हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ

भाद्र २ बिहिबार, काठमाण्डाै । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगद सहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाण्डाै तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा महागढीमाई नगरपालिका-७ बेनौली घर भई काठमाण्डाै-१३ कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार शाह र धनुषा जनकपुर उपमहानगरपालिका-३ घर भई काठमाण्डाैकाे टेकु बस्ने ३३ वर्षीय अंकित गोयनका रहेको छ । विषेश सुत्रकाे सूचनाको आधारमा बुधबार खटिएको टोलीले माधव श्रेष्ठ लगायतमाथि निगरानी गरेको थियो।

श्रेष्ठ घण्टाघरमा संजोग टुर्स एन्ड ट्राभल्स प्रालि सञ्चालन गर्दै आएका थिए। त्यहाँबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको थियाे । सोही बेला श्रेष्ठको कार्यालयमा सुनिलकुमार शाह हुन्डीको भुक्तानी गर्न आइपुगेका थिए। उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनी अंकित गोयनकाको लागि काम गर्ने खुल्यो। त्यसपछि कलंकीस्थित अंकित गोयनकाले सन्चालन गरेको आनी इन्टरनेशनल नामक कार्यालयमा प्रहरीको टोली पुगि कार्यालयमा तलासी लिँदा त्यहाँबाट थप ९ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक कोइरालाका अनुसार आराेपीहरु माथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको छ। 

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.