श्रावण २२ बिहिबार, काठमाण्डाै । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।
उहाँले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यान्वयनमा परिणाम निकाल्न पनि निर्देशन दिनुभएकाे छ । साथै विद्यमान कानूनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा पनि जोड दिनु भयो ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो जुन कूल राजस्वको १०.९ प्रतिशत हो। बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयहरूका सचिव लगायतको उपस्थिति थियो ।
श्रावण १२ साेमबार, काठमाण्डाै । सर्वाेच्चकाे मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त हुनु भएकाे छ। न्याय परिसदका प्रवक्ता डा.अशोककुमार क्षेत्रीले जानकारी दिए अनुसार न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हाे ।
उनका अनुसार मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार देखि अनिवार्य अवकाशमा लिएका थिए। बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
श्रावण १२ साेमबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अङ्कले घटेको छ । परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात् दुई दशमलव ०७ अङ्कले घटेर दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ ।
आज विभिन्न ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ दशमलव २९ बराबरको कारोबार भएको छ ।
त्यसतै आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९, सान्भी इनर्जी लिमिटेडको नौ दशमलव ९२, ट्रेड टावर लिमिटेडको नौ दशमलव ५३ प्रतिशतले बढेको छ ।
भने बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ४९, लक्ष्मी उन्नति कोषको सात दशमलव ५२ र ग्रिन भेञ्चर लिमिटेडको पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।
श्रावण ८ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताउनुभयाे ।
उनले आफ्नाे सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको हाे ।
उहाँले सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको बताउनुभयाे । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको पनि जानकारी गराउनुभयाे ।
श्रावण ८ बिहिबार, काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहीबार फिर्ता पठाएकाे जानकारी दिनुभयाे ।
उक्त विधेयक दुवै सदनबाट पारित भएपछि गत ३१ असारमा सभामुख देवराज घिमिरेले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनु भएकाे थियाे ।
श्रावण ५ साेमबार, काठमाण्डाै । नेपाल यू–२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को उप–विजेतामै सीमित भएको छ ।
सोमबार बंगलादेशको ढाकास्थिति बसुन्धरा किङ्स एरेनामा भएको खेलमा बंगलादेशकाे टिमसँग ४–० पराजित भएसँगै नेपालले उप विजेतामा नै चित्त बुझाउनुपरेकाे थियाे ।
नेपाललाई उपाधि जित्नका लागि बंगलादेश विरुद्धको खेलमा जित आवश्यक रहेकाे थियाे । तर बंगलादेशलाइ त्यति दवाव थिएन । बंगलादेशको तर्फबाट सागोरिकाले खेलको ८, ५१, ५८ र ७७ औं मिनेटमा गोल गरेकाे थियाे ।
श्रावण ५ साेमबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ७६ अङ्क अर्थात् शून्य दशमलव ७५ प्रतिशतले बढेर दुई हजार आठ सय ९२ दशमलव ७२ बिन्दुमा कामय भएको छ ।
आज विभिन्न ३११ कम्पनीका तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर एक लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा रू १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार दुई सय ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ४२, लघुवित्त एक दशमलव ९३, निर्जीवन बीमा एक दशमलव २७ र अन्य समूह एक दशमलव ८४ प्रतिशतले बढेको छ ।
त्यस्तै बैङ्किङ शून्य दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ३०, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७५ करोड ६६ लाख ४६ हजार ३०७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार सात सय ११ कित्ता शेयर किनबेच भएको छ ।
श्रावण ५ साेमबार, काठमाण्डाै । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेकाे बताउनुभयाे । साेमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन ,उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री अधिकारीले कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको र कृषिमा आत्मनिर्भर हुने गरी मन्त्रालयले विभिन्न कामहरु गरिरहेको बताउनुभएको छ । उहाँले धानमा आत्मनिर्भर बन्न लागेको बेला मधेस प्रदेशमा खडेरीका कारण आएको समस्या समाधानका लागि मन्त्रालयले अध्ययन गर्न कर्मचारीको टोली खटाएको जानकारी दिनुभयो ।
उहाँले विगत लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिदसम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरणसम्बन्धी कार्यविधि संशोधन गरिएको जानकारी गराउनुभयो । यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीको भनाइ छ ।
विगत सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारी समायोजन अनुसारको सङ्गठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरी सङ्गठन सुदृढ तथा व्यवस्थापन गरिएको जानकारी दिनुभयाे ।
साथै बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको, कृषि तथा पशुपन्छी बिमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो ।
श्रावण १ बिहिबार,मुस्ताङ । मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका अनुसार जोमसोम-धार्काजुङसम्मको करिब आठ किलोमिटर लम्बाइको साइकल ट्रेल रु २० लाख बजेटमा निर्माण गरिएको हो ।
पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेलले यस साइकल ट्रेलकाे निर्माणले मुस्ताङको पर्यटन विकास, पर्यटन प्रवर्द्धनका साथै पर्यटकको बसाइँ लम्ब्याउनका मद्दत गर्ने बताउनुभयाे ।
ट्रेल निर्माणका लागि सुक्खावाल, ग्याविन वालका साथै जोमसोम–धार्काजुङ ट्रेलमा दुई वटा फलामे पुल बनाइएको छ । ट्रेल निर्माणमा साबिकको पुरानो बाटोको स्तरोन्नति र नयाँ दुई किमी सडकमा ट्रयाक ओपन गरिएको छ ।
पौडेलका अनुसार समुन्द्री सतहको करिब चार हजारभन्दा माथिको उचाइमा रहेको ढल्केडाँडा छिचोल्दै साइकल ट्रेल गर्ने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र पर्वतीय उच्च उचाइमा बेग्लै अनुभव गर्न सक्नेछन् । साथै ढल्केडाँडा पुग्ने पर्यटकले उपल्लो मुस्ताङ, नेपाल–चीन सिमाना, तल्लो मुस्ताङ र मध्य मुस्ताङको विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सक्नेछन् ।
अब पर्वतीय हाइअल्टिच्युड साइकल ट्रेल निर्माणसँगै यहाँ साइक्लिङ गर्न आउने पर्यटकले जोमसोम–कागबेनी सडकमार्ग प्रयोग नगरी धार्काजुङ हुँदै मुस्ताङ–डोल्पासम्मको छोटो यात्रा गर्न पनि सक्नेछन् ।
असार ३२ बुधबार, काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाे आगामी आर्थिक वर्ष २०८२/८३ को लागि गत आइबार प्रस्ताव गरेको बजेट आज नगरसभाबाट पारित गरेकाे छ ।
कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले ल्याउनुपर्ने समयसीमाभन्दा ढिला गरी कामपाले रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो ।
पारित बजेटमा सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा रु ५१ प्रतिशत , सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ रु १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा १२ प्रतिशत र आर्थिक विकासको लागि ३ प्रतिशत बजेट ल्याइएको छ ।
असार ३२ बुधबार, काठमाण्डाै । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने बुधबार बेलुकी सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो ।
बुधबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनुभयाे। राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिय सभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गरेका हुन ।
मन्त्री न्यौपानेले पदबहाली गरेपछि सङ्घ प्रदेश र स्थानीय तहमा हुने सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न सङ्घीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गर्नुभयाे ।
निवर्तमान मन्त्री राजकुमार गुप्ताकाे भ्रष्टाचारको अडिओ काण्ड बाहिर आए लगतै चाैतर्फी दबाबपछि मन्त्री गुप्ताले राजीनामा दिएसँगै उनको ठाउँमा प्रधानमन्त्री ओलीले न्यौपानेलाई ल्याउनुभएकाे हाे।
असार ३१ मंगलबार, काठमाण्डाै । चीन सरकारद्वारा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई रु ८५ लाख बराबरका खेल सामग्री सहयोग गरेकाे छ ।
अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रममा आज नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ दि मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई करिब रु ८५ लाख बराबरका विभिन्न ३४ प्रकारका खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले यस सहयोगले थोरै भए पनि नेपाली खेलकुदको विकासमा टेवा पुग्ने बताउनुभयो ।
सचिव घिसिङले नेपाल र चीनबीच धेरै क्षेत्रमा राम्रो सम्बन्ध स्थापित भएको बताउँदै सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिनुभयाे ।
उहाँले प्राप्त सामग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै २० औँ एसियाली खेलकुद आउन थाेरै मात्र समय बाँकी रहेकाेले दृढ सङ्कल्पका साथ प्रशिक्षण अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चिनियाँ दूतावासका कन्सुल वाङ दोङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र हिमालकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
चैत ३१ आईतबार,काठमाण्डाै। साताकाे पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा पुगेको छ ।
विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १४, लगानी एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव २६ र निर्जीवन बीमा शून्य दशमलव ०८ प्रतिशतले बढेको छ ।
साथै बैङ्किङ शून्य दशमलव २१, विकास बैङ्क शून्य दशमलव ७७, वित्त शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ४५, जीवन बीमा शून्य दशमलव ६१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त शून्य दशमलव २६, व्यापार एक दशमलव ४० र अन्य समूह शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।
चैत २९ शुक्रबार,काठमाण्डाै। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाएका छन् ।
गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।
तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा हुन नसकि पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो । फेरि आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्याइएको थियो ।
चैत २९ शुक्रबार,काठमाण्डाै। नेपाल र भारतका भन्सार अधिकारीहरूबीच वार्ता सम्पन्न भएको छ । दुई देश बीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउन र अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रण गर्न भन्सार अधिकारीहरूबीच काठमाण्डौमा चैत २८ र २९ गते भेटवार्ता कार्यक्रम सन्चालन गरिएकाे थियाे ।
भन्सार विभागका महानिर्देशक महेश भट्टराईका अनुसार दुवै देशले भन्सार प्रक्रियालाई कागजविहीन (पेपरलेस) बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएकाे बताउनु भयाे ।
उहाँका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने कुरामा भारत सहमत रहेकाे बताउनुभयाे ।
साथै उहाँले वार्तामा दुबै पक्षले आयात–निर्यातसम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी गर्ने, भन्सारसम्बन्धी आपसी सहयोगसम्बन्धी सम्झौता अगाडि बढाउने र सीमावर्ती क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी व्यापार प्रवर्धन गर्ने विषयमा सहमत भएकाे जानकारी दिनुभयाे । वार्तामा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक महेश भट्टराई र भारतका तर्फबाट राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तव रहेकाे थियो ।
चैत २० बुधबार,काठमाण्डाै। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डे बिच शिष्टाचार भेटवार्ता भएको छ । थाइल्याण्डको राजधानी बैंककमा छैठौँ बिमस्टेक समिटका लागि मन्त्री डा राणा र महासचिव पाण्डेबीच भेटवार्ता भएको हो ।
उक्त भेटका क्रममा मन्त्री डा राणाले क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिका रहेको नेपाल बिमस्टेकको सिद्धान्त तथा उद्देश्यप्रति प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
मन्त्री डा राणाले आसन्न छैठौँ शिखर सम्मेलनले यस क्षेत्रका समस्याको दिगो समाधानका क्षेत्रमा सामूहिक प्रयासका प्रसस्त विकल्प प्रस्तुत गर्नेमा आफू आशावादी रहेको बताउनुभयाे।
साथै उहाँले बिमस्टेक क्षेत्रमा जलवायु परिवर्तन, प्राकृतिक बिपत्ति, उर्जा सङ्कट, गरिबी, मानवको अवैध ओसारपसार, आतङ्कवादजस्ता कैयौँ समस्या विद्यमान रहेकाे र तिनको समाधानमा बिमस्टेकले सामूहिक सहकार्यको मोडललाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने पनि बताउनुभयाे।
