Author: prayatnayekkoshis

  • निर्वाचन आयोगद्वारा माघ ३ देखि आचारसंहिता लागू गराउन तयारी गरिदै

    निर्वाचन आयोगद्वारा माघ ३ देखि आचारसंहिता लागू गराउन तयारी गरिदै

    पुष २६ शनिबार‚ काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनको हालसम्म भएको प्रगतिका बारेमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ ।

    उहाँका अनुसार निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले के कस्ता गतिविधि गर्न पाउने, राजनीतिक दल तथा सरोकारवालाहरुको भूमिका के कस्तो रहने भन्ने बारेमा आचारसंहितामा प्रष्ट व्यवस्था गरिएको छ ।

    साथै आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका सन्दर्भमा हालसम्म भएको तयारी, निर्वाचन सामग्रीको छपाई, जनशक्ति व्यवस्थापनलगायतका बारेमा प्रधानमन्त्री कार्कीलाई शुक्रबार जानकारी गराउनुभएको थियो ।

    त्यसतै आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहने पनि बताउनुभयाे ।

  • नेवा संस्कृति संरक्षणमा सक्रिय यल नेवा समाजको दोस्रो एजीएम सम्पन्न

    नेवा संस्कृति संरक्षणमा सक्रिय यल नेवा समाजको दोस्रो एजीएम सम्पन्न

    पुष १९ शनिबार‚ काठमाण्डौ । विसं २०८० मा स्थापना भएको यल नेवा समाजको दोस्रो वार्षिक साधारणसभा (एजिएम) तथा निर्वाचन कार्यक्रम ललितपुर महानगरपालिका पुल्चोक स्थित अक्षेश्वर महाविहारमा भव्य रूपमा सम्पन्न भएको छ।

    साधारणसभामा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, पूर्वमन्त्रीहरु प्रेमभक्त महर्जन, रामकृष्ण चित्रकार, र बागमती प्रदेश, ललितपुर क्षेत्र नं. ३ प्रदेशसभा सदस्य रघुनाथ महर्जन तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा यल नेवा समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले नेवा समुदायको सांस्कृतिक धरोहर संरक्षण आजको आवश्यकता भएको भन्दै समाजले खेलेको भूमिकाको प्रशंसा गरेको थियो।

    यल नेवा समाजको मुख्य उद्देश्य नेवा समुदायको मौलिक संस्कृति, भाषा, परम्परा, मठ–मन्दिर, बिहार तथा ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धन गर्नु रहेको छ। साथै, जीर्ण अवस्थामा रहेका धार्मिक तथा सांस्कृतिक संरचनाको मर्मत, पुनर्निर्माण र प्रवर्द्धन गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु पनि समाजको प्राथमिकतामा रहेको छ।

    कार्यक्रममा समाजले आगामी दिनमा सांस्कृतिक कार्यक्रम, सचेतनामूलक अभियान, सम्पदा संरक्षणसम्बन्धी योजना तथा सामाजिक विकासका गतिविधिहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको जानकारी गराइयो।

    कार्यक्रमका क्रममा समाजको नयाँ कार्यसमिति निर्वाचनमार्फत चयन गरिएको थियो । नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूले नेवा समुदायको संस्कृति, पहिचान र ऐतिहासिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचनमार्फत अध्यक्षमा  नानी काजी शाक्य, उपाध्यक्षमा  न्हुक्षे बहादुर नेमकुल, सचिवमा संजय शर्मा राजोपाध्याय, सह–सचिवमा विष्णुलाल सिकर्मी तथा कोषाध्यक्षमा दिपेन्द्र राज शिल्पकार, निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा भिम नारायण नकर्मी, दिपेश मान जोशी, प्रकाश देउला र कृष्णदास कर्माचार्य निर्वाचित भएका छन्।

    अन्त्यमा, नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन गरिएको थियो।

  • गोकर्णमा दुईदिने माउन्टेन बाइक क्रस–कन्ट्री र डाउनहिल टुर्नामेन्ट सम्पन्न

    गोकर्णमा दुईदिने माउन्टेन बाइक क्रस–कन्ट्री र डाउनहिल टुर्नामेन्ट सम्पन्न

    पुष ५ शनिबार‚ काठमाण्डौ । गोकर्णको सहिद स्मारक पार्कमा माउन्टेन बाइकिङका लोकप्रिय विधा क्रस–कन्ट्री (XC) डाउनहिल (DH) अन्तर्गतको दुईदिने पुष ४ र ५ गते टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल साइक्लिङ संघको आयोजनामा भौतिक रूपमा सम्पन्न प्रतियोगितामा दुवै विधा गरी कुल १०० जना भन्दा बढि खेलाडी सहभागी भएका थिए। प्राकृतिक ट्रयाकमा आयोजना गरिएको यस प्रतियोगिताले माउन्टेन बाइकिङ प्रति खेलाडी तथा दर्शकहरुमा अझ आकर्षण बढाएको छ।

    प्रतियोगिताको पहिलो दिन पुष ४ गते क्रस–कन्ट्री विधा अन्तर्गत प्रतिस्पर्धा गरिएको थियो। यस विधामा खेलाडीहरूले लामो दूरी, उकालो–ओरालो, साँघुरा बाटो तथा प्राविधिक खण्डहरू पार गर्दै आफ्नो शारीरिक सहनशीलता, गति र रणनीतिक क्षमता प्रदर्शन गरे। निर्धारित लाप पूरा गर्ने क्रममा खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

    त्यसैगरी, दोस्रो दिन पुष ५ गते डाउनहिल विधा अन्तर्गतको प्रतिस्पर्धा आयोजना गरिएको थियो। तीव्र गति, ढुंगायुक्त ट्र्याक, जम्प, तीखा मोड तथा प्राविधिक अवरोधहरूले भरिएको ट्र्याकमा खेलाडीहरूले समयसँग प्रतिस्पर्धा गरेका थिए। सुरक्षात्मक हेल्मेट, गार्ड र विशेष डिजाइन गरिएका डाउनहिल बाइक प्रयोग गरिएको यस विधाले दर्शकहरूलाई अत्यन्तै रोमाञ्चक अनुभव प्रदान गरेको थियो।

    डाउनहिल विधातर्फ का विजयी खेलाडीकाे तालिका –

    श्रेणीप्रथमदाेश्राेतेश्राे
    मेन युथराेनिक्स हाङप्रतिक पाेखरेलपुष्कर रेग्मी
    मेन जुनियरदिपसागर तामाङआरभ श्रेष्ठकबिर खड्का
    मेन मस्टरम‌ंगल कृष्ण लामाधनजित राईगाैरव श्रेष्ठ
    वुमन ईलाइटउषा खनालइन्द्रकुमारी तामाङ
    मेन ईलाइटराजेश मगरनिरभ श्रेष्ठप्रचित थापा मगर

    नेपाल साइक्लिङ संघका अध्यक्ष सुदिप पौडेलका अनुसार, यस प्रतियोगिताको मुख्य उद्देश्य माउन्टेन बाइकिङ खेलको प्रवर्द्धन गर्नुका साथै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नु हो। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई प्रोत्साहन गर्ने र नेपालमा साहसिक खेलकुदको विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ। यस प्रतियोगिताका विजयी प्रतिस्पर्धीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष दिपक रिसालले यस प्रकारको राष्ट्रिय प्रतियोगिता आफ्नो नगरपलिकामा सफलतापुर्वक सम्पन्न गराउन पाएकोमा गौरवान्वित महशुस गरेको बताउनुभयो। साथै उहाँले नगरपलिकाको तर्फबाट विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्ने‚ नगद पुरस्कारका लागि नगरपालिकाले ५ लाख छुट्याएको समेत जानकारी दिनुभयो।अझ भविश्यमा यसप्रकारका खेलहरु आयोजना गर्ने सधै नगरपालिका तयार रहेको बताउनुभयो ।

    दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप सफल बनाएको आयोजकले जनाएको छ। आगामी दिनमा अझ व्यवस्थित र ठूला स्तरका माउन्टेन बाइकिङ प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी पनि आयोजक पक्षले दिएको छ।

    यस प्रतियोगिता आयोजनाका लागि सहयोगी संस्थाहरूमा गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, स्राम, काठमाण्डौ बाइक स्टेशन, ट्रायल बिल्डर्स नेपाल, शहीद स्मारक र शान्ति पार्क, नेपाल पर्यटन बोर्ड, नेपाली चुलो रेस्टुरेन्ट र प्रो स्पोर्टस लगायतका संस्थाहरू रहेका छन्।

  • नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुँदै

    नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुँदै

    पुष १ मंगलबार‚ काठमाण्डौ । नेपालमा साइक्लिङ खेलको प्रवर्धन एवं विकासका लागि नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप २०२५ सञ्चालन हुने भएको छ। नेपाल साइक्लिङ संघले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप पुस ४ र ५ गते (डिसेम्बर १९-२०) मा आयोजना हुने जानकारी गराएको हो। संघले जनाएअनुसार यो प्रतियोगिता काठमाण्डौको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको शहीद स्मारक पार्कमा आयोजना हुने भएको छ।

    संघका अध्यक्ष सुदिप पौडेलले जानकारी दिएअनुसार प्रतियोगिता डाउनहिल र क्रसकन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने छ । च्याम्पियनसिपमा डाउनहिलमा ५० जना (महिला, पुरुष, मास्टर र युथ) र क्रस कन्ट्रीमा ५० जना (महिला पुरुष, मास्टर र युथ) खेलाडीले सहभागिता जनाउने छन्। जसमा विभिन्न प्रदेश र जिल्लाहरूबाट राष्ट्रियस्तरीय खेलाडीहरू सहभागी हुनेछन्।

    अध्यक्ष पौडेलका अनुसार यस प्रतियोगिताको माध्यमबाट नेपालमा माउन्टेन बाइकिङ खेलको स्तर उकास्ने, नयाँ प्रतिभाहरू चिनाउने तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडीहरू तयार पार्ने लक्ष्य रहेको बताउनुभयो। यस प्रतियोगिताका विजयी प्रतिस्पर्धीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। 

    पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष दिपक रिसालले यस प्रकारको राष्ट्रिय प्रतियोगिता आफ्नो नगरपलिकामा हुन लागेकोमा गौरवान्वित महशुस गरेको बताउनुभयो। साथै उहाँले नगरपलिकाको तर्फबाट विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्ने‚ नगद पुरस्कारका लागि नगरपालिकाले ५ लाख छुट्याउने समेत जानकारी दिनुभयो।

    संघका महासचिव रञ्जन राजभण्डारीका अनुसार यो प्रतिस्पर्धाको महत्व धेरै नै महत्व रहेकोछ। उहाँका अनुसार यसमा विजयी हुने खेलाडीको नाम अन्तर्राष्ट्रिय स्तरमा पठाईने र यसबाट खेलाडीले १०० अंक पाउनेछ जुन आगामी २९ जुलाइ सम्म भ्यालिद हुनेछ । जस्ले खेलाडीहरुलाइ ओलम्पिक र एशियन गेममा सम्मेलित हुन पनि सपोर्ट गर्ने बताउनुभयो। यसले गर्दा यो प्रतियोगिता अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सेलेक्सन टुर्नामेन्टको रुपमा पनि रहेको जानकारी दिनुभयो ।

    यस प्रतियोगिता आयोजनाका लागि सहयोगी संस्थाहरूमा गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, स्राम, काठमाण्डौ बाइक स्टेशन, ट्रायल बिल्डर्स नेपाल, शहीद स्मारक र शान्ति पार्क, नेपाल पर्यटन बोर्ड, नेपाली चुलो रेस्टुरेन्ट र प्रो स्पोर्टस लगायतका संस्थाहरू रहेका छन्।

    यस प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले अझै पनि आफ्नो नाम नेपाल साइक्लिङ संघको आधिकारिक वेबसाइटमा दर्ता गर्न सक्नेछन्। https://www.nepalcycling.org.np/mtb-2025/

  • लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा

    लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा

    मंसिर २५ बिहिबार, काठमाण्डाै।नेपाल प्रिमियर लिग (एनपिएल)दोस्रो संस्करणको भएकाे खेलमा लुम्बिनी लायन्स विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा पुग्न सफल भएकाे छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएकाे थियाे। एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।

    लुम्बिनीका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए , निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे र रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए । बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशोधित जिसिले समान तीन/तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

    विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए ।

    एनपिएलको फाइनल खेल शनिवार हुनेछ । जसमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग खेल खेल्ने छ ।

  • जेनजी आन्दोलनमा ८४ अर्ब भन्दा बढिकाे क्षति समितिले बुझायो प्रतिवेदन

    जेनजी आन्दोलनमा ८४ अर्ब भन्दा बढिकाे क्षति समितिले बुझायो प्रतिवेदन

    मंसिर २५ बिहिबार, काठमाण्डाै। जेनजी आन्दोलनका क्रममा करिब ८४ अर्ब भन्दा बढिकाे क्षति भएको समितिले प्रतिवेदन बुझाएकाे छ ।

    आज प्रधानमन्त्री सुशीला कार्की समक्ष गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले प्रतिवेदन बुझाएको हाे । राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते गठन गरिएको समितिले आज ७५ दिनमा आफ्नो प्रतिवेदन सरकार समक्ष बुझाएको हो ।

    प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ । प्रतिवेदनमा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन निकालेकाेछ, साथै आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको जनाएकाे छ ।आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

    प्रतिवेदन अनुसारआन्दाेलनमा ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति पुगेकाेछ । साथै आन्दाेलनमा भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाले ज्यान गुमाएकाे छ।

    आन्दाेलनमा दुई हजार ४२९ जना घाइते भएको छ जसमा १७ जना १३ वर्षमुनिका छन्, १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार १२ हजार ६५९ वटा सवारीसाधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुनुकासाथै सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

    त्यस्तै प्रतिवेदनमा दुई हजार ६७१ भवनमा क्षति पुगेको र जसकाे क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ, निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ रहेकाे ।

    प्रतिवेदन अनुसार सरकारी/सार्वजनिक क्षेत्रमा रु ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति पुगेको, निजी क्षेत्रको क्षतिको मूल्याङ्कन रु ३३ अर्ब ५४ करोड ८७ लाख बराबर र सामुदायिक तथा अन्य क्षेत्रको रु पाँच अर्ब ९७ करोड १७ लाख बराबर क्षति भएको जनाइएको छ ।

  • पोखरा एभेन्जर्स विजयी, कर्णाली भए बाहिरिने पहिलो टोली

    पोखरा एभेन्जर्स विजयी, कर्णाली भए बाहिरिने पहिलो टोली

    मंसिर १६ मंगलबार, काठमाण्डाै। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा आज भएकाे खेलमा पोखरा एभेन्जर्स ३४ रनले विजयी भएकाे छ । पोखरा एभेन्जर्ससँग पराजित भएपछी कर्णाली याक्स एनपिएलबाट बाहिरिने पहिलो टोली बनेको छ ।

    पोखराले पाँच खेलबाट चार अङ्क पुर्‍याएको छ । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै प्राप्त गर्न सफल भएकाे छ ।

    त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०१ रन बनाएकाे थियाे । पोखराका लागि यो स्कोर खडा गर्नमा एडम रोसिङटनले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरेकाे छ।

    खेलमा २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा समेटियो । कर्णालीकालागि मार्क वाटले सर्वाधिक ५९ रन बनाएका थिए ।

    आजकाे खेलकाे स्काेर यो जारी सिजनको नै दोस्रो उच्च स्कोर हुन पुग्याे । यसअघि विराटनगर किङ्ग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासमै उच्च थियाे ।

  • नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतको वृद्धि

    नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतको वृद्धि

    मंसिर ११ बिहिबार, काठमाण्डाै। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शून्य दशमलव ३९ प्रतिशतको वृद्धि भएकाे छ। नेप्से परिसूचक १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव शून्य तीन बिन्दुमा कायम भएको छ।

    आज ३३३ कम्पनीको एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर खरिद बिक्री हुँदा रु छ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ दशमलव ४७ को कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज १३१ कम्पनीको मूल्य बढ्दा १२१ को खटेको छ भने छ कम्पनी स्थिर छन् । सागर डिष्ट्रिलरी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा हिमस्टार उर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी सात दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।

    आज व्यापार समूह शून्य दशमलव १४, वित्त शून्य दशमलव ३८, माइक्रो फाइनान्स शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २६ र अन्य शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेका छन् । साथै बैंकिङ समूह एक दशमलव ४९, होटल तथा पर्यटन शून्य दशमलव ३२, विकास बैङ्क शून्य दशमलव १७, लगानी शून्य दशमलव ८३, जीवन बिमा शून्य दशमलव १४, निर्जीवन बिमा शून्य दशमलव १० र हाइड्रोपावर शून्य दशमलव शून्य एक प्रतिशतले बढेका छन् ।

  • नेपालद्वारा हङकङ पराजित

    नेपालद्वारा हङकङ पराजित

    मंसिर ११ बिहिबार, काठमाण्डाै। संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ । नेपालको यो जारी प्रतियोगितामा दोस्रो जीत हो ।

    टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो । कप्तान अशोक धामीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७३ रनको बनाए । यस्तै दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । हङ्कङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट हात पारे ।

    जीतका लागि २७१ रनको चुनौती पछ्याएको हङ्कङ ४०.५ ओभरमा १५१ रनमा समेटियो । उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए । बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए । आजको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याच भए ।

    नेपालले यसअघिकाे खेलमा साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो। १४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

  • दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट – भारत बिजयी

    दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट – भारत बिजयी

    मंसिर ७ आईतबार, काठमाण्डाै। दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । श्रीलङ्काको कोलम्बोमा भएको फाइनल खेल नेपाल र भारत विच भएकाे थियाे ।

    नेपालले टस हारेर पहिले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाए। यसरी नेपालले ११५ रनको लक्ष्य दिएकाे थियाे ।

    नेपालले दिएको लक्ष्य भारतले तीन विकेटको क्षतिमा ११७ रन बनाएर १२ ओभरमा पूरा गरेकाे थियाे । फाइनल खेलमा भारतकी फुला सेरेनले २७ बलमा ४४ रन बनाइन भने नेपालका लागि सरिता घिमिरेले ३८ बलमा ३५ रन बनाइन् ।

    यस प्रकारको क्रिकेटमा प्लास्टिकको ‘ह्वाइट बल’ प्रयोग हुन्छ । बलभित्र ‘ब्यारिङ’ प्रयोग गरिएको हुन्छ, जसको सहायताले ब्याटरले बलको अवस्था थाहा पाउँछ । बलरले ब्याटरलाई सोधेर मात्रै बलिङ गर्नुपर्ने हुन्छ । यसमा पनि अन्य क्रिकेटमा जस्तै ११ खेलाडी हुन्छन् । तर चार जना पूर्ण रुपमा दृष्टिविहीन हुनुपर्ने नियम रहेकाेछ । भारत र श्रीलङ्कामा आयोजित यस प्रतियोगितामा नेपाल र भारतसँगै अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र अमेरिका पनि सहभागी छन् ।

  • निर्वाचन आयोगमा दलहरुकाे निवेदन दिने क्रम जारी

    निर्वाचन आयोगमा दलहरुकाे निवेदन दिने क्रम जारी

    मंसिर ७ आईतबार, काठमाण्डाै। निर्वाचन आयोगमा राजनीतिक दलकाे निवेदन दिने क्रम जारी रहेकाे छ । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरु भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ ।

    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुनेछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएअनुसार अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवेदन दिएको छ ।

    प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरी सुझावका लागि आयोगको वेबसाइटमा राखिएको र आजसम्म सुझाव दिन आह्वान गरिएको जानकारी दिनुभयो ।

    उहाँले आयोगले माघको पहिलाे हप्ता आचारसंहिता जारी गर्ने तयारी रहेको र निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापनका लागि खरिद प्रक्रिया र अन्य तयारी भइरहेको जानकारी दिनुभयाे ।

    यस निर्वाचनको निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम छ । आगामी फागुन २० गते राष्ट्रियसभा रिक्त हुने सदस्यको एक तिहाइ सदस्य १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । सो सभाको एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

    निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यसूची छ । आयोगमा दर्ता कायम रहेका पुराना र नयाँ सबै दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै निवेदन दिनुपर्नेछ ।

    आयोगको कार्यक्रम अनुसार यही मङ्सिर ५ गते मतदाता नामावली सङ्कलन र अद्यावधिक सम्पन्न भइसकेको छ ।

  • नेपाल राष्ट्र बैङ्कले रु तीन अर्ब ७६ करोड लगानी गर्ने

    नेपाल राष्ट्र बैङ्कले रु तीन अर्ब ७६ करोड लगानी गर्ने

    मंसिर ६ शनिबार, काठमाण्डाै । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७६ करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

    राष्ट्र बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।

    उक्त रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । क वर्गको वाणिज्य बैङ्कमा रु तीन अर्ब ८० लाख, ख वर्गका विकास बैङ्कमा रु ५६ करोड ४० लाख र ग वर्गका वित्त कम्पनीमा रु १८ करोड ८० लाख बराबर लगानी हुने सूचनामा जनाइएकाे छ ।

  • विराटनगरको दोस्रो जित

    विराटनगरको दोस्रो जित

    मंसिर ६ शनिबार, काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले दोस्रो जित हासिल गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाण्डाै गोर्खाजलाई पाँच विकेटले पराजित गरेकाे छ ।

    काठमाण्डाै गोर्खाजले १३५ रनको लक्ष्य दिएको थियाे । जसलाई विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पुरा गरेकाे थियाे । खेलमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन भट्टले २४, लोकेश बमले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ रनको योगदान दिएकाे थियाे । बलिङमा काठमाण्डाैका शाहव आलमले दुई, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक/एक विकेट लिए ।

    विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।यस जितसँगै विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ भने काठमाण्डाै तेस्रो स्थानमा छ।

  • नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बृद्धि

    नेप्से परिसूचक १५ दशमलव ७० अङ्कले बृद्धि

    मंसिर २ म‌ंगलबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७० अङ्कले बढेकाे छ । यसरी नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई हजार ५६६ दशमलव ०७ बिन्दु कायम भएको छ ।

    आज ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ५५ हजार २७७ पटक खरिदबिक्री हुँदा रू ४ अर्ब १० करोड ५४ लाख छ हजार १३४ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा सागर डिस्टिलरी लिमिटेड, मबिलिङ इनर्जी लिमिटेड, बुँगल हाईड्रो लिमिटेड र झापा ईनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एभरेस्ट बैङ्क लिमिटेड डिबेन्चरको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सहास ऊर्जा लिमिटेडको सबैभन्दा धेरै रू २२ करोड ९१ लाख ६६ हजार ९१६ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख ५० हजार ५९५ कित्ता शेयर किनबेच भएको छ । 

  • प्रधानमन्त्री कार्कीद्वारा त्रि‍.वि को अपचलनमा परेको जग्गा फिर्ता बारे चासाे व्यक्त

    प्रधानमन्त्री कार्कीद्वारा त्रि‍.वि को अपचलनमा परेको जग्गा फिर्ता बारे चासाे व्यक्त

    कार्तिक २५ म‌ंगलबार, काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको अपचलनमा परेको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे चासाे व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल समेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाल लगायतसँग छलफल गर्नुभएको थियाे। छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरूको पनि उपस्थिति थियो ।

    प्रधानमन्त्री कार्कीले हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राख्नुभएको थियो। साथै प्रतिवेदन सार्वजनिक भएपछि के कति जग्गा फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया केकस्ताे हुदै छ भनेर जिज्ञासा पनि राख्नुभएको थियो।

    त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरूलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो।

    गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफै अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रुपमा सीआईबी लगायत निकायमा जाहेरी दिनुपर्ने बताउनुभयो। त्यस्तै मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैले गर्न सक्ने र सबै कामका लागि सरकारको मुख ताक्न नहुने बताउनुभयो।

    शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र सबै सरोकारवाला निकायहरूको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राख्नुभयाे ।

    प्रधानमन्त्री कार्कीले असम्बन्धित सङ्घसंस्था र व्यक्तिहरूलाई त्रिविको जग्गा ओगट्ने, मिचेर खाने र बेचबिखन गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिनुभयाे ।

  • नेपाल राष्ट्र बैंकले उपदान कोषको रकम लगानी गर्ने

    नेपाल राष्ट्र बैंकले उपदान कोषको रकम लगानी गर्ने

    कार्तिक २५ म‌ंगलबार, काठमाण्डाै । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएकाे छ । राष्ट्र बैंकले एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम लगानी गर्ने एक सूचना मार्फत जनाएको हो ।

    उक्त सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु ५५ करोड ५० लाख, राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु १८ करोड ५० लाख बराबरको रकम लगानी गर्न लागिएको उल्लेख गरिएकाे छ ।

    साथै बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने जनाइएको छ ।

    जसमा बैंक तथा वित्तीय संस्था कर्जा निक्षेप अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सान हिसाबअनुसार खुद मुनाफामा रहेको हुनुपर्नेलगात सर्त पूरा गरेको हुनुपर्ने जनाइएकाेछ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर सहित आवेदन दिन सूचनामा आग्रह गरिएको छ ।

  • नेपालमा पर्यटककाे आकर्षण बढ्दै

    नेपालमा पर्यटककाे आकर्षण बढ्दै

    कार्तिक १७ साेमबार, काठमाण्डाै । नेपालमा पर्यटककाे आकर्षण बढ्दै गएकाे छ। यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यूरोपबाट ४० हजार ५००, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, अमेरिका १६ हजार ४०७,ओसियाना छ हजार ८१४, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

    बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् । अक्टोबरमा मात्रै भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ श्रीलङ्काबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका छन ।

  • राष्ट्रपति रामचन्द्र पौडेल दोहा प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल दोहा प्रस्थान

    कार्तिक १७ साेमबार, काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेल दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन सोमबार बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागि हुन जानुभएकाे हाे ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कतारका लागि नेपाली राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले उहाँलाई बिदाइ गर्नुभयो ।

    राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने र कतारका अमिर शेख तमिम बिन हमद अल थानी तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ।

    यो सम्मेलनमा यसपटक विकास असमानता, जनसङ्ख्याको असन्तुलन र प्रविधिको सामाजिक प्रभावजस्ता विषयमा छलफल हुनेछ। संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको नेपाल शान्ति र स्थायित्वका लागि निरन्तर सक्रिय सदस्य रहँदै आएको छ। राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म हुने उक्त सम्मेलनमा सहभागिता जनाउनुहुनेछ।

  • अमेरिकासँग नेपाल चार विकेटले पराजित

    अमेरिकासँग नेपाल चार विकेटले पराजित

    कार्तिक १५ शनिबार, काठमाण्डाै ।आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अन्तर्गतको भएकाे खेलमा अमेरिकासँग नेपाल चार विकेटले पराजित भएको छ ।

    दुबईस्थित आइसिसी एकेडेमीमा आज भएको खेलमा जितका लागि नेपालले २७२ रनको लक्ष्य दिएकाे थियाे । अमेरिकाले साे लक्ष्य ४९ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्याे ।

    अमेरिकाका लागि साइत्यजा मुकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । त्यस्तै मिलिन्द कुमारले ७० रन ,साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन बनाए । नेपालकाे तर्फबाट सन्दिप लामिछानेले तीन विकेट लिए भने गुल्सन झा, करण केसी र नन्दन यादवले समान एक/एक विकेट लिएका थिए ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंहले सर्वाधिक ७५ रन बनाएकाे थियाे । त्यस्तै करण केसीले ४९ रन, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाएकाे थियाे ।

    हाल जारी शृङ्खलामा नेपालले तिन खेल खेलेको मा तिनवाेटै खेलमा लगातार हार व्यहोरेकाे छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो ।

    साथै लगातार तेस्रो जित निकालेको अमेरिका लिग-२ तालिकाको शीर्ष स्थानमा छ । यसरी अमेरिकाले २३ खेलमा ३४ अङ्क जोडेको छ । भने नेपाल १९ खेलमा १२ अङ्कसहित सातौँ स्थानमा रहेकाे छ ।

  • हरि बोधिनी एकादशी पर्व-तुलसी र दामोदरको विवाह गरीदै

    हरि बोधिनी एकादशी पर्व-तुलसी र दामोदरको विवाह गरीदै

    कार्तिक १५ शनिबार, काठमाण्डाै । कात्तिक शुक्ल एकादशीका दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु भगवान् विष्णुको प्रतीकका रूपमा आज तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिदैछ ।

    आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनी देखि हरि बोधिनी एकादशी का दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

    हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । किसानले उखुको बोट मठमा गाड्छन् । यस दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

    आजका दिन देशका विभिन्न नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइदैछ । यस दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । त्यसैगरी काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौ का शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आज दर्शनार्थीहरुकाे ठुलाे भिड लाग्दछ ।

  • मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन- प्रधानमन्त्री कार्की

    मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन- प्रधानमन्त्री कार्की

    कार्तिक १२ बुधबार, काठमाण्डाै । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच भएकाे छलफलमा मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन बताउनुभएकाे छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने बताउनुभयाे ।

    उहाँले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने र पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री कार्कीले हामीले त्रिपक्षीय छलफल सुरुआत गरेकाे र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे । उहाँले निर्वाचनको माहोल बनाउन यस प्रकारको छलफलले महत्व राख्ने पनि बताउनुभयाे ।

    यस छलफलमा सहभागी जेनजी समूहका प्रतिनिधिले चुनाव चाहिएको छ, तर आन्दोलनको मुख्य माग सुशासन भएकाले भ्रष्टाचार विरुद्धको कारबाहीको काममा सरकारले उत्तिकै ध्यान दिनुपर्नेमा कुरामा जोड दिएको थियो ।

    बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा महावीर पुन र सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला,मिराज ढुङ्गाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल आदीकाे सहभागिता रहेको थियाे ।

  • महिला २०–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी

    महिला २०–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी

    आश्विन २१ मंगलबार, काठमाण्डाै । महिला २०–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा भएको आजकाे खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको थियाे ।

    योसँगै नेपाल र मलेसियाबिचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । यस शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

    टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

    यस शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

  • ३३ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

    ३३ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

    आश्विन ४ शनिबार, काठमाण्डाै । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृति सम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यम स्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो ।

    विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि रु २१ अर्ब ५९ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता आएको छ ।

    साथै उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा रु एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा रु १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा रु दुई अर्ब ८१ करोड ५० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    त्यसैगरी पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा रु छ अर्ब ६९ करोड २० लाख ५० हजार, सूचना प्रविधिमूलक उद्योगका १२० परियोजनामा रु ५६ करोड २७ लाख ५४ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

    विभागले जनाए अनुसार पछिल्लो दुई महिनामा मात्र ४०९ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित (डिपेन्डेन्ट) लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको छ ।

    यसरी उद्योग विभागले हालसम्म कुल सात हजार ४७५ वटा परियोजनाका लागि रु छ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार बराबरको लगानी स्वीकृत गरिसकेको जनाइएकाे छ ।

  • पहिरोले  राजमार्गहरु अवरुद्ध

    पहिरोले राजमार्गहरु अवरुद्ध

    आश्विन ४ शनिबार, काठमाण्डाै । देशका विभिन्नमा स्थानमा केही दिन देखी परेको वर्षासँगै आएको बाढी र पहिरोले राजमार्गहरु अवरुद्ध भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार हाल ती अवरुद्ध भएका क्षेत्रहरुमा पहिरो पन्छाउने काम जारी रहेको छ ।

    उहाँका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ । साथै कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ ।

    त्यसतै सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध भएकाेछ । बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध बनाएको छ ।

    वादी पहिराे ले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङ दुवै स्थानमा बाटाे अवरुद्ध बनाएकाे बताउनुभयाे ।

    साथै प्रहरीले जनाएअनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध छ । यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान सम्म पनि खसिरहेकाले पन्छाउन समस्या भएको छ ।

    तर कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी ,त्रिशूली सडक लगायतमा भने एकतर्फी रुपमा भएपनि खुलाइएकाे छ।

  • अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा

    अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा

    आश्विन २ बिहिबार, काठमाण्डाै । अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा परेको छ । एएफसी फुटसल एसियन (एएफसी) कप छनोट प्रतियोगितामा नेपालले सहभागिता नजनाएका कारण एन्फा कारबाहीमा परेको हाे ।

    एएफसी को अनुशासन तथा नैतिकता समितिको अगस्ट २१ गते बसेको बैठकबाट एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना सहितको कारबाही गरिएको हो ।

    एएफसीका अनुसार नेपालले छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।

    एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा ११.३ बमोजिम कारबाहीको निर्णय सूचित भएको मितिबाट ३० दिन भित्र जरिवाना तिनुपर्ने नियम छ । तर, स्रोतका अनुसार एन्फाले सो रकम अहिलेसम्म पनि तिरिसकेको छैन ।

    आगामी जनवरी २७ देखि फेब्रुअरी ७ सम्म फुटसल एसियन कप इन्डोनेसियामा हुँदैछ । यस प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । साथै छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि सुरु हुँदैछ ।

  • बिजनेस रिकभरी प्लान मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी-अर्थमन्त्री खनाल

    बिजनेस रिकभरी प्लान मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी-अर्थमन्त्री खनाल

    आश्विन २ बिहिबार, काठमाण्डाै । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अर्थ ‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको भयाे । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँग भएको आजकाे भेटमा उहाँले पुनरुउत्थान योजना (रिकभरी प्लान) मा सरकारको मात्र नभएर सबैको संलग्नतामा तयार भएको बताउनुभयाे ।

    उहाँका अनुसार यस योजनामा एउटा कोष स्थापना गरिने छ । साे कोषले ज्यान गुमाएका परिवारलाई गर्नुपर्ने थप सहयोग गर्ने, सार्वजनिक संरचनाको पुनःनिर्माणमा खर्च गर्ने र निजी क्षेत्रको ध्वस्त भएका संरचनामा आवश्यक सहायता दिने काम हुने बताउनु भयाे ।

    उहाँले निजी क्षेत्रलाई कोषबाट भन्दा पनि संरचना निर्माण गर्न आवश्यक सामान आयात गर्दा लाग्ने भन्सारमा छुट दिने लगायत काम गरेर सहायता गरिने बताउनुभयाे।

    मन्त्री खनालले उद्योगी व्यवसायी र उनीहरूको आफ्नो प्रतिष्ठानमा, व्यवसायमा क्षति पुगेको र त्यसलाई कुनै न कुनै तरिकाबाट सहुलियत दिएर फेरि उठ्ने वातावरण बनाइने प्रतिबद्धता पनि जनाउनुभयो ।

    अर्थमन्त्री खनालले तत्काल सरकारको प्राथमिकता आम नागरिकमा आत्मविश्वास जगाउने र घाइते परिवारलाई उपचार अनि ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता अथवा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको बताउनुभयाे ।

    उहाँले आन्दोलनबाट भएको भौतिक क्षतिको आँकडा सङ्कलन गर्नका लागि सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जेएनका प्रतिनिधि र अन्य निकायबीच टोली बनाएर काम थालिएको बताउनुभयो । अव सार्वजनिक निकाय र संरचनाको पुनर्निर्माण गर्न बजेटबाट रकम निकाल्नुपर्ने र पुगेन भने ‘क्राउड फन्डिङ’मार्फत जम्मा गरेर निर्माण गरिने बताउनुभयाे ।

  • मनसुनले धान रोपाइँ प्रभावित

    मनसुनले धान रोपाइँ प्रभावित

    भाद्र २ साेमबार, काठमाण्डाै ।मनसुन ढिला सक्रिय हुँदा धान रोपाइँ प्रभावित भएकाे छ । कृषि विभागका अनुसार देशभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष याे अवधिमा ९८.४४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको थियो ।

    विभागका महानिर्देशक प्रकाश सन्जेलका अनुसार यसपालि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ रोपाइँ भएको छ । भने मनसुन ढिला सक्रिय भएकाले मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत रोपाइँ सम्पन्न भएको बताउनुभयाे ।

    साथै कर्णाली प्रदेशमा ९९.३४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ९७.२७ प्रतिशत, गण्डकी प्रदेशमा ९४.८३ प्रतिशत र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ भएको छ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाए अनुसार देशभर करिब १३ लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ ।जबकी मुलुकभरि करिब १४ लाख हेक