस्थामा सापटी तथा कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
कोषका अध्यक्ष एवं श्रम सचिव अर्यालले यस कोषमा जम्मा भएको रकमको सदुपयोग गरी योगदानकर्तालाई विभिन्न सुविधा दिन एप सुरु भएको बताउनुभयो । यसरी योगदानकर्ताकाे रकमको परिचालन गर्न सकिएन भन्ने गुनासोको अन्त्य भएको छ, साथै योे पहिलो योजना हो, अब योगदानकर्तालाई उद्यमशील बनाउन सहुलियत कर्जा प्रवाह गर्ने योजना रहेकाे बताउनु भयाे ।
-
फिर्ता गरेकाे नागरिकता विधेयक भोलि नै पारितकाे तयारी
भाद्र १ बुधबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकाे नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले जारी गरेको भोलिको कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख रहेकाेछ ।

-
काठमाण्डौमा फोहोरले महामारी फैलिने- गगन थापा
भाद्र १ बुधबार, काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिने बताएका छन्। महामन्त्री थापाले बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै सबैजना मिलेर समस्या समाधान निकाल्न आह्वान गरेका छन्। उनका अनुसार काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ, केही दिन यस्तै रहे महामारी फैलन सक्ने छ। अतः सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ, त्यसैले यस पटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ। विश्वास गरौं।
कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरका विषय छन्। सङ्घीय सरकारको क्षेत्राधिकार भित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ। यो सम्झौता पूरा गर्ने जिम्मा सरकारको हो र सरकारलाई दबाब दिने जिम्मेवारी हाम्रो हो। प्रधानमन्त्रीलाई भेटेर भनेका छौं, साथै सहरी विकास मन्त्री उपत्यका बाहिर रहनुभएकाले उहाँ आउनासाथ एकछिन नछोडी काम गर्छौं। केही समय लाग्ला तर सङ्घीय सरकारले तपाईंहरूसँग गरेको सम्झौता पूरा गराएर छाड्नेछौं, प्रतिबद्धता पूरा गर्नेछौं, गराउनेछौं। हामी यस पटक तपाईंलाई निराश बनाउने छैनौं।
नेपाली कांग्रेस पार्टीको तर्फबाट जिम्मेवार पदाधिकारीको नाताले पुनः खुल्ला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस्। अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस्।सम्झौता कार्यान्वयनमा कहाँ कहाँ समस्या भए, कहाँ कमजोरी भए समीक्षा गरौं, सँगै मिलेर कार्यान्वयनका लागि दबाब दिऔं, सबैले सहयोग गरौं, समाधान निकालौं।
-
जिप दुर्घटनामा पाँच जनाको मृत्यु
भाद्र १ बुधबार, काठमाण्डाै । दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार गोकुलेश्वरबाट सदमुकामतर्फ आइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार अपरान्ह सवा ४ बजेतितर शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो।दुर्घटनामा एक महिला र चार पुरूषको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। घुम्तीमा दुर्घटना भएको जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको छ। घाइतेहरूको गोकुलेश्वरमा रहेको अस्पतालमा उपचार भइरहेको छ। घुम्तीमा केही समस्या भएर दुर्घटना भएको , अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएका छन्।
-
सशस्त्र प्रहरी बलद्वारा तिन भक्तजनकाे उद्धार
श्रावण २८ शनिबार, काठमाण्डाै । गोसाइकुण्ड तिर्थबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । शुक्रबार गोसाइकुण्ड तिर्थबाट घर फर्कने क्रममा गोसाइकुण्ड गाँउपालिका-५ स्थित स्थानमा लेक लागेर तीन जना बेहोस भएका थिए । उनीहरूलाई सशस्त्र प्रहरीले पिठ्यूमा बोकेर ल्याइ सकुशल उद्धार गरेको थियाे । सशस्त्र प्रहरी बलले बताए अनुसार उनीहरूलाई धुन्चे अस्पताल लैजाने क्रममा बाटोमै स्वास्थ्यमा सुधार आएपछि उनीहरूकाे आफन्तहरुलाइ जिम्मा लगाएको थियाे । बेहोस हुनेहरूमा नुवाकोटको ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, विदुर नगरपालिका-११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जिव दुवाडी थिए ।
-
मिटरब्याजी समस्या पहिचान र नियन्त्रणकाे लागि कार्यदल गठन
श्रावण २७ शुक्रबार, काठमाण्डाै । मिटरब्याजी समस्या पहिचान र अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, साथै यस्तो समस्या भविष्यमा आउन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको खाणको सचिवालयले जानकारी दिएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्टा छन्। कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत गई समस्याका कारकहरू तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनिकरण गर्न अबलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस सहितको एक महिनाभित्र प्रतिवेदन पेश गर्ने लगायतका आदेश दिइएको छ।