चैत ११ साेमबार,काठमाण्डाै। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएकाे जानकारी दिनुभयो ।
सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन गर्नुपर्ने कानुनी प्रावधान रहेकाेछ । सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र दुवै आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्ने हुन्छ।
चैत १० आइतबार,काठमाण्डाै। दक्षिण एसियाली क्षेत्रका कृषकहरु बैङ्कको कर्जा तिर्न नसक्दा धरापमा परेका छन्। दक्षिण एसियाली किसान महासङ्घले काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै किसानले उत्पादनको मूल्य नपाउँदा बैङ्कबाट लिएको कर्जा समेत तिर्न नसकेकाे र पेसाबाटै पलायन हुने अवस्था रहेकाे जनकारी दिएकाे छ ।
महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या भोगिरहेका र यसको समाधान हुनुपर्नेमा जोड दिइएको बताउनु भयाे । साथै हालको कृषि प्रणालीले माटोको स्वास्थ्य र जलवायु परिवर्तनमा असर गरेकाले यसलाई फेर्नुपर्ने जोड दिइएको पनि बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनमा रासायनिकबाट प्राङ्गारिक खेतीमा जानुपर्ने, किसानको शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्नेमा आठै देशका किसान प्रतिनिधिले जोड दिएकाे बताउनुभयाे । साथै दक्षिण एसियाली देशका किसानले सिधै उपभोक्तालाई बेचबिखन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिनुपर्नेमा पनि सम्मेलनले जोड दिएको जानकारी दिनुभयाे ।
सम्मेलन चैत ७ र ८ गते काठमाण्डौमा सम्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।सम्मेलनले २४ बुँदे घोषणापत्र र चार बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
चैत ३ आइतबार,काठमाण्डाै। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल आँखा कार्यक्रम तिलगंगा बिच सहयोग आदानप्रदान सम्बन्धी सम्झौता भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो । यसले आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन सहयाेग मिल्ने विश्वास लिएकाे छ ।
यस सम्झौतामा मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ । साथै तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिकका लागि अधिक छुटमा उपलब्ध गराउने छ । यसैगरी तिलगंगाले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अन्धोपन निवारणका लागि वर्गीकृत दक्ष जनशक्ति उत्पादन गरी ग्रामीण तहसम्म आँखा स्वास्थ्य सेवा पुर्याउनेछ ।
चैत ३ आइतबार,काठमाण्डाै। चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको हो ।
नेपाल पर्यटन बोर्डले यस उडानद्वारा नेपाल र चीनबीचको हवाई सम्पर्क अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास राखेकाे छ । जसले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहजता रहने जानकारी दिनुभयाे।
साथै यसले चीन सरकारले गरेको घोषणा ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले गरेको घोषणा ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
फाल्गुण २९ बिहिबार, काठमाण्डाै । प्रतिकूल मौसमका कारण एक सातादेखि मुलुकको उडान प्रभावित भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएकाे छ ।
उनका अनुसार प्रतिकूल मौसमका कारण अन्तर्राष्ट्रिय हवाई उडान अझ बढी प्रभावित भइरहेको छ । किनकि नेपालमा अहिले प्रि–मनसुनी गतिविधि सक्रिय भइरहेको र वर्षा गराउने मौसमी प्रणालीको विकास भइरहेकाले मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तर्राष्ट्रिय उडानका जहाज होल्ड र मिस एप्रोच हुने गरेको बताउनुभयो ।
त्यसतै उहाँले अन्तर्राष्ट्रिय उडानका जहाज काठमाण्डौ विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘जिरो टु’बाट मात्रै अवतरण गर्नुपर्ने हुन्छ भने आन्तरिक उडानका जहाजलाई लामो रनवे भएकाले दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले त्यतिधेरै समस्या नरहेको जानकारी दिनुभयाे ।
फाल्गुण २९ बिहिबार, काठमाण्डाै । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनाेनीत हुनुभएकाे छ। आचार्यलाई बुधबार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काेषाध्यक्षमा मनाेनीत गरेका हुन्।
उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति र स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् । उनी एक दशकभन्दा बढी समयदेखि महासंघमा नै आबद्ध रहदै आएका छन् ।
यस अघि महासंघको कोषाध्यक्ष नीरक केसी हुनुहुन्थ्याे ।
फाल्गुण २९ बिहिबार, काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले समाजमा रहेका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा मिलाेस भनी शुभकामना व्यक्त गर्नुभयो ।
होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन पर्वले योगदान पुर्याउने विश्वास रहेकाे बताउनुभयाे ।
उहाँले यस पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास लिएको छु बताउनुभयाे ।
होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने गरिन्छ । काठमाण्डाैकाे वसन्तपुर मा रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।
फाल्गुण २८ बुधबार, काठमाण्डाै । देशका विभिन्न क्षेत्रमा गड्याङ्गुडुङ सहित वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको छ ।
मौसमविद् गोविन्द झा का अनुसार काठमाण्डाैमा पनि गड्याङ्गुडुङसहित अहिले वर्षा भइरहेको छ । पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको जसले गर्दा दैनिकी सकेर घर फर्कन लागेका नागरिकहरू प्रभावित भएका छन् ।
आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ ।
फाल्गुण २७ मंगलबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.२१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो ।
नेप्से आज एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को बिन्दुमा कायम भएको छ ।
आज तीन सय तीन कम्पनीको एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।
त्यस्तै कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५८ करोड ६५ लाख १७ हजार बराबरको कारोबार भएको छ । साथै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै महालक्ष्मी विकास बैङ्क लिमिटेडको नौ लाख ९१ हजार चार सय ४४ कित्ता शेयर किनबेच भएको छ।
फाल्गुण २७ मंगलबार, काठमाण्डाै । साफ यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन् । काठमाण्डौको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल र भारत समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा भारतसँगै श्रीलङ्का पनि रहेकाे छ ।
समूह ‘ए’ मा भने साविक विजेता बङ्गलादेश, माल्दिभ्स र भुटान छन् । यस प्रतियोगितामा पाकिस्तान सहभागी हुने छैन ।
भारतको उत्तराञ्चल प्रदेशमा हुने उक्त प्रतियोगितामा कुल छ देश सहभागी हुने छन् । उक्त खेल अगामी मे ९ देखि १८ तारिख सम्म हुनेछ ।
फाल्गुण १८ आईतबार, काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब सरकारी अस्पतालले स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताउनुभयाे । इलाम अस्पतालको अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अनिवार्य रुपमा हुनुपर्ने बताउनुभएको हो ।
उहाँले अब चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट सरकारी अस्पताललाई नभएको बताउनुभयाे । साथै सरकार तथा स्वास्थ्य बिमा बोर्डले ताेकिएका ९८ प्रकारका औषधि अस्पतालमा अनिवार्य राख्न पनि आग्रह गर्नुभयो । उहाँले बिमा व्यवस्थापनमा केही समस्या भए पनि यसलाई सुधार गर्दै लैजान लागेको बताउँनुभयाे।
स्वास्थ्यमन्त्री पौडेलले चिकित्सकहरु सुगममा बस्न रुचाउने हुँदा दुर्गम जिल्लामा दरबन्दीअनुसारकाे नरहेकाे पाइएकाे छ। अब सरकारले जसलाई जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गरिने पनि बताउनुभयो ।
उहाँले अस्पताल तथा स्वास्थ्य चौकीहरूले पूर्वाधार र औजारका विषयमा आवश्यक्ता अनुसार मात्र मन्त्रालयमा माग गर्नुपर्ने बताउनुभयो । आवश्यकताअनुसार माग भए सम्बोधन गर्न सकिने उहाँको भनाइ छ । स्वास्थ्य चौकीमा एमआरआई र सिटी माग्दा हाल सम्बोधन गर्न नसकिने पनि बताउनुभयाे।
फाल्गुण १८ आईतबार, काठमाण्डाै । गृहमन्त्री रमेश लेखकले सरकार पाथीभरा केबलकार निर्माणमा आन्दोलनरत पक्षको मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउनुभयाे ।
साथै राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले पाथीभरा केबलकार निर्माणका आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन पनि अपिल गर्नुभयो ।
फाल्गुण ११ आईतबार, काठमाण्डाै । काठमाण्डाै-तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेकोछ ।
नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा कुल ७०.९७७ किमी दूरीको उक्त आयोजना अन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेकाे आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिनुभयाे।
उहाँका अनुसार अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्व तयारीका कार्य भइरहेको विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षा अनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको पनि बताउनुभयो ।
साथै आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद पनि टुङ्गि नसकेको बताउनुभयाे । उनले राजधानीबाट तराई जोड्ने छोटो दूरीको उक्त आयोजना सम्पन्न भएपछि मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने पनि बताउनु भयो।
प्रमुख शाहका अनुसार नेपाली सेनाको व्यवस्थापनमा अघि बढाइएको राष्ट्रिय गौरवका आयोजनामध्ये याे पनि एक सर्वाधिक महत्व बोकेको आयाेजना हाे। त्यसैले नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा यसलाई सम्पन्न गर्ने लक्ष्य लिएको पनि बताउनुभयो ।
फाल्गुण ११ आईतबार, काठमाण्डाै । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीच भएको खेल रोमाञ्चक रुपले बराबरीमा टुङ्गिएको छ । काठमाण्डाैकाे दशरथ रङ्गशालामा जारी उक्त खेलमा दुबै देशकाे तर्फबाट २-२ गाेल हानेकाे थियाे ।
घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमारले खेलकाे छैटौँ मिनेटमा गोल गरेको थियो । साे गोल म्यानमारका म्याट नोइ खिनले गरेकी थिइन् । त्यस लगतै नेपालकाे तर्फबाट खेलको ११ औँ मिनेटमा सविता रानामगरले गोल गरिन् ।
त्यस्तै म्यानमारलका लागि मे टेट लुले नेपालविरुद्ध खेलको १७औँ मिनेटमा अर्काे गोल गरिन। त्यसकाे जवाफमा खेलको ४१औँ मिनेटमा नेपालकाे तर्फबाट प्रीति राईको उत्कृष्ट पासमा सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरि बराबरीमा ल्याएकाे थियाे । योसँगै पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएकाे थियाे । पहिलो हाफपछि दुवै टिमले कुनै गोल गर्न सकेनन् ।
माघ २० आइतबार काठमाण्डाै। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गर्नुभएको छ ।
अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिएअनुसार सिंहदरबारमा आज भएको भेट वार्तामा नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग अध्यक्ष दाहालले जोशीको रिहाइका साथै इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन पनि आग्रह गर्नुभएको थियाे ।
भेटमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयाे । साथै उहाँले विपिनका बुवा लगायत परिवारका सदस्यलाई पनि भेटेको बताउनुभयो ।
माघ २० आइतबार काठमाण्डाै। हरेक वर्ष झै माघ शुक्ल पञ्चमीका दिन ‘श्रीपञ्चमी’काे अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरेर मनाइयाे । आजका दिन विद्या, ज्ञान प्राप्तिको कामना गर्दै विधिपूर्वक देवीको पूजा, आराधना गरिने गर्छ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । साथै सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
यस दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । त्यसैले बिहानैदेखि लाजिम्पाटस्थित नील सरस्वतीस्थान, स्वयम्भूस्थित सरस्वती मन्दिर, ललितपुर लेलेस्थित सरस्वती कुण्डलगायत राजधानीका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको थियो ।
माघ १८ शुक्रबार काठमाण्डाै। सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदमा बसेकाे बैठकले निर्णय गरे अनुसार आगामी वर्षको वैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याइने भएकाेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को माघ १५ गतेकाे निर्णय सार्वजनिक गर्दै बालबालिकासम्बन्धी ऐन बमोजिम काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाहरुको समेत प्रादेशिक क्षेत्राधिकार रहनेगरी भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेकाे बताउनुभयाे।
माघ १६ बुधबार काठमाण्डाै। गृहमन्त्री रमेश लेखकले सहिदहरूले देखाएको बाटोमा अघि बढ्नु राष्ट्रिय दायित्व रहेकाे बताउनु भयाे । राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित समारोहमा उहाँले देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै सहिदका सपनाहरु पुरा गर्नुपर्ने बताउनुभयो ।
गृहमन्त्री लेखकले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो भन्दै सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट यसको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकार नागरिकको पक्षमा रहेको भन्दै कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । साथै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्न सबै राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेकाे बताउनुभयाे । उँहाले लोकतन्त्रको रक्षा गर्दै सहिदहरूको बलिदानलाई सार्थक तुल्याउने कार्यमा सहकार्य गर्न सबैमा आह्वान पनि गर्नुभयो ।
माघ ५ बार, शनिबार काठमाण्डाै। आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट खेलमा बङ्गलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गी युकेएम ओभल क्रिकेट मैदानमा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५३ रनको लक्ष्य दिएकाे थियाे जसलाइ बङ्गलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेकाे थियाे ।
बङ्गलादेशका लागि सादिया इस्लामले १६ रन, सुमैया अत्तरले १२ र अफिया अशिमा इराले ९ रन जोडेकी थिइन । बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिएका थिए।
नेपालले दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ । नेपाल प्रतियोगिताको समूह ‘डी’मा रहेको छ र सुपर–६ मा पुग्न एउटा खेल कम्तीमा जित्नुपर्ने हुन्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।
पाैष २५ बिहिबार, काठमाण्डाै। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.१४ अङ्कले घटेर २६३५.०९ विन्दुमा कायम भएको छ। आज ५५ कम्पनीको शेयर मूल्य बढेको छ, भने एक सय ८० कम्पनीको शेयर मूल्य घटेको र सात कम्पनीको शेयर मूल्य स्थिर रहेकाे छ ।
त्यस्तै तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर , ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ ।
पाैष २५ बिहिबार, काठमाण्डाै। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतका स्रेस्तेदार राजन खनालका अनुसार न्यायाधीश नितिज राईको इजलासले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादीहरु सभापति लामिछाने सहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हाे ।
खनालका अनुसार इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको बताउनुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते सहकारीको रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने सहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
पाैष १० बुधबार, काठमाण्डाै। लुम्बिनी कप राष्ट्रिय महिला फुटबल आगामी फागुन १९ गते देखि नेपालगञ्जमा हुने भएकाे छ । उक्त फुटबल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।
लुम्बिनी कपको लोगो मङ्सिर १६ गते सार्वजनिक गरिएकाे थियो जसमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झन्डाको रङ्ग निलो र सिम्रिक रातो प्रयोग गरिएको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लुम्बिनी कप महिला फुटबल सञ्चालनको लागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बताउनुभयाे । उहाले यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू जन्माउने विश्वास व्यक्त गर्नुभयाे । साथै बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको पनि बताउनुभयो ।
पाैष १० बुधबार, काठमाण्डाै। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । साथै युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ । त्यस्तै स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ ।
दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा पनि रहेको छ ।
पाैष १० बुधबार, काठमाण्डाै। राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताउनुभयाे । क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको हाे ।
हरेक वर्ष डिसेम्बर २५ तारिखमा जिसस क्राइस्टको जन्मदिनमा इसाई धर्मका अनुयायीद्वारा धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाइदै आएकाे छ । यस अवसरमा काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै मनाइँदै छ ।