Author: prayatnayekkoshis

  • नेपथ्यकाे लाइभ कन्सर्ट अब १० शहरमा

    नेपथ्यकाे लाइभ कन्सर्ट अब १० शहरमा

    कार्तिक ५ शनिबार, काठमाण्डाै । मङ्सिरमा नेपथ्य ब्यान्डकाे लाइभ कन्सर्ट अब १० शहरमा हुने भएकाे छ । विगत तीन दशक देखि यस ब्यान्डले सङ्गीतको माध्यमबाट सकारात्मक परिवर्तनकालागि सक्रिय भइ कार्य गर्दै आएकाे छ । यसपटक पनि नेपथ्य ब्यान्ड र मानव सेवा आश्रम बिच सहकार्यमा कार्यक्रम हुने भएकाे हाे । सडकमा अलपत्र परेर बेसहारा जिबन बिताइ रहेका नागरिकको उद्धार गर्दै आइरहेको मानव सेवा आश्रमकाे निर्माणाधीन भवन सम्पन्न गर्न र बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गरिने भएको हाे । आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उक्त लाइभ कन्सर्ट विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाण्डाैको भृकुटीमण्डपमा आयोजना गरिने भएकाे छ। हाल उक्त कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको पनि बताउनु भयाे ।

    अध्यक्ष अधिकारीले विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिइ पहल भइरहेको बताउनु भयाे । हाल आश्रमको संरक्षणमा एक हजार पाँच सय बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त व्यक्तिहरुले स‌ंरक्षण पाइरहेका छन् । यस साङ्गीतिक यात्रा कार्यक्रमले संस्था र यसमा आश्रित रहेकाहरुकाे लागि राहत मिल्ने आशा लिइएकाे छ ।आउदाे मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट यस साङ्गीतिक यात्रा कार्यक्रम सुरु हुने भएकाे छ । त्यस्तै मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल मैदान, २५ गते चितवनको क्याम्पाचौर, २९ गते नेपालगञ्ज रङ्गशाला, आगामी पुस ३ गते धनगढी रङ्गशाला, पुस ६ गते सुर्खेतको खुलामञ्च, पुस ९ गते बुटवलको कालिका मानव ज्ञान मावि, १२ गते पोखरा रङ्गशालामा तथा कन्सर्टको अन्तिम कार्यक्रम पुस १६ गते काठमाण्डाैको भृकुटीमण्डपमा हुने भनिएकाे छ ।

  • निर्वाचन आयोगको पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्ति विषयमा स्पष्टीकरण माग

    कार्तिक ४ शुक्रबार, काठमाण्डाै ।निर्वाचन आयोगले विभिन्न दलका नेता, उम्मेदवारले आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

    आयोगले ती दलका नेता र उम्मेदवारले दिएको अभिव्यक्ति विषयमा अलग अलग रुपमा पत्र पठाइ स्पष्टीकरण माग गरेको हो । आयोगले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लक्षीराम आचार्य, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं कैलालीको प्रदेशसभा क्षेत्र नं ४ (क) का उम्मेदवार दीर्घबहादुर सोडारी, नेपाली कांग्रेस, सुदूरपश्चिम प्रदेशका सभापति एवं कैलाली क्षेत्र नं ४ का प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको हो । उहाँहरूले कैलालीको क्षेत्र नं ४ (क) को चुनावी सभालाई सम्बोधन गर्दै आचारसंहिता विपरीत कार्य गरेको पाइएको छ ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ढ) मा “निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम बनेको निर्वाचन आचारसंहिता २०७९ असोज १२ गतेदेखि लागु गरिसकेको स्पष्ट गरिएको छ ।

    “तपाईँहरूले कैलालीको प्रदेशसभा क्षेत्र नं ४ (क) मा बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारी उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईँले उक्त अभिव्यक्ति दिनुभएको होइन भन्ने आधार र प्रमाण के छ ?” उहाँहरूलाई सोधिएको पत्रमा भनिएको छ, “तपाईँले सार्वजनिक मञ्चमा दिनुभएको लाञ्छनापूर्ण अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ढ) को उल्लङ्घन हुन गएकाले तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?”

  • लोकतान्त्रिक गणगतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वका सवाल संविधानको पानामा मात्रै सीमित-बुद्धिजीवि वीरबहादुर राजवंशी

    कार्तिक २ बुधबार, काठमाण्डाै । थारु बुद्धिजीवि वीरबहादुर राजवंशीले लोकतान्त्रिक गणगतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वका सवाल संविधानको पानामा मात्रै सीमित रहेकाे बताउनु भएकाे छ । कञ्चनपुर थारु समुदायले आयाेजना गरेकाे कार्यक्रममा उनले थारु समुदायलाई अधिकार सम्पन्न बनाउनु पर्ने कुरामा जाेड दिनुभयाे । आउदाे चुनावमा पनि थारु समुदायकाे माग ‍पुरा गर्ने उम्मेदवारलाई प्राथमिकता दिने बताइएकाे छ । घोषणापत्र जारि गर्दै थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र तिनका उम्मेदवारहरु रोजाइमा पर्ने बताएका छन् । थारु बुद्धिजीवि राजवंशीका अनुसार थारु समुदायलाई प्रतिनिधिसभामा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारका रुपमा ठूला राजनीतिक दलहरुले सहभागी नगराएर थारुका मुद्दा ओझेलमा पार्न खोजिएको छ । उहाँका अनुसार प्रत्यक्षतर्फको निर्वाचनमा थारुलाई उम्मेदवार नबनाउने बनाई हाले पनि सहयोग नगर्ने परिपाटी विद्यमान रहेको छ । साथै नियम पूरा गर्न समानुपातिकतर्फको निर्वाचनमा पुछारमा राखेर प्रतिनिधित्व गर्नबाट वञ्चित गराइन्छ । निर्वाचनमा जितेका थारु समुदायका उम्मेदवारलाई मन्त्रिमण्डलमा राज्यमन्त्री सम्म सीमित गराइन्छ । निर्णायक तहमा प्रतिनिधित्व नगराउने जसले गर्दा थारु समुदायले न्याय पाउन नसकेको पनि बताउनु भयाे ।