-
२४ घण्टामा ७८१ जना कोरोना संक्रमित,२ जनाकाे मृत्यु
श्रावण २७ शुक्रबार, काठमाण्डाै । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि र दुईजनाको मृत्यु भएको छ । चार हजार ७१२ वटा नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ । आज कोरोना संक्रमणबाट ५११ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७७५ पुगेको छ ।
-
सभामुख सापकोटा र राजदूत यान्छीबीच भेट वार्ता
श्रावण २७ शुक्रबार, काठमाण्डाै । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत होउ यान्छी बीच लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार भेट वार्ता भएको छ । सभामुख सापकोटाले चिनियाँ राजदूत यान्छीसँगको भेटमा नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन् । उनले भेटमा नेपाली भूमि छिमेकी राष्ट्रविरूद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सचेत रहेको बताएका छन् । साथै चिनियाँ राजदूत यान्छीले पनि नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्ने, नेपालको आर्थिक समृद्धि र विकासमा चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
-
नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र
श्रावण २६ बिहिबार, काठमाण्डाै । नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन्। नेपाली कांग्रेसकाे पार्टीद्वारा बिहीबार विज्ञप्ति जारी गरी कांग्रेस सभापति शेरबहादुर देउवाले सिरहाकी उषाकुमारीलाई महिला संघको अध्यक्ष नियुक्त गरेका हुन् । उषाकुमारी यसअघि संघकी सचिव थिइन् । विज्ञप्तिमा पार्टी विधानको म्याद समाप्त भई स्वतः विघटन भएकाे र संघको अध्यक्ष पदमा उषाकुमारीलाई नियुक्त गरिएको बताएकाेछ ।
-
विकास बोर्डका अध्यक्षमा भुवन केसीको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट
श्रावण २६ बिहिबार, काठमाणडाै । अभिनेता भुवन केसीको चलचित्र विकास बोर्डकाे अध्यक्ष पदमा नियुक्ति भए सँगै उनि विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। उनको शैक्षिक योग्यता बोर्डको अध्यक्ष हुनका लागि नपुग्ने भन्दै नरेश पौडेल लगायतले सर्वोच्च अदालतमा रिट दिएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उक्त रिटको पेसी साउन ३० गतेलाई तोकिएको छ । मन्त्रिपरिषदले केसीलाई साउन ९ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । साथै केसीलाई दुई वर्षअघि अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाहले उनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति विकास बोर्डको अध्यक्ष बनाएको भन्दै उनको नियुक्तिमा विवाद भएको थियो । अभिनेता केसीले पनि आफ्नो मानहानी भएको भन्दै अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाह विरुद जिल्ला अदालतमा मुद्दा दिएका थिए ।
-
द्वारका धाम निर्माणको शिलान्यास, पाँच वर्ष भित्र सम्पन्न गरिने
श्रावण २५ बुधबार, काठमाण्डाै । भक्तपुरको सूर्यविनायक नगरपालिकाकाे गुण्डु स्थित पाथीभरा मन्दिर परिसरमा द्वारका धाम निर्माणको शुभारम्भ भएको छ । गौ संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा आज दिउँसो १ बजेर ३२ मिनेटको साइतमा द्वारका धाम निर्माणका लागि शिलान्यास भएको हो । भागवत रसिक गुरु शास्त्रीका अनुसार “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथीभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्वारका धाम निर्माणमा हामी जुटेका छौँ, त्यसको आज शिलान्यास भएको छ, करिब आठ रोपनी क्षेत्रफलमा रु २० करोडको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्वारकाधामको गुरुयोजना निर्माण गरि कार्य अगाडि बढाएका हौँ ।” द्वारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने भन्दै उहाँले भारतको द्वारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य भइसकेको बताउनुभयो । शास्त्रीले सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकार तथा अन्य दाताबाट सङ्कलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको उल्लेख गर्दै द्वारका धामसँगै पाथीभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषि मूर्ति स्थापना गरिने कार्यक्रममा बताउनुभयो । कार्यक्रममा १००८ स्वामी पद्मधर आचार्य, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायतले द्वारकाधामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनुभयो ।
-
तथ्याङ्क विधेयक र शपथ सम्बन्धी विधेयक बहुमतले पारित
