मंसिर २६ मंगलबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभयाे । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रममा सम्बोधन गर्दै उहाँले बताउनुभयो, “बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्त्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्त्व अझ बढ्न गएको छ ।”
उहाँले लुम्बिनी जस्तो पावन भूमिबाट विश्व समुदायलाई विशेष रूपले शान्तिका निम्ति अपिल गर्नुभएकाे छ । रामग्रामको विकासका निम्ति भएका कार्यक्रम मार्फत हुने प्रतिविद्धताले उक्त क्षेत्रको महत्त्व झन् बढेको पनि बताउनु भयाे ।
प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको बताउनुभयाे । संयुक्त राष्ट्र सङ्घका महासचिवको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिबद्धता प्रस्तुत भएकाे बताउनुभयाे ।
प्रधानमन्त्री दाहालले देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएकाे पनि बताउनुभयो । उहाँले कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिबद्धता व्यक्त भएको उल्लेख गर्दै उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको बताउनुभयो ।

Leave a comment