  • राप्ती नदीमा आएकाे बाढीले तीन सय परिवार डुबानमा

    राप्ती नदीमा आएकाे बाढीले तीन सय परिवार डुबानमा

    असाेज २८ शुक्रबार, काठमाण्डाै । अविरल वर्षाका कारण बाँकेकाे राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीकाे तीन सयभन्दा बढी परिवार डुबानमा परेकाे छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारि दिए अनुसार राप्ती नदीको पानी पसेर बाँकेका डुडुवा गाउँपालिका–१ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा, कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन् । बाढी प्रभावित करिब तीन सय जनालाई त्यहाँ रहेको नेपाल राष्ट्रिय प्रावि कृषि चौफेरी, सामुदायिक आश्रय भवनमा स्थानन्तरण गरिएको छ । डुबान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । जसले कच्ची घर भत्कन थालेका छन् । रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीको उद्धार गरी आश्रयस्थलमा राखेको हो । गाउँका दर्जनौँ घरमा पूर्णरूपमा क्षति भएको छ ।

  • मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु

    असाेज २८ शुक्रबार, काठमाण्डाै । रामपुर नगरपालिका सानीअमराईमा मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रामपुरले जनाए अनुसार मृत्यु हुनेमा रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनी थिइन् । उनलाइ उपचारका लागि तानसेन लैजाँदै गर्दा मृत्यु भएको थियाे । प्रहरीले जनाए अनुसार रामपुरबाट स्याङ्जाको दामाचौरतर्फ जाँदै गरेको लु६८प ९९९४ नं‍‌. को मोटरसाइकलले कालीगण्डकी करिडोर सडक अन्तर्गतकाे सानी अमराईमा बाटोमा उनी हिँडिरहेको अवस्थामा ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन लगिएकाे थियो । हाल मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

  • प्रधानमन्त्री देउवाकाे सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त

    प्रधानमन्त्री देउवाकाे सिफारिसमा जसपाका चार मन्त्री पदमुक्त

    असाेज २७ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चार मन्त्रीहरुलाई पदमुक्त गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाकाे सिफारिसले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरि उहाँहरूले सम्हाल्नु भएको मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री देउवाले राख्नुभएको उल्लेख गरिएको छ । साथै सहायक प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिले सरकारको सिफारिसमा नेपालको संविधानको धारा ७८ बमोजिम २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनुभएका गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसद्को सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले उहाँले सम्हाल्दै आउनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोक्नुभएको पनि उल्लेख गरिएको छ ।

  • खुकुरी प्रहार गरी फरार रहेका आठ जना पक्राउ

    खुकुरी प्रहार गरी फरार रहेका आठ जना पक्राउ

    असाेज २७ बिहिबार, काठमाण्डाै । काठमाण्डाैको सोह्रखुट्टेमा दुई बाउन्सरलाई खुकुरी प्रहार गरि फरार रहेकाे आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले आज पत्रकार सम्मेलन मार्फत असोज २५ गते दरबारमार्ग स्थित क्लब प्लाटिनमका दुई बाउन्सरलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाइ फरार भएकाे आठ जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डाैको टोलीले पक्राउ गरेकाे जानकारि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखाका ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोकका २७ वर्षीय दोर्जे शेर्पा र २९ वर्षीय विनोद तामाङ, रामेछापका २८ वर्षीय विकास श्रेष्ठ, २९ वर्षीय राजेन्द्र खत्री, दोलखाका २९ वर्षीय प्रदीप तामाङ र काभ्रेपलाञ्चोकका ३२ वर्षीय दिपेन लामा र काठमाण्डाैको चाबहिलका २६ वर्षीय करण डङ्गोल रहेका छन् । त्यस्तै प्रहरी टाेलीले फरार रहेकाहरुलाई काठमाण्डाैको विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी गराउनु भयाे । साथै प्रहरीले पक्राउ परेका अभियुक्तहरूको साथबाट तीन थान खुकुरी, दुई थान मोटरसाइकल बरामद गरेको पनि बताउनु भयाे ।

  • हक्की खेलमा महिला तर्फ गण्डकी प्रदेश विजयी तर पुरुषमा हार

    हक्की खेलमा महिला तर्फ गण्डकी प्रदेश विजयी तर पुरुषमा हार

    असाेज २७ बिहिबार, काठमाण्डाै । नवौं राष्ट्रिय खेलकुदकाे महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश विजयी भएकाे छ । पोखरामा बिहीबार देखि सुरु भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले प्रदेश १ लाई ७– ० काे अन्तरले पराजित गरेको छ । गण्डकीकाे तर्फबाट सोनु बरालले १३ औँ मिनेटमा खाता खोलेकाे थियाे । खेलमा सोनु बराल दुई गाेल, सबिना पुन रानाले एक गाेल,कमला पुनले तिन गोल,दीपशिखा पौडेलले एक गोल गरेकाे थियाे ।प्रतियोगिता ७ टिम सहभागी रहेको छ ।

