भाद्र १६ आइतबार, काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बालमन्दिर)का देशभर रहेका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बालमन्दिरका पदाधिकारी सँग आज भएको छलफलमा उहाँले सङ्गठनकाे जमिन, भवन र सम्पत्तिको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम चाल्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले बाल मन्दिरका जग्गा कसैले अतिक्रमण गरेको वा नियम बमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्ने र धनी पुर्जाबिना लामो समयदेखि सङ्गठनले भोगाधिकार लिँदै आएको जग्गा सङ्गठनकै नाममा ल्याइनुपर्ने बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन र गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितताका लागि आग्रह गर्नुभयो ।
उक्त छलफलमा नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतम लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेेकाे थियाे ।






































































