कार्तिक २४ बिहिबार, काठमाण्डाै । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनकाे ९० प्रतिशत वस्तुमा भन्सार शुल्क शून्य बनाउने नीति हाम्रा लागि राम्राे अवसर रहेकाे बताउनुभयाे । नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपाल र चीनबीचको सम्बन्ध आर्थिक कूटनीतिका माध्यमबाट अझै विस्तार र प्रगाढ बन्ने बताउनुभएकाे छ । उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी रहने पनि बताउनुभयो । यसै महिना देखि लागू हुने गरी नेपाल सहित अतिकम विकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुमा भन्सार शुल्क शून्य बनाउने चीनले नीति ल्याएकाे छ, जुन हाम्रा लागि राम्रो अवसर रहेकाे यसको नेपालले सदुपयोग गर्नुपर्ने पनि बताउनुभयो । उनका अनुसार हामीले हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्नु पर्छ । त्यसका लागि गुणस्तरीय वस्तुको उत्पादन, उत्पादित वस्तुको प्रवद्र्धन, आर्थिक कूटनीति मार्फत अन्तर्राष्ट्रिय बजारमा निर्यात जस्ता कार्यबाट निर्यात व्यापार वृद्धि गर्न सकिन्छ । नेपालको मुख्य व्यापार छिमेकी मुलुक चीन र भारतसँग रहेकाे छ, त्यसैले चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु नेपालका लागि ठूलो अवसर पनि हो उनले बताउनु भयाे ।


Leave a comment