माघ १८ शुक्रबार काठमाण्डाै। सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदमा बसेकाे बैठकले निर्णय गरे अनुसार आगामी वर्षको वैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याइने भएकाेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को माघ १५ गतेकाे निर्णय सार्वजनिक गर्दै बालबालिकासम्बन्धी ऐन बमोजिम काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाहरुको समेत प्रादेशिक क्षेत्राधिकार रहनेगरी भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेकाे बताउनुभयाे।
माघ १६ बुधबार काठमाण्डाै। गृहमन्त्री रमेश लेखकले सहिदहरूले देखाएको बाटोमा अघि बढ्नु राष्ट्रिय दायित्व रहेकाे बताउनु भयाे । राष्ट्रिय सहिद दिवसका अवसरमा सङ्घीय सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित समारोहमा उहाँले देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै सहिदका सपनाहरु पुरा गर्नुपर्ने बताउनुभयो ।
गृहमन्त्री लेखकले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो भन्दै सबैले सहमति, समन्वय र सहकार्यका माध्यमबाट यसको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै जानुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकार नागरिकको पक्षमा रहेको भन्दै कानुनी शासन स्थापना सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । साथै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्न सबै राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेकाे बताउनुभयाे । उँहाले लोकतन्त्रको रक्षा गर्दै सहिदहरूको बलिदानलाई सार्थक तुल्याउने कार्यमा सहकार्य गर्न सबैमा आह्वान पनि गर्नुभयो ।
माघ ५ बार, शनिबार काठमाण्डाै। आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट खेलमा बङ्गलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गी युकेएम ओभल क्रिकेट मैदानमा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५३ रनको लक्ष्य दिएकाे थियाे जसलाइ बङ्गलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेकाे थियाे ।
बङ्गलादेशका लागि सादिया इस्लामले १६ रन, सुमैया अत्तरले १२ र अफिया अशिमा इराले ९ रन जोडेकी थिइन । बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एक/एक विकेट लिएका थिए।
नेपालले दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ । नेपाल प्रतियोगिताको समूह ‘डी’मा रहेको छ र सुपर–६ मा पुग्न एउटा खेल कम्तीमा जित्नुपर्ने हुन्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।
पाैष २५ बिहिबार, काठमाण्डाै। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.१४ अङ्कले घटेर २६३५.०९ विन्दुमा कायम भएको छ। आज ५५ कम्पनीको शेयर मूल्य बढेको छ, भने एक सय ८० कम्पनीको शेयर मूल्य घटेको र सात कम्पनीको शेयर मूल्य स्थिर रहेकाे छ ।
त्यस्तै तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयर , ७३ हजार तीन सय नौ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ ।
पाैष २५ बिहिबार, काठमाण्डाै। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतका स्रेस्तेदार राजन खनालका अनुसार न्यायाधीश नितिज राईको इजलासले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादीहरु सभापति लामिछाने सहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हाे ।
खनालका अनुसार इजलासले सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाइलाई रू ३७ लाख, मीना गुरुङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरुङलाई रु पाँच लाख र कृष्णबहादुर गुरुङलाई रू एक लाख धरौटी माग गरेको बताउनुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते सहकारीको रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने सहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
पाैष १० बुधबार, काठमाण्डाै। लुम्बिनी कप राष्ट्रिय महिला फुटबल आगामी फागुन १९ गते देखि नेपालगञ्जमा हुने भएकाे छ । उक्त फुटबल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।
लुम्बिनी कपको लोगो मङ्सिर १६ गते सार्वजनिक गरिएकाे थियो जसमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध र महिला फुटबल खेलाडीको इमेज राखिएको छ भने नेपाली राष्ट्रिय झन्डाको रङ्ग निलो र सिम्रिक रातो प्रयोग गरिएको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लुम्बिनी कप महिला फुटबल सञ्चालनको लागि २०८१ फागुन १९ देखि २९ गतेको समय दिएको बताउनुभयाे । उहाले यस प्रतियोगिताले बाँके र यस क्षेत्रमै नयाँ प्रतिभाहरू जन्माउने विश्वास व्यक्त गर्नुभयाे । साथै बाँके जिल्ला फुटबल संघ लुम्बिनी कपलाई सफल पार्न जुटिसकेको पनि बताउनुभयो ।