    त्यस्तै पुरुष हक्की तर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४– ० काे अन्तरले पराजित गरेको छ । खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । खेलमा राजेन्द्र कार्कीले दुई गाेल, प्रदीप राजवंशीले एक गोल र रोमन रानाले एक गोल गरेका थिए ।

  • नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अव केही दिन मात्र बाँकी

    नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अव केही दिन मात्र बाँकी

    असाेज २६ बुधबार, काठमाण्डाै । नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समय अव केही दिन मात्र बाँकी रहेकाे नेपाल धितोपत्र बोर्डले जनाएकाे छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज, ब्रोकर कम्पनी र वस्तु विनिमय बजार सञ्चालन गर्न नयाँ लाइसेन्स दिन सूचना जारी असोज २ गते आवेदन खुला गरेको थियो । बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ पाँचौँ पटक संशोधन गरि नयाँ ब्रोकरको लागि लाइसेन्स खुला गरेको हाे । नयाँ स्टक ब्रोकर लाइसेन्स लिने अन्तिम म्याद असोज ३१ गते रहेकाेले साे समय भित्र नै निवेदन दिइसक्नु पर्नेछ । तर स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि आगामी कात्तिक १५ गतेसम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरको न्यूनतम चुक्ता पुँजी कामको प्रकृति हेरेर २० करोडदेखि १५० करोड रुपैयाँसम्म तोकेको छ । बोर्डका अनुसार सामान्य शेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपैयाँ चाहिने भएको छ त्यस्तै मार्जिन लेन्डिङ, एडभाइजरी सेवा समेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपैयाँ र आफ्नै नाममा शेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ ।

  • पर्यवेक्षकलाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह- प्रमुख आयुक्त दिनेशकुमार थपलिया

    पर्यवेक्षकलाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह- प्रमुख आयुक्त दिनेशकुमार थपलिया

    असाेज २६बुधबार, काठमाण्डाै । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकलाई निर्वाचन आचारसंहिता २०७९ को पालना गरि सहयाेग गर्न आग्रह गर्नुभयाे । मङ्सिर ४ गते हुने निर्वाचनकाे लागि आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले विगतकाे निर्वाचनहरूमा केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । साथै उहाँले पर्यवेक्षक निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग रहेकाले निर्वाचन आचारसंहिता, २०७९ को पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थानमा सघाउन आग्रह गर्नुभएकाे थियाे । कार्यक्रममा प्रवक्ता शालिग्राम पौडेलले पनि पर्यवेक्षक संस्थाले निर्वाचन आचारसंहितामा ध्यान दिएर आफ्ना पर्यवेक्षकलाई प्रशिक्षित गर्न आग्रह गर्नुभएकाे थियाे । प्रशिक्षणमा निर्वाचनकाे लागि पर्यवेक्षण गर्न अनुमति पाएका ४३ संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

  • वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार

    वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार

    असाेज २५ मंगलबार, काठमाण्डाै । संस्कृतिविद् एवम् शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीकाे स्वास्थ्य अवस्थामा हाल केही सुधार भएकाे छ । उनलाई ललितपुरकाे ग्वार्को स्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारकाे लागि असोज ७ गते भर्ना गरिएकाे थियाे । हाल जोशी अस्पतालमा उपचाररत छन्। अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले मुटुको समस्याबाट ग्रसित रहेका जोशीको हाल स्वास्थ्य अवस्थामा सुधार देखिएकाे विज्ञप्ति मार्फत जानकारी दिएका छन्। अस्पतालले मंगलबार दिउँसो २ बजे उनको स्वास्थ्य बुलेटिन जारी गरेको हो। जारी स्वास्थ्य बुलेटिनमा जोशीकाे छातीमा निमोनिया संक्रमण नियन्त्रण गर्न दिइएको एन्टिबायोटिक्स कोर्स जारी रहेको र उनको मुटुको चाल सम्बन्धी समस्यामा पनि केही सुधार देखेको बताइएकाे छ।

  • नेपालको संविधान अनुसार नागरिकता दिलाउन सरकार प्रतिबद्ध -बालकृष्ण खाण

    नेपालको संविधान अनुसार नागरिकता दिलाउन सरकार प्रतिबद्ध -बालकृष्ण खाण

    असाेज २५ मंगलबार, काठमाण्डाै । गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधान अनुसार नागरिकता दिलाउन सरकार प्रतिबद्ध रहेकाे बताउनु भएकाे छ । उनले गैरआवासीय नेपाली सङ्घ दिवसको अवसरमा आयोजित कार्यक्रममा सरकारले नागरिकता सम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराउनुभयो । मन्त्री खाणका अनुसार कुनै पनि नेपाली नागरिकले नागरिकता विहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधान अनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले नागरिकता विधेयक ल्याएको बताउनु भयाे । साथै उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्नुभयाे । सरकारले यसको लागि पुर्ण साथ र सहयाेग प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    त्यसतै सङ्घका अध्यक्ष कूल आचार्यले सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानी मैत्री कानून निर्माणका लागि आग्रह गर्नुभयो । साथै कार्यक्रममा गैरआवासीय नेपालीलाई पनि निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयाे ।

  • विधुत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि कोशेढुंगा हाे -कुलमान घिसिङ

    विधुत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि कोशेढुंगा हाे -कुलमान घिसिङ

    असाेज २५ मंगलबार, काठमाण्डाै । विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विधुत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि कोशेढुंगा रहेकाे बताएका छन् । निर्देशक घिसिङका अनुसार देशभित्र खपत गरी अतिरिक्त भएको विधुत भारतमा निर्यात गरी ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको छ । उनका अनुसार मंगलबारसम्म भारतमा एक अर्ब ३० लाख युनिट विधुत निर्यात भएको छ । नेपाल विधुत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विधुत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे अहेड बजारमा बिक्री सुरु गरेको थियो । प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसामा विधुतको निर्यात गरिएको छ । साथै नेपालले भारतसँगको विधुत व्यापारबाट भारतीय रुपैयाँ ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्राएको छ ।

  • उम्मेदवारले सामाजिक सञ्जालमा गरेको विज्ञापन खर्चकाे पनि हिसाब बुझाउनुपर्ने

    उम्मेदवारले सामाजिक सञ्जालमा गरेको विज्ञापन खर्चकाे पनि हिसाब बुझाउनुपर्ने

    असाेज २५ मंगलबार, काठमाण्डाै । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचनकाे लागि सामाजिक सञ्जालबाट गरिएकाे विज्ञापन खर्च निर्वाचन सम्पन्न भएपछि कानुन बमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्यक्रम सम्पन्न भए लगतै राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालककाे पनि प्रयोग गरी प्रचारप्रसार र विज्ञापन गर्न थालिसकेको छ । आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ मा निर्वाचनका सबै चरण, प्रक्रियामा सामाजिक सञ्जालको समुचित प्रयाेग गर्ने बारे ब्यवस्था गरेकाे छ । साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च सम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था पनि गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललेका अनुसार आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागी राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेकाे बताउनु भएकाे छ।

  • बागमतीलाई पहिलो स्वर्ण

    बागमतीलाई पहिलो स्वर्ण

    असाेज २५ मंगलबार, काठमाण्डाै । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको फेन्सिङ प्रतियोगितामा वाग्मती प्रदेशले पहिलो स्वर्ण हात पारेको छ । वाग्मतीकाे तर्फबाट शिक्षा नापितले पहिलो स्वर्ण जितेकी हुन् । उनले एपीएफकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यस्तै प्रतियोगितकाे ईपी महिला व्यक्तिगत तर्फ सेनाका इन्दिरा पौडेलले सिता पाठकलाई पराजित गर्दै स्वर्ण जिते।पुरुष तर्फ सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले वाग्ममतीका सञ्जीव लामालाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।फेन्सिङ अन्तरगत ईपी, फोयल र सावर गरी तीन इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । प्राविधिक सुत्रका अनुसार प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुने जनाईएकाे छ।

  • नेपाल पुलिससँग कर्णाली प्रदेश ६३ रनले पराजित

    नेपाल पुलिससँग कर्णाली प्रदेश ६३ रनले पराजित

    असाेज २४ साेमबार, काठमाण्डाै । नबाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको बनाएकाे थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा ४ ओभर घटाइएको थियो । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकी खेल सम्भव नभए पछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्दतमा सर्वादीक २५ रन बनाएकी थिईन् । उनी प्लेयर अफ द म्याच पनि भइन् ।

  • जिल्ला अदालत काठमाण्डाैद्वारा सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    जिल्ला अदालत काठमाण्डाैद्वारा सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    असाेज २४ साेमबार, काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर  सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ। जिल्ला अदालतले प्रहरीलाई सन्दीप लामिछाने विरूद्द ठाेस प्रमाण जुटाउन हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो ।

    दसैँकाे बिदाका कारण अदालत बन्द भएकाेले लामिछानेलाई आज अदालतमा उपस्थित गराएको हो ।  उनी अमेरिकाबाट असाेज २० गते नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै पक्राउ परेका थिए । उनलाई प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछाने विरूद्द भदाै ५ गते काठमाण्डौको एक होटलमा १७ बर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सहित भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

  • कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरो पीडितको तत्काल उद्धार र उपचारको व्यवस्था गर्न गृहमन्त्रालयकाे निर्देशन

    कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरो पीडितको तत्काल उद्धार र उपचारको व्यवस्था गर्न गृहमन्त्रालयकाे निर्देशन

    असाेज २४ साेमबार, काठमाण्डाै । गृहमन्त्रालयले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार तत्काल गर्न गृह प्रशासन, सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।गृहमन्त्रालयले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधन उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएको छ ।

    मन्त्रालयले गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका कर्णाली प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएकाे हो ।

    प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पुरिँदा ५ जनाको शव प्राप्त भएको र ११ जना वेपत्ता भएको खबर आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जानकारी दिनुभयो । सुरक्षा टोली घटनास्थलमा पुग्न ठाँउ ठाँउमा पहिरो गऐकाेले समस्या परेकाे जानकारी दिनुभयो ।

    त्यस्तै नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख डिआइजी पोषराज पोखरेलका अनुसार कालिकोटको तिलगुफा नगरपालिका वडा नं ४ राचुली भन्ने स्थानमा मलामीहरूले लास जलाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुर्दा १३ जना बेपत्ता भएको खबर आए लगतै सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको जानकारी दिनुभयो । पहिरो तिला नदीसम्म पुगेको र सुरक्षाकर्मीले बेपत्ताहरूको खोजीकार्य जारी राखेकाे बताउनुभयो । साथै हुम्लाको चखेली वडा नं ६ मेलथममा मानबिर बिकको घर पहिरोले बगाउँदा ९ जना पुरिएकामा ४ जनाको मृत्यु भएको र ५ जनाको जीवितै उद्धार गरिएको , घाइतेहरूलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर घटनास्थलमा लैजाने तयारी भइरहेको पनि डिआइजी पोखरेलले बताउनुभयो ।

  • राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

    असाेज २३ आईतबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन ओटा विधेयक प्रमाणीकरण गर्नुभएकाे छ । राष्ट्रपति कार्यालयले आज प्रेस विज्ञप्ति जारि गरि सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको जानकारी गराएकाेछ । प्रमाणित भएका तीन विधेयकहरुमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

  • देशभर वर्षा हुने सतर्कता अपनाउन आग्रह

    देशभर वर्षा हुने सतर्कता अपनाउन आग्रह

    असाेज १८ मंगलबार, काठमाण्डाै । देशभर आज र भोलि वर्षा हुने सम्भावना रहेकाेले मौसम पूर्वानुमान महाशाखाले सबैलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ । महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हाे। असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ र राति लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै बुधबार असोज १९ गते दशैंको टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।

  •  निर्वाचन आयोगद्वारा सूचना सम्प्रेषण प्रभावकारी बनाँउदै

     निर्वाचन आयोगद्वारा सूचना सम्प्रेषण प्रभावकारी बनाँउदै

    असाेज १८ मंगलबार, काठमाण्डाै । निर्वाचन आयोगले सूचना सम्प्रेषण प्रभावकारी बनाँउन पैसा नलाग्ने गरि फोनबाटै कुरा गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञाशा र अन्योलबारे मतदाताका प्रश्नहरु भएमा दसैँलगत्तै समाधान गराउने तयारी गरेकाे छ । आयोगले सञ्चारमाध्यमसँग सहजीकरण गर्न र निर्वाचनबारे सही तथा प्रभावकारी सूचना सम्प्रेषण गर्न यही असोज १४ गतेबाट बहादुर भवनमा प्रेस अफिस स्थापना गरी सञ्चालन गरिरहेको छ । सूचनामा सहजीकरणका लागि आयोग नियमित प्रवक्ता शालिग्राम शर्मा पौडेलका अतिरित्त, समानुपातिक प्रणालीका लागि बेग्लै प्रवक्ता गुरुप्रसाद वाग्ले ,सूर्यप्रसाद अर्याल, ऋषि भुसाल र कमल भट्टराईलाई सहायक प्रवक्ता तोेकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले नमूना मतदानलगायतको कार्य गरेर मतदातालाई सूचना प्रवाहको कामसमेत गर्नेछन् । आयोगले निर्वाचनका लागि डिजिटल माध्यमलाई बढी प्रयोग गरेर मतदाता शिक्षा सञ्चालनको योजना अघि सारेको छ ।   

    साथै निर्वाचन आयोगले आफ्नो वेभसाइट http://www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ मतदाता नामावली सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदान स्थल अन्तर्गत खोजी गर्दा भेट्न सकिनेछ ।    

  • निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक बस्ने

    निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक बस्ने

    असाेज १८ मंगलबार, काठमाण्डाै । निर्वाचन क्षेत्रकाे टुंगो लगाउन गठबन्धनको संयुक्त बैठक मंगलबार दिउँसो ३ बजे मात्र बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवादलाई मिलाउन प्रयास गरिने बताइएको छ। सोमबार बसेको बैठक निष्कर्ष विहीन बनेपछि आज पुनः दलहरू छलफलमा जुटेका हुन् । साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरिएको थियो । जसमा साउन अन्तिमसम्ममा सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो । तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन । एकीकृत समाजवादी र जसपाले आफूलाई थोरै सिट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । साथै कतिपय क्षेत्रमा कांग्रेस र माओवादी बीचमा पनि सहमति जुट्न सकेको छैन।

  • राष्ट्रपतिद्वारा महानवमीमा नव कन्याको पूजा

    राष्ट्रपतिद्वारा महानवमीमा नव कन्याको पूजा

    असाेज १८ मंगलबार, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ । शीलत निवास राष्ट्रपति कार्यालयमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले नव कन्यालाई नवदुर्गाको अवतार स्वरूप मानेर पूजा गर्नुभएको हो । सो अवसरमा नौ जना कन्याहरुकाे राष्ट्रपति भण्डारीले गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । ती कन्यालाई बाल मन्दिरबाट लगिएको हो । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आउनुभएको छ । उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो ।

  • निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक हुने

    असाेज १७ साेमबार, काठमाण्डाै । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगका सह प्रवक्ता कमल भट्टराईले दिनुभएकाे जानकारी अनुसार पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने बताउनु भयो । विदेशीतर्फ हालसम्म दुई वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् । उहाँले केही संस्थाहरू पर्यवेक्षकलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभई दूर दराजका मतदान स्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताउनुभयो । आयोगले भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरू तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ उनले बताए।

  • सामानुपातिकतर्फको बन्दसूचीमा २९ जनाले फिर्ता लिए आफ्नाे नाम

    सामानुपातिकतर्फको बन्दसूचीमा २९ जनाले फिर्ता लिए आफ्नाे नाम

    असाेज १७ साेमबार, काठमाण्डाै । निर्वाचनका लागि सामानुपातिकतर्फको बन्दसूचीमा नाम पेश गरेका २९ जनाले आफ्नो नाम फिर्ता लिएका छन् । उनीहरुले नाम फिर्ता लिन सोमबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलहरूका तर्फबाट उमेदवारको बन्दसूची आयोगमा बुझाइएको थियो । आज सूचीबाट २९ जनाले आफ्नाे नाम फिर्ता लिएका छन् । उनका अनुसार नाम फिर्ता लिनेमा सबैभन्दा बढी नेपाली कांग्रेसका नेता छन् भने अन्यमा नाम फिर्ता लिनेमा जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, पुनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका छन् । साथै सबै पार्टीका तर्फबाट गरी प्रतिनिधिसभातर्फ नौ, प्रदेश–१ मा ६, मधेस प्रदेशमा दुई, वाग्मतीमा १०, गण्डकी प्रदेशमा एक र लुम्बिनी प्रदेशमा एकजनाले नाम फिर्ता लिएका उपन्यायाधिवक्ता वाग्लेले जानकारी दिए । निर्वाचन आयोगले बन्दसूचीमा सूचीकृत उमेदवारहरुलाई आफ्नो नाम फिर्ता लिन मन भएमा सोमबार मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको थियो ।

  • राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा

    राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा

    असाेज १७ साेमबार, काठमाण्डाै । बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेकी छन्। आजका दिन राष्ट्रप्रमुखबाट पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिमनै राष्ट्रपति भण्डारीले पूजाआजा र दर्शन गरेकी हुन्। काभ्रेपलाञ्चोक जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठ मध्येको एक हो। काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो। राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टर मार्फत वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन् । यस मन्दिरमा पूजाआजा गर्न आज दर्शनार्थीको भीड लागेको थियाे।

  • महाअष्टमीको अवसरमा गहवामाई शक्ति पीठमा भक्तजनहरूको भिड

    महाअष्टमीको अवसरमा गहवामाई शक्ति पीठमा भक्तजनहरूको भिड

    असाेज १७ साेमबार, काठमाण्डाै । ऐतिहासिक शक्ति पीठ गहवामाई मन्दिरमा महाअष्टमीको अवसरमा बिहानै देखि दिनभर भक्तजनहरूको भीड लागेको थियाे । वीरगञ्जको ऐतिहासिक शक्ति पीठ गहवामाई मन्दिरमा श्रद्धालुहरू भाकल गरि पशुपंक्षीको बलि चढाउने चलन रहँदैआएकाे छ । मन्दिरका मूल पुजारीले आइतबार मध्यरातमा धार्मिक परम्परा र विधि अनुसार पूजा अर्चना गरेर पञ्चबलि दिइसके पछि श्रद्धालुहरूकाे भाकल गरेको पशुपक्षीको बलि दिने कार्य सुरु भएको थियाे । बारा, पर्सा, रौतहट लगायत अन्य जिल्लाहरु र भारतबात समेत हजारौँको सङ्ख्यामा सर्वसाधारणहरू वीरगंजमा मेला भर्न आएका थिए ।

  • निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन कानुन बनाइदै

    निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन कानुन बनाइदै

    असाेज १४ शुक्रबार, काठमाण्डाै । निजी क्षेत्रहरुलाई विधुत व्यापारको अनुमति दिन सरकारले कानुन मा संसाेधन गर्न अध्यादेश जारी गर्ने तयारी गर्दैछ । विधुत ऐन, २०४९ मा विधुत व्यापारसम्बन्धी प्रावधान छैन । त्यसैले साेहि ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विधुत व्यापारसम्बन्धी प्रावधान भएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विधुत व्यापारको अनुमति दिन सकेको थिएन ।अध्यादेश राष्ट्रपति कार्यालयमा पेश गरिसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै ऊर्जा व्यापारको मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ अध्यादेश जारी गर्न लागिएको हो । हाल दैनिक रुपमा दुई हजार दुई सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । सो बिजुलीमध्ये देशभित्र एक हजार सात सय मेगावाट मात्रै खपत भइरहेको छ । औसतमा तीन सय मेगावाटको हाराहारीमा मात्रै बिजुली निर्यात भइरहँदा पनि बाँकी रहेको दुई सय मेगावाट बिजुली खेर जाने अवस्था रहेकाेछ । देशभित्रका सबै आयोजनाबाट उत्पादित बिजुली उपयोग गर्न नसकिने भएकाले छिमेकी देशमा व्यापारका लागि निजी क्षेत्रलाई सहभागी गराउनै पर्ने बाध्यकारी अवस्थाको सिर्जना भएको ऊर्जा मन्त्रालयको भनाइ छ । जलविधुत विकास नीति, २०५८ मा विधुत व्यापारका लागि अनुमतिपत्र दिने व्यवस्था गरिने भनिए पनि सो बमोजिम हालसम्म कानुनी व्यवस्था हुन सकेको छैन । हाल नेपाल, भारत र बङ्गलादेश सरकारको ऊर्जा सचिवस्तरीय वार्ता भई विधुतआयात निर्यात गर्ने सम्बन्धमा सहमति समेत भइसकेको छ ।

  • स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल निःशुल्क वितरण

    स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल निःशुल्क वितरण

    असाेज १३ बिहीबार, काठमाण्डाै । स्वास्थ्य मन्त्रालयद्वारा पाँच लाख ५० हजार थान सिटामोल काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई निःशुल्क वितरण गरेको छ। डेङ्गुको सङ्क्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौँ र ललितपुर महानगरपालिकालाई एक/एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०/२० हजार थान सिटामोल उपलब्ध गराएको छ । साथै सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताल लगायतका अस्पतालहरूमा सिटामोल निःशुल्क वितरणका लागि उपलब्ध गराएको छ ।  मन्त्रालयले उपत्यकामा डेङ्गुको सङ्क्रमण अन्य स्थानको तुलनामा बढी रहेको बताएको छ । यो एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेङ्गु भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने,धेरै कमजोरि हुने जस्ता लक्षणहरू देखापर्छ ।

  • दशैंमा बन्दीप्रतक्षीकरणको सुनुवाइ हुँदै

    दशैंमा बन्दीप्रतक्षीकरणको सुनुवाइ हुँदै

    असाेज १३ बिहीबार, काठमाण्डाै । सर्बोच्च लगायत अन्य अदालतहरुमा दशैंको बिदामा पनि बन्दीप्रतक्षीकरणको रिट निवेदनको सुनुवाइ हुँदै आएको छ । दशैंको बिदामा अदालतको अन्य काम कारवाही भने बन्द नै रहने अदालतको श्रोतले बताएको छ । अदालत बिहानको ११ बजे देखी अपरान्ह ३ बजे सम्म खुला रहने बताएको छ ।   

  • युक्रेनका ४ भू–भागहरू रूसमा औपचारिक रुपमा गाभिने

    युक्रेनका ४ भू–भागहरू रूसमा औपचारिक रुपमा गाभिने

    असाेज १३ बिहीबार, काठमाण्डाै । युक्रेनका ४ भू–भागहरुलाई रूसमा औपचारिक रुपमा गाभ्ने भएको छ राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी भू–भागहरु रुसमा गाभ्ने सम्बन्धी अध्यादेशमा शुक्रबार हस्ताक्षर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । रूसले कब्जा गरेका ४ युक्रेनी क्षेत्रहरुः लुहान्स्क, दोनेत्स्क, खेरसन र जापरोजिया रहेका छन् ।ती भु-भागहरू रुसमा गाभ्ने सम्बन्धमा गत शुक्रबार देखि मंगलबारसम्म जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा ठूलो बहुमतले रुसमा गाभिनका लागि मत दिएको रुसले जनाएको छ । युक्रेन र अन्य पश्चिमा राष्ट्रहरुले भने जनमत संग्रहको विरोध गर्दै आएका थिए । रुसले औपचारिक रुपमा युक्रेनी भू–भाग गाभ्ने भएपछि पश्चिमा राष्ट्रहरुले रुसमाथि थप प्रतिबन्धहरु लगाउने घोषणा गरेका छन् ।

  • डेंगीबाट २५ हजार ४ सय ७१ जना संक्रमीत

    डेंगीबाट २५ हजार ४ सय ७१ जना संक्रमीत

    असाेज १२ बुधबार, काठमाण्डाै । नेपालमा हाल डेंगीबाट संक्रमीत २५ हजार ४ सय ७१ जना पुगेकाेछ । डेंगीको प्रकोप दिनानुदिन झन बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष डेंगीबाट २५ हजार ४ सय ७१ जना संक्रमीत रहेकाे पुष्टि भएको छ। नेपालका १० जिल्लामा यसको संक्रमण बदी देखिएको मन्त्रालयले जनाएको छ। ति जिल्लाहरु काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, धादिङ, रूपन्देही, गुल्मी, चितवन र कैलाली रहेकाे जनाएकाे छ । यि जिल्लाहरुमा मात्रै ८६ प्रतिशतभन्दा बढी संक्रमीत रहेकाे जनाएकाे छ। तीमध्ये काठमाडौंमा ८१३२, ललितपुरमा ४३७७, मकवानपुरमा १७१७, दाङमा १२५२ जनामा संक्रमण देखिएकाे जनाएकाे छ । गत ४ हप्तामा २१ हजार बढीमा डेंगी संक्रमण पुष्टि भएको र ३२ जनाको मृत्यु भएको जनाएकाे छ 

  • वाग्मतीमा प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारि

    असाेज १२ बुधबार, काठमाण्डाै । वाग्मती प्रदेशमा लागु हुने गरि प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएकाेछ । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अध्यादेश जारी गर्नुभएकाे हाे । प्रदेश प्रमुख कार्यालयले जनाए अनुसार संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको हाे । अध्यादेश जारी भएसँगै प्रदेशभित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश, २०७५ खारेज भएको छ ।

  • एयरपाेर्ट वरपर चङ्गा उडाउनेलाई कारबाही हुने

    एयरपाेर्ट वरपर चङ्गा उडाउनेलाई कारबाही हुने

    असाेज १२ बुधबार, काठमाण्डाै । एयरपाेर्ट वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने संभावना धरै हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । प्राधिकरणले प्रकाशित गरेको सूचनामा विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा आग्रह गरिएको जनाइएको छ । यदि कसैले उक्त सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाउने कार्य वा गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने समेत प्राधिकरणले चेतावनी दिएको छ ।

  • महिला भलिबलको उपाधि मकवानपुरगढीले जिते

    महिला भलिबलको उपाधि मकवानपुरगढीले जिते

    असाेज १२ बुधबार, काठमाण्डाै । जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले जितेको छ । बुधबार हेटौँडाको हुप्रचौरमा सम्पन्न भएकाे फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै मकवानपुरगढीले उपाधि जितेको हो । फाइनल खेलमा मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा विजेता बन्दै मकवानपुरगढीले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बकैया गाउँपालिकाले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    मकवानपुरगढीका सुस्मिता योञ्जन प्रतियोगिताको उत्कृष्ट खेलाडी, सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन भए। प्रतियोगिताको उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की भएका छन् ।

  • भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ-प्रदेश प्रमुख अमिक शेरचन

    भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ-प्रदेश प्रमुख अमिक शेरचन

    असाेज १२ बुधबार, काठमाण्डाै । लुम्बिनिका प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार खतरनाक हतियार रहेकाे यसले धेरैलाई हत्या गरेको छ ,भ्रष्टाचार नियन्त्रण गर्ननसके मुलुक मारमा पर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै आज उनले भनेका छन् “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।” उनकाे बिचारमा देशमा समृद्धि आउन भ्रष्टाचार नियन्त्रण हुनु जरुरी रहेकाेले यसमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले आयोगको दायरा धेरै ठुलाे रहेकाेले देश र जनतालाई रहत महसुस हुने गरी काम गर्न सुझाव दिनुभयो । उनले जनताको दुःख र पसिनाले तिरेको रकम दुरुपयोग हुनु विडम्बना भएकाे बताउनुभयाे । साथै सडक निर्माण लगायत पूर्वाधार निर्माणमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्नेमा जोड दिनुभयाे।

  • नुवाकोटको ऐतिहासिक सात तले दरबार पुनर्निर्माणका लागि चिनियाँ टाेली आइपुगे

    नुवाकोटको ऐतिहासिक सात तले दरबार पुनर्निर्माणका लागि चिनियाँ टाेली आइपुगे

    असाेज ११ मंगलबार, काठमाण्डाै । नुवाकोटको ऐतिहासिक सात तले दरबार पुनर्निर्माणका लागि चिनियाँ पक्ष नेपाल आएको छ। २०७२ सालमा गएकाे भुकम्पले नुवाकोटको ऐतिहासिक सात तले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदामा क्षति पुगेकाे थियाे । वि.सं २०७६ जेठमा पुरातत्व विभाग र चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज बीच पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार भुकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रम अन्तर्गत नेपाल र चीन सरकारबीच दरबार सहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको थियाे। उनका अनुसार चिनियाँ कम्पनीका प्राविधिक वि.सं २०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको थियाे । चिनियाँ पक्षले सात तले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि सन् २०२० फर्किने भनेर गएका थिए । तर चिनियाँ कम्पनीका प्राविधिक स्वदेश फर्के लगत्तै सुरू भएको कोरोना महामारीकाे जोखिमले रोकिएको पुनर्निर्माण अघि बढाउन २० जनाको प्रटोली दरबारमा आइपुगेको छ।

    कार्यालय प्रमुख फुँयालका अनुसार राजा पृथ्वीनारायण शाहले नुवाकोट माथि विजय हासिल गरे पश्चात सात तले दरबारको निर्माण गर्न लगाइएकाे थियाे। दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन मन्दिर भएको बताएका छन् । साततले दरबारलाई नेपालमा गणतन्त्र आए लगतै नुवाकोट सङ्ग्राहलयमा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त दरबार भित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमा लगायतका ऐतिहासिक संरचना राखिएका छन्।

  • बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पायाे

    असाेज ११ मंगलबार, काठमाण्डाै । तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा पाएकाे छ । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउनकाे लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबिच सम्झौतामा हस्ताक्षर गरिएकाे हो । सम्झाैतामा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभएकाे हाे । मन्त्रि परिषदकाे गत भाद्र ३१ गतेकाे बैठकले गरेकाे निर्णय अनुसार कृषि औजार कारखाना र राष्ट्रिय आविष्कार केन्द्र बिच सम्झाैता भएकाे हाे । मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालन गरिने घोषणाअनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा लगाइएकाे बताइएकाे छ । अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच १० वर्षका लागि सम्झौता भएको हाे ।

    राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकार र अर्थ मन्त्रालयसँग यस किसिमको सम्झौता होला भनेर नसोचेको बताएका छन् । उनले यस सम्झाैता राम्रो कामका लागि भएको हाे, आफूहरूको ज्ञान, शिप र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । सम्झौताअनुसार कारखानाको मर्मतसम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलो पटक सरकारले गर्नेछ भने योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरण लगायतका काम आविष्कार केन्द्रले गर्नेछ । साथै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम सञ्चालन गर्ने, दक्ष जनशक्ति तथा आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्ने कार्य गर्न पाउनेछ । सम्झौता अनुसार आविष्कार केन्द्रले औजार बिक्री गरेपछि प्राप्त रकमको ५० प्रतिशत रकमकाे राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गर्ने र बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।

  • अब १३५ देशले सन्दीप लामिछानेको खोजी गर्ने

    अब १३५ देशले सन्दीप लामिछानेको खोजी गर्ने

    असाेज १० साेमबार, काठमाण्डाै । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाइ अब इन्टरपोलमा आवद्ध १३५ देशले खोजी गर्ने भएकाे छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीप विरुद्ध डिफ्युजन नोटिस जारी गरेकोछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछ। सन्दीप लामिछानेलाइ क्यारेबियनल लिग खेल्न नेपाल बाहिर गएकाे बेला बलात्कारको आरोप लागेकाे थियाे। उनले आइतबार राति आफ्नाे सामाजिक सन्जालबाट आफूमाथि झुटो जाहेरी परेको, सन्चाे नभएर आइसाेलेसनमा रहेकाे चाँडै नेपाल आएरका कानुनी लडाइ लड्ने बताएका थिए ।

  • दशै घरमा शुभ साइतमा घटस्थापना गरियाे

    असाेज १० साेमबार, काठमाण्डाै । काठमाण्डाैकाे हनुमानढोका स्थित दशैं घरमा आज शुभ साइतमा घटस्थापना गरिएको छ। जमरा बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा छरेर पुजा विधि अनुसार गरिएकाे छ। नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाउनुका साथ हर्ष बढाईंसमेत गरेको थियो । नेपालीको महान् पर्व बडा दसैं हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि घर घरमा घटस्थापना गरि सुरु भइ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। घटस्थापनाकाे दिन बिहानकाे नित्यकर्म गरि चाेखाे भइ नजिकको नदी वा चोखो स्थलबाट बालुवा र कमेराे माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यस माथि जौ छरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। दुर्गा देवीको प्रसादकाे रुपमा विजयादशमीको दिन टीका सहित पहेँलो जमरा लगाइन्छ। आजकल जमरामा जौ काे साथै मकै पनि छर्ने चलन रहदै आएकाे छ ।