श्रावण २५ बुधबार, काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकले तथ्याङ्क विधेयक, २०७८ र शपथ सम्बन्धी विधेयक, २०७९ पारित गरेको छ । यस्तै बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सार्वजनिक विद्यालयको शैक्षिक स्तर खस्कँदै गएको, बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सरकारले पर्याप्त ध्यान नपुगेको, नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई भएको तथा महत्त्वपूर्ण विधेयकहरू संसदमा अड्किरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । श्रावण २९ गते आइतबार प्रतिनिधि सभाको अर्को बैठक बिहान ११ बजे बस्ने भएकाेछ ।
-
फिफा विश्वकप २०२२ एक दिन अगाडि सुरु हुने
श्रावण २५ बुधबार, काठमाण्डाै । फिफा विश्वकप २०२२ ताेकिएकाे मिति भन्दा एक दिन अगाडि सुरु हुने भएको छ । नोभेम्बर २० तारिख आइतबार आयोजक राष्ट्र कतार र इक्वेडर बिच पहिलाे खेल खेल्दै विश्वकपको सुरुआत हुने बताइएको छ । पुर्व तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल सोमबार बिहान १०ः०० बजे नेदरल्याण्ड्स र सेनेगलबीच हुने थियो । तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रशासनिक शाखाले कतारको खेल सार्ने प्रस्ताव पेस गरेको छ । दक्षिण अमेरिकी कन्फेडेरेसनको अनुरोधमा फिफाले कतार र प्रतिद्वन्द्वी इक्वेडरसँग छलफल गरेको थियो । जसले गर्दा परम्परागत रूपमा उद्घाटन खेलमा आयोजक राष्ट्र तथा साबिक विजेताको खेल राख्ने प्रचलनसँग पनि मेल खानेछ ।यदि यो अपेक्षित रूपमा उक्त प्रस्ताव स्वीकृत भयो भने खेलाडी रिलिजको मिति परिवर्तन हुँदैन ।तर, नेदरल्यान्ड्स र सेनेगलबीच सोमबार हुने खेलको समय भने परिवर्तन हुनेछ । सोमबार चार खेलको सट्टा केवल तीन खेल हुनेछन् । नोभेम्बर २१ मा दिउँसो १ बजे हुने भनिएको इरान र इङ्ल्यान्डबीचको खेल भने प्रभावित हुनेछैन ।
-
उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई : केपी शर्मा ओली
श्रावण २५ बुधबार, काठमाण्डाै । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्राे देश उपचार अस्पतालको हव बनाउनुपर्ने बताएका छन् । उनले बुधबार काठमाडौँमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ। यसलाई त मेडिकल हव बनाउनुपर्ने हो। मेडिकल एजुकेशन हव बनाउनुपर्ने हो। उपचार अस्पतालको हव बनाउनुपर्ने हो–यो देशलाई। यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ। यी आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्दै हामी अघि बढनु पर्दछ। कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ। यस क्षेत्रमा संलग्न हुने जनशक्ति घटाउनुपर्दछ। जसले यसको उत्पादन लागत घटाउँछ। अन्नवालीको पनि नश्ल सुधार गराैं। उत्पादन र उत्पादकत्व बढाऔं। र, देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔं ।’ यसरी उनले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने साथै नेपालमा यसका लागि कृषि बजारको अभाव नरहेको बताए ।
-
विधुत प्राधिकरणको वार्षिक नाफा बढ्याे
श्रावण २५ बुधबार, काठमाण्डाै । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा वृद्धि भएको छ । प्राधिकरणकाे आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा थियाे । प्राधिकरणकाे आर्थिक २०७८/७९ मा नाफालाई बढेर १६ अर्ब ९ करोड रूपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यसरी सार्वजनिक संस्थाहरूमध्ये बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।
निर्देशक घिसिङका अनुसार यसपालि ‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रूपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’ । उनका अनुसार चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुनेछ । आव २०७८/७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ। विद्युत प्रयोग गर्ने ग्राहकको संख्या सामुदायिक सहित ५३ लाख पुगेको छ।
-
निकोन एयरलाइन्स कालोसूचीमा
श्रावण २४ मंगलबार, काठमाण्डाै । निकोन एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले कालोसूचीमा राखेको छ। एयरलाइन्सले करिब पाँच करोड रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले कालो सूचीमा राखेको हो। प्राधिकरणका अनुसार २०४८ सालबाट निकोन एयरलाइन्सले आन्तरिक उडान सेवा थालेको थियो। निकोनले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम चार करोड ७२ लाख २५ हजार ३४३ रुपैयाँ छ। २०६० सालबाट यो एयरलाइन्स सञ्चालनमा छैन। एयरलाइन्सले सेवा बन्द गरेदेखि नै सञ्चालकहरू सम्पर्कमा आएका थिएनन् । निकोन एयरलाइन्सको पछिल्लो अवस्थाको अद्यावधिक विवरण कतै पनि नपाइएपछि यस कम्पनी सम्बन्धी कुनै पनि विवरण भए उपलब्ध गराइदिन प्राधिकरणले राष्ट्र बैंक र मालपोतमा पत्राचार समेत गरेको थियो।
साथै आगामी दिनमा कम्पनी र यसका सञ्चालकहरूलाई हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धीत कुनै किसिमका काम कारवाही तथा व्यापार व्यवसायमा नै प्रवेश हुन नपाउने गरी कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ।
-
कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट ; मेयर बालेन शाह
श्रावण २४ मंगलबार, काठमाण्डाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस राख्दै कानुन सबैका लागि बराबर हुनेमा महानगर प्रष्ट भएको बताएका छन्। मेयर बालेन शाहले कानुनले सडक र महल नहेर्ने , सडकमा होस् वा महलमा सबैले कानुनको पालना बराबर किसिमले हुनुपर्ने बताएका छन्।
उनले स्टाटसमा लेखेका छन् ‘नर्भिक अस्पताललाई कानुनको पालना गर्नका लागि समय दिइएको थियो । दिइएको समयमा सुधार नभएपछि कानुनको कार्यान्वयन गर्नका लागि अनधिकृत रूपमा बनाइएका संरचना भत्काउनै पर्ने थियो । तर त्यसले अस्पतालमा भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरूलाई समस्या पर्ने भएकाले मानवीय संवेदनाका आधारमा थप समय दिइएको हो ।’ बालेनले इन्जिनियरिङ अध्ययनबाट समयसीमा तोकिने बताएका छन्। अन्तिममा कानुनको पालना गर्दै त्यहाँ भएका अनधिकृत संरचनाहरू हटाइदिन आग्रह गरेका छन्। साथै कानुनको पालना नगरे महानगर पनि पछि नहट्ने बताए ।
-
नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आशंका
श्रावण २४ मंगलबार,काठमाण्डाै । संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनले आशंका व्यक्त गरेका छन्। उपराष्ट्रपति पुनका अनुसार राष्ट्रपतिले नागरिकता ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउन सक्ने छ । यति दिन भइसक्दा पनि उहाँले प्रमाणीकरण नगर्नुको अर्थ फिर्ता पठाउन लाग्नुभएको देखिन्छ । तर राष्ट्रपतिले फिर्ता पठाए पनि सभामुख, प्रधानमन्त्री, गृहमन्त्रीले छिट्टै संशोधन गरेर फेरि राष्ट्रपति कहाँ पुर्याउँनेछ। त्यसो भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ । उपराष्ट्रपतिले नागरिकताविहीन संघर्ष समितिका टोलीसँगको भेटमा उक्त विधेयक फिर्ता गर्न सक्ने आशंका व्यक्त गरेका हुन्।
संसदको दुबै सदनबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक गत साउन १५ गतेनै सभामुख अग्नि सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। तर एक साता बिती सक्दा पनि राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएकाे छैन । उक्त नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कानुन बन्नेछ।
-
पूर्वकप्तान ज्ञानेन्द्र मल्लकाे कमब्याक
श्रावण २४ मंगलबार, काठमाण्डाै । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टिममा कमब्याक गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार केन्याविरूद्ध हुने सिरिजका लागि मल्ललाई टिममा समेटेको हो। आउँदो अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म नेपाली टोलीले केन्यासँग सिरिज खेल्नेछ। नेपालले केन्यासँग पाँच वटा टी-ट्वान्टी र तीन वटा एकदिवसीय खेल खेल्नेछ। पूर्वकप्तान मल्लले सन् २०२२ मा मार्चमा भएको युएई विरूद्धको सिरिजपछि कुनै पनि खेल खेलेका छैनन्। यस पटककाे नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वसिर अहमद, अर्जुन साउँद, साहब आलम, किशोर महतो र विवेक यादवले स्थान बनाएका छन्।
-
चिया व्यवसायीका साथ झलनाथ खनाल प्रधानमन्त्री देउवालाई भेट्ने
श्रावण २४ मंगलबार, काठमाण्डाै । उत्पादीत चिया बिक्रीमा समस्या देखिएपछि चिया व्यवसायीका साथ पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार इलाममा उत्पादीत चिया बिक्रीमा समस्या आएकाले चिया व्यवसायी सहित खनालले प्रधानमन्त्री देउवालाई भेटी चिया बिक्रीमा देखिएको समस्या समाधान गर्न आग्रह गर्ने बताएका छन् । साथै हाल चिया बिक्रीमा समस्या आएको छ, भारतले पनि ४० प्रतिशत कर लगाएको छ। त्यसैले यसका लागि कुटनीतिक पहल गर्न नेता खनाल सहित प्रतिनिधिमण्डलले माग गर्ने तयारी गरेको छ। पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवासँग समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने तयारी गरेका छन् ।
-
पूर्वबाट मौसमको नयाँ प्रणाली प्रवेश अब भारी बर्षा हुने
श्रावण २३ साेमबार, काठमाण्डाै । मौसमविद् सञ्जय श्रेष्ठका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको छ। पूर्वबाट मौसको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना रहेकाेछ, आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देखी सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने देखिएकाेछ । मौसमविद् श्रेष्ठकाले भोलि मंगलबार लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए।