मंसिर १७ आईतबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई स्वदेश फर्कनुभयाे । मङ्सिर १४ गतेदेखि कोप–२८ दुबइमा सुरु भएको हो । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्च स्तरीय सत्रमा सहभागी हुनुभएको थियो । साथै उहाँले मङ्सिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।
उहाँको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढंगले प्रस्तुत गरेको बताउनुभयो। उहाँले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’ लाई प्रवर्द्धन गर्न ‘हिमालयको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्नुभएको बताउनुभयो ।
उहाँले उच्चस्तरीय सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबइमा एकत्रित हुनुभएका विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य उच्चपदस्थ व्यक्तित्वसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेस, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, क्युबाका राष्ट्रपति लगायत विश्व नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।

Leave a comment