कार्तिक ५ शनिबार, काठमाण्डाै । मङ्सिरमा नेपथ्य ब्यान्डकाे लाइभ कन्सर्ट अब १० शहरमा हुने भएकाे छ । विगत तीन दशक देखि यस ब्यान्डले सङ्गीतको माध्यमबाट सकारात्मक परिवर्तनकालागि सक्रिय भइ कार्य गर्दै आएकाे छ । यसपटक पनि नेपथ्य ब्यान्ड र मानव सेवा आश्रम बिच सहकार्यमा कार्यक्रम हुने भएकाे हाे । सडकमा अलपत्र परेर बेसहारा जिबन बिताइ रहेका नागरिकको उद्धार गर्दै आइरहेको मानव सेवा आश्रमकाे निर्माणाधीन भवन सम्पन्न गर्न र बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गरिने भएको हाे । आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उक्त लाइभ कन्सर्ट विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाण्डाैको भृकुटीमण्डपमा आयोजना गरिने भएकाे छ। हाल उक्त कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको पनि बताउनु भयाे ।
अध्यक्ष अधिकारीले विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिइ पहल भइरहेको बताउनु भयाे । हाल आश्रमको संरक्षणमा एक हजार पाँच सय बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त व्यक्तिहरुले संरक्षण पाइरहेका छन् । यस साङ्गीतिक यात्रा कार्यक्रमले संस्था र यसमा आश्रित रहेकाहरुकाे लागि राहत मिल्ने आशा लिइएकाे छ ।आउदाे मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट यस साङ्गीतिक यात्रा कार्यक्रम सुरु हुने भएकाे छ । त्यस्तै मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल मैदान, २५ गते चितवनको क्याम्पाचौर, २९ गते नेपालगञ्ज रङ्गशाला, आगामी पुस ३ गते धनगढी रङ्गशाला, पुस ६ गते सुर्खेतको खुलामञ्च, पुस ९ गते बुटवलको कालिका मानव ज्ञान मावि, १२ गते पोखरा रङ्गशालामा तथा कन्सर्टको अन्तिम कार्यक्रम पुस १६ गते काठमाण्डाैको भृकुटीमण्डपमा हुने भनिएकाे छ ।

