वर्षासँगै घट्यो प्रदूषण,सुधारिँदै काठमाण्डौको आकाश

बैशाख २३ बुधबार‚ काठमाण्डौ। काठमाण्डौमा वर्षासँगै प्रदूषण घटेकाे छ। केही साताअघि धुलो र धुवाँले ढाकिएको काठमाण्डौकाे आकाश अहिले क्रमशः सफा बन्दै गएको छ। जसले सर्वसाधारणलाई केही राहत दिएको छ।

हाल उपत्यकाको वायु गुणस्तर ‘राम्रो’ श्रेणीमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआइ) ४७ मा झरेको छ ।यसअघि वैशाख १० गते एक्युआइ २४७ पुग्दा काठमाण्डौ विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये अग्रस्थानमा पुगेको थियो। त्यतिबेला आँखा पोल्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या सर्वत्र देखिएका थिए। अहिले भने स्थिति उल्लेखनीय रूपमा सुधारिएको छ र काठमाण्डौ प्रदूषित सहरको सूचीमा ६६औँ स्थानमा झरेको छ।

विज्ञहरूका अनुसार यो सुधारको मुख्य कारण मौसममा आएको परिवर्तन हो। लामो समयसम्म वर्षा नहुँदा धुलो, सवारी साधनको धुवाँ र वन डढेलोबाट निस्किएको धुवाँ उपत्यकामा थुनिएको थियो। तर पछिल्लो वर्षासँगै ती प्रदूषक कणहरू पखालिन थालेका छन् भने हावाको बहावले पनि वातावरण सफा बनाउन सहयोग पुर्‍याएको छ।

यद्यपि, यो सुधार स्थायी भने होइन। सुक्खा मौसम फर्किएसँगै पुनः प्रदूषण बढ्न सक्ने खतरा कायमै छ। छिमेकी देशबाट आउने प्रदूषित हावा, बढ्दो सवारी चाप र अव्यवस्थित शहरीकरणले समस्या अझ जटिल बनाउन सक्छ।

विशेषज्ञहरू दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्नेमा जोड दिन्छन्। हरित पूर्वाधार विकास, सार्वजनिक यातायात सुधार, उद्योग तथा निर्माण क्षेत्रमा कडाइ र वन डढेलो नियन्त्रणजस्ता उपाय बिना काठमाण्डौको वायु गुणस्तर दिगो रूपमा सुधार गर्न कठिन हुने उनीहरूको भनाइ छ।

अहिलेको सफा आकाशले राहत दिएको भए पनि यसलाई कायम राख्न सामूहिक प्रयास अपरिहार्य देखिन्छ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.