पाैष १० बुधबार, काठमाण्डाै। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । साथै युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ । त्यस्तै स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ ।
दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा पनि रहेको छ ।
पाैष १० बुधबार, काठमाण्डाै। राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताउनुभयाे । क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको हाे ।
हरेक वर्ष डिसेम्बर २५ तारिखमा जिसस क्राइस्टको जन्मदिनमा इसाई धर्मका अनुयायीद्वारा धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाइदै आएकाे छ । यस अवसरमा काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिँदै मनाइँदै छ ।
मंसिर १८ मंगलबार, काठमाण्डाै। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ ।
दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै एक सय २३ रन बनाएकाे थियो । नेपालले एक सय २४ रनको लक्ष्य ४१ दशमलव तीन ओभरमा नौ विकेट गुमाएर पुरा गरेकाे थियाे ।
नेपालका लागि नरेन साउदले सर्वाधिक २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान नौ/नौ तथा सन्तोष यादवले सात रन बनाएकाे थियाे । साथै खेलमा नेपालले १२ अतिरिक्त रन प्राप्त गरेकाे थियाे ।
मंसिर १८ मंगलबार, काठमाण्डाै। चीन सरकारद्वारा नेपाललाई पाँच सय मिलियन आरएमबी करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गर्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभयो ।
सहसचिव ढकालका अनुसार राष्ट्रपति सीले नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएकोले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताउनुभयो । साथै नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे बताउनुभयाे ।
कार्तिक २८ बुधबार, काठमाण्डाै। विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशन अनुसार वक्यौता बुझाउनु नत्र प्रक्रिया अनुसार प्राधिकरण अघि बढ्ने बताउनुभयाे ।
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुले वक्यौता नतिरे उद्योगहरूको लाइन पुन काटिदिने बताएका छन् ।
निर्देशक घिसिङका अनुसार प्राधिकरणले बक्यौता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीहरूले त्यसको सदुपयोग नगरेको जानकारी दिनुभयाे । प्राधिकरणले खपत अनुसारको बिल उद्योगलाई दिएको स्पष्ट पार्दै कार्यकारी निर्देशकले अहिले प्रिमियम शुल्क मात्रै उठाउन खोजिएको जानकारी दिनुभयो ।
कार्तिक २८ बुधबार, काठमाण्डाै। नेपाल स्टक ब्रोकर एसोसिएसन र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल एक आपसमा मर्ज भएका छन। आज आयोजित एक कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभएकाे थियो ।
धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालका अनुसार दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालनमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्ने बताउनुभयो ।
त्यस्तै स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले एकीकृत प्रयासले पुँजी बजारको विकास र विस्तारमा महत्त्वपूर्ण सहयोग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्तिक २८ बुधबार, काठमाण्डाै। नेपाल आईसिसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स(युएई) को अजमानमा भएको खेलमा घरेलु टोली युएई लाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।
टस हारेर ब्याटिङ गरेकाे घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको जाेडेकाे थियो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।
नेपालको तर्फबाट ओपनर साना प्रवीणले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पूजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । त्यस्तै ओपनर सावित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रिनले १९ बलमा नट आउट १३ रन जोडिन् ।
यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुअरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डसँगै रहेको छ । विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बङ्गलादेश विरुद्ध रहेको छ ।
भाद्र २६ बुधबार, काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले खेलबाट नेपाल क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभयाे। राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले बताउनु भएकाे हाे ।
उहाँले नेपालले पछिल्ला समयमा खेलबाट अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवर्द्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनुभयो । पलेसालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाई छिट्टै दिइने बताउनुभयो । साथै सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भनि शुभकामना दिनुभयाे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्टता हासिल गर्ने खेलाडीहरूलाई सम्मान गरिएको थियो।
भाद्र २४ साेमबार, काठमाण्डाै। नेपालले आइसिसी विश्वकप लिग–२ को पहिलो खेल घरेलु टोली क्यानडासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघले सोमबार सार्वजनिक गरेको तालिका अनुसार यो खेल सेप्टेम्बर १६ मा हुनेछ ।
यस लिगमा नेपाल, क्यानडा र ओमानले खेल खेेल्ने छन् । यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानडा र २४ मा ओमानको सामना गर्नेछ ।
नेपालले पहिलो शृङ्खला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृङ्खलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।
भाद्र २३ आइतबार, काठमाण्डाै। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सहकारी ऐनमा स्वनियमनले परिणाम नदिँदा सहकारीमा विकराल अवस्था आएको बताउनुभयाे । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिकाे छलफल क्रममा अर्थमन्त्री पौडेलले सहकारीको ऋण तिर्दिन भनेर अभियान चलाउनेमाथि सरकारले छुट नदिने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र समाजवाद उन्मुख मिश्रित रहेको भन्नुहुँदै सार्वजनिक, निजी र सहकारीलाई संविधानमा व्यवस्थित गरिएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय केही सहकारीले अपारदर्शी रुपमा रकम अपचलन र दुरुपयोग गर्दा समस्या उत्पन्न भएको बताउनुभयो ।
समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले सहकारीको हिसाबले भन्दा पनि निजी क्षेत्रका हिसाबले चल्न खोज्दा समस्या भएको बताएको जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रलाई दोस्रो नियमन निकाय बनाएर प्रभावकारी रुपमा हेर्नुपर्ने बताउनुभयो ।
भाद्र १७ साेमबार, काठमाण्डाै। देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजार तीन सय ४७ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार छ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिनुका साथै तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।
महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेक सबै जिल्लामा देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ ।
महाशाखाका अनुसार डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ जनामा देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छ।
वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
भाद्र १६ आइतबार, काठमाण्डाै। आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।
भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किएको टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।क्यानका अनुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ ।
टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् ।त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् ।
भाद्र १६ आइतबार, काठमाण्डाै। अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुनअनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्ने बताउनुभयाे ।
दुइ मध्ये पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नुहुनेछ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख रहेकाे छ।
भाद्र १६ आइतबार, काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बालमन्दिर)का देशभर रहेका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बालमन्दिरका पदाधिकारी सँग आज भएको छलफलमा उहाँले सङ्गठनकाे जमिन, भवन र सम्पत्तिको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम चाल्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले बाल मन्दिरका जग्गा कसैले अतिक्रमण गरेको वा नियम बमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्ने र धनी पुर्जाबिना लामो समयदेखि सङ्गठनले भोगाधिकार लिँदै आएको जग्गा सङ्गठनकै नाममा ल्याइनुपर्ने बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन र गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितताका लागि आग्रह गर्नुभयो ।
उक्त छलफलमा नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतम लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेेकाे थियाे ।
भाद्र १५ शनिबार, काठमाण्डाै। नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ । गृहमन्त्री रमेश लेखकले कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको उद्घाटन गर्नुभएकाे हाे ।
गृहमन्त्री लेखकले विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारको रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने जानकारी दिनुभयो ।
कारागार भवन उद्घाटनको कार्यक्रममा कानून न्याय तथा मानव अधिकार समितिका सभापति बिलमा सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, महान्यायधिवक्ता रमेश बडाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र सिता मिजार, निमित्त गृहसचिव नारायणप्रसाद भट्टराई लगायतका व्यक्तिहरु उपस्थित थिए ।
भाद्र १५ शनिबार, काठमाण्डाै। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पाैडी खेलाडीको भविष्य उज्ज्वल बनाउन पौडी खेलको विकास र विस्तार गर्नुपर्ने बताउनुभयाे । नेपाल पौडी सङ्घले सातदोबाटोमा आयोजना गरेको पाँच दिने प्रशिक्षक प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले बताउनुभएकाे हाे ।
पूर्वमन्त्री बस्नेतले पौडी जस्तो स्वास्थ्यका लागि महत्वपूर्ण खेललाई नेपालका ७७ वटै जिल्लामा शाखा विस्तार गरिनुपर्ने र पौडी क्षेत्रका प्रशिक्षक र खेल पूर्वाधार विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे ।
सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले सङ्घले यस क्षेत्रका खेलाडीको क्षमता अभिवृद्धिका साथै संरक्षणका लागि ध्यानपूर्वक लागिरहेको बताउनुभयो । त्यस्तै सङ्घका महासचिव ईश्वर कार्कीले दिनहुँ पौडी खेल्न सक्दा मुटु र फोक्सो स्वस्थ रहने जानकारी गराउनुभयो ।
भाद्र १५ शनिबार, काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिनुभएको हो ।
पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।
पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
भाद्र १३ बिहिबार, काठमाण्डाै। नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहिबार बसेकाे बैठकले अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
भाद्र १३ बिहिबार, काठमाण्डाै। शेयर कारोबार मापक नेप्से परिसूचक आज ३६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.८३ अङ्कले ओरालो लागेर २७४९.५७ मा ओर्लेको हाे ।
कूल १३ उपसमूह कारोबार भएकाेमा आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएकाे छ भने एक उपसमूहको मात्रै शेयर मूल्यमा बृद्धि भएको छ । कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर रु १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै रसुवागढी हाइड्रोपावर ९.९९, मिड सोलु हाइड्रोपावर ८.४८, मितेरी डेभलपमेन्ट बैङ्क ७.८९ र पिपल्स हाइड्रोपावर ७.६२ प्रतिशतले वृद्धि भएकाे छ।
यस्तै थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर ५.०८, तारागाउँ रिजेन्सी होटल ४.९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाएका छन् ।
भाद्र १३ बिहिबार, काठमाण्डाै। राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
सो विधेयक सङ्घीय संसद्काे दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको थियाे।
भाद्र १३ बिहिबार, काठमाण्डाै। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा बङ्गलादेशले नेपाललाई ४–१ ले पराजित गर्दै विजयी भएकाे छ । सातदोबाटो स्थित एन्फा मैदानमा बुधबार भएको साफ यु–२० को फाइनलमा नेपाललाई हराउँदै बङ्गलादेशले उपाधि जितेको हो ।
बङ्गलादेशले उमेर समूहको प्रतियोगितामा पहिलो पटक उपाधि जितेकाे हो । नेपालले सन् २०१५ र २०१७ मा उपाधि जितेको थियाे भने तेस्रोपटक उपाधि जित्न चुकेको छ ।
बङ्गलादेशकाे तर्फबाट खेलमा मिराजुल इस्लामले दुई तथा रब्बी हुसेन र अहमेद नोभनाले समान एक गोल गरेकाे थियाे । नेपालकाे लागि समीर तामाङले एक गोल गरेका थिए ।
नेपालले समूह चरणमा बङ्गलादेशलाई २–१ ले हराएको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का र माल्दिभ्सको सहभागिता रहेकाे थियो ।
भाद्र ९ आइतबार, काठमाण्डाै। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध र उखु किसानलाइ दशैँअघि नै भुक्तानी दिइने बताउनु भयाे । मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले दुग्ध र उखु कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेकाे जानकारी दिनुभयाे ।
उहाँले बजारको अभावमा किसानलाइ परेकाे समस्या अन्त्य गरिने पनि प्रतिबद्धता जनाउनुभयो । अब सरकारले स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताउनुभयाे ।
उहाँले व्यावसायिक खेतीमा युवा आकर्षण बढाइने र वडास्तरमा कृषिका नमूना फार्म निर्माण गरेर त्यसलाई सिकाइ केन्द्रका रुपमा स्थापित गरिने बताउनुभयाे । साथै दुग्ध विकास संस्थानको पुनः संरचना गर्न , उखु किसानलाई भुक्तानी गर्न र बीमा प्रिमियमका लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको पनि जानकारी दिनुभयाे ।
भाद्र ९ आइतबार, काठमाण्डाै। अविरल वर्षाका कारण बाढीपहिरोमा परि मृत्यु हुनेकाे संख्या दुई सय तीन पुगेकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म दुई सय तीन जनाको मृत्यु भइसकेकाे बताउनुभयाे ।
बाढी पहिरो लगायत विपद्मा परी काठमाण्डौ उपत्यकामा तीन, कोशी प्रदेशमा २८, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १६ गरी दुई सय तीन जनाको मृत्यु भएको छ ।
उहाँकाअनुसार बाढीपहिराका कारण काठमाण्डौ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ६२ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ५१ जना घाइते भएका छन् ।
भाद्र ९ आइतबार, काठमाण्डाै। नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएकाे खेलमा नेपालले भुटानलाइ ४–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानकाे तर्फबाट जेत्सन दोर्जीले र नेपालका लागि निराजन धामीले गोल गरेका थिए ।
टाई ब्रेकरको पहिलो प्रहारमा नेपालका तर्फबाट राम थापाले गाेल गरे भने भुटानका लागि जेत्सन दोर्जीले गोल गरे । नेपालकाे तर्फबाट दोस्रो गाेल अभिनाश स्याङतान, तेस्रो गोल सेमन्त थापा र चौथो गाेल जियारत शेखले गरे भने भुटानकाे तर्फबाट अन्य गाेल हुन सकेन।
सोमबार भारत र बङ्गलादेश सेमिफाइनल खेल्नेछन् । फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुनेछ ।
भाद्र ८ शनिबार, काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको लागि सरकारसँग आशा गर्न र भर पनि पर्न आग्रह गर्नुभएको छ । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आयोजित ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको बताउनुभयाे।
प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म सोचे जसरी देशमा विकासको गति अघि बढाउन नसकिने र युवा नै देश निर्माणका सम्पूर्ण शक्ति भएको बताउनुभयो । अनुकूल वातावरण भए विदेशमा रहेका नेपाली युवा पनि स्वदेश फर्कने बिश्वास व्यक्त गर्नु भयाे ।
उहाँले युवालाई स्वदेशमै शिक्षा र रोजगारीका अवसरमा जोड्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै सरकारले स्टार्टअपका कार्यक्रम सुरु गरेको र निजी क्षेत्रबाट पनि १० हजारभन्दा बढी रोजगारीका अवसर सृजना गर्ने बताउनुभयाे ।
भाद्र ८ शनिबार, काठमाण्डाै। तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शव भारत पठाइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शनिबार भारतबाट भरतपुर आएकाे भारतीय सेनाकाे विमानमा २५ जनाकाे शव र सडकमार्गबाट दुई जनाको शव गोरखपुर पठाइएको बताउनुभयाे । दुर्घटनामा मृत्यु भएका २७ जनाको शव भरतपुर अस्पतालमा पोष्टमार्टम गरेकाे थियाे ।
दुर्घटनामा घाइते भएका १६ जनालाई शुक्रबार नै हेलिकप्टर मार्फत काठमाण्डौ ल्याइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जनाएको अनुसार मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका हुन् ।
भाद्र ८ शनिबार, काठमाण्डाै। नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानको सामना गर्ने भएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार साविक भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे हाे। भारतले दुई खेलमा जितसँगै ६ अङ्क जोडी समूह ‘बी’ को विजेता बनेकाे छ । दुवै खेलमा पराजित माल्दिभ्स अङ्कविहीन हुँदै बाहिरिएकाे छ ।
नेपाल समूह ‘ए’ बाट विजेता र भुटान समूह ‘बी’ को उपविजेता हाे । समूह चरणमा नेपालले दुवै खेलमा जित हासिल गर्याे भने भुटानले एक जित र एक हार ब्यहाेरेकाे छ । समूह ‘ए’ को श्रीलङ्का अङ्कविहीन हुँदै बाहिरिएकाे थियाे ।
भाद्र ८ शनिबार, काठमाण्डाै। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।
विभागका अनुसार बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ । देशभर आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशभर आज राति आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
भाद्र ६ बिहिबार, काठमाण्डाै। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई हराएकाे छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो । नेपालको दुई खेलमा ६ अङ्क भएको छ ।
यस हारसँगै बङ्गलादेश पनि समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेशले तीन अङ्क बटुलेको छ । श्रीलङ्का भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएकाे छ।
नेपालको तर्फ समिर तामाङ र निराजन धामीले एक/ एक गोल गरेकाे थियाे । त्यस्तै बङ्गलादेशका लागि मिराजुल इस्लामले पेनाल्टीमार्फत एक गोल गरेकाे थियो ।
भाद्र ६ बिहिबार, काठमाण्डाै। राष्ट्रियसभाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकाे छ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित भएको हाे ।
बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले १२ बुँदे विस्तृत शान्ति सम्झौता हुँदै गणतन्त्र घोषणा र नयाँ संविधान जारी गरेर शान्ति प्रक्रियाका बाँकी विषयलाई टुङ्गोमा पुर्याउनु ऐतिहासिक भएको बताउनुभयो । साथै नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले सशस्त्र द्वन्द्वका बेला बेपत्ता तथा घाइते भएका र आम नेपाली जनताको योगदानबाट प्राप्त उपलब्धिलाई कहीँ कतैबाट आक्रमण हुन नदिन अझै राजनीतिक दलहरुबीच विश्वासको वातावरण कायम हुनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरु बामदेव गौतम, महमद खालिद, तुल प्रसाद विश्वकर्मा लगायतले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउन यस विधेयकले भूमिका खेल्ने भन्दै यो ऐतिहासिक भएको बताउनुभयो ।
भाद्र ६ बिहिबार, काठमाण्डाै। नेपाल सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ मा रहेकाे प्रतिबन्ध हताइने निर्णय गरेकाे छ । मन्त्रिपरिषदको आज बसेको बैठकले टिकटकमा रहेकाे प्रतिबन्ध हताइने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।
टिकटकको प्रयोग गरेर विकृति बढेको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कात्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।
टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले नेपालको कानुनबमोजिम चल्न तयार रहेको भन्दै पत्र बुझाएसँगै सरकारले प्रतिबन्ध हटाएको हो ।
भाद्र ६ बिहिबार, काठमाण्डाै। नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिएको ऋण अनुदानमा परिणत गर्न चिनलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै लेखिएकाे पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभएको थियाे ।
उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गर्नुभएको थियो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैङ्कबाट करिब हालको विनिमय दरअनुसार रु २५ अर्ब ८८ करोड ऋण सम्झौता गरेको थियो । विसं २०७२ चैत ८ गते ऋण सम्झौता भई २०७३ साल पुस २७ गतेबाट निर्माण सुरु भएको थियो । विसं २०७९ पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा अर्थ सचिव डा रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायत अन्य विशिष्ट व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो ।
भाद्र ३ साेमबार, काठमाण्डाै। भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालदेखि शुरु भएको हो । एक वर्षयता दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेकाेछ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ । त्यति गर्दा पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिए अनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ । गाईजात्राका अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएकाे छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।
यो पर्व काठमाण्डौ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा लगायतका शहरमा पनि विभिन्न कार्यक्रम गरि मनाइयाे ।
भाद्र ३ साेमबार, काठमाण्डाै। नेपालले द्विपक्षीय सम्झौता गरी भारतकाे विहार र हरियाणामा थप दुई सय ५१ मेगावाट विधुत निर्यात गर्ने भएको छ । विधुत मन्त्रालय अन्तर्गतको केन्द्रीय विधुत प्राधिकरणले हरियाणामा थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारमा एक सय २५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विधुत प्राधिकरणलाई स्वीकृति दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतीय पक्षबाट स्वीकृति पाएसँगै छिट्टै विहार र हरियाणामा थप विधुत निर्यात सुरु गरिने जानकारी दिनुभयो । उहाले स्वीकृत परिमाणको १० प्रतिशत थप विधुत निर्यात गर्न सक्ने क्षमता रहेकाे, थप दुई सय मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको बताउनुभयाे ।
भारतलाई बिक्री गरिने विधुतकाे बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारु) रहेको छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क भने प्राधिकरणले व्यहोर्नुपर्ने छैन ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्खायामको विधुत भारततर्फ निर्यात गर्दै आएको छ । चालु आवमा रु २५ अर्ब बराबरको विधुत निर्यात गर्ने लक्ष्य राखिएको पनि जनाएको छ ।