मंसिर २६ मंगलबार, काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य आवश्यक भएको बताउनुभयाे । काठमाण्डाै स्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैङ्क, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्य बढाउनका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गर्नुभयाे ।
मन्त्री शर्माका अनुसार दुई राष्ट्र बिच प्रविधिको विकास र प्रयोगमा सहकार्य गरि, यसबाट समुन्नत राष्ट्र बनाउनु पर्छ । सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गर्नुभयो ।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विकासोन्मुख मुलुकमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै प्रविधिको प्रयोगका सम्बन्धमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताउनुभयो ।
भारतको डिजिटल सार्वजनिक पूर्वाधार केन्द्रका सह अध्यक्ष प्रमोद बर्माले डिजिटल सार्वजनिक पूर्वाधारको विकास र प्रयोगमा भारत निकै अगाडि रहेको जानकारी दिँदै प्रविधिको सदुपयोगबाट समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेका अनुसार नेपालबाट विश्व बजारमा सूचना प्रविधिको बिक्री हुन थाल्नु उत्साहप्रद रहेको बताउनुभयाे । साथै हाल युवा पुस्ता विदेशिने क्रम जारी रहेको अवस्थामा सूचना प्रविधिको क्षेत्रकाे बिकाशले स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउने सम्भावना बढेको पनि बताउनुभयो ।

Leave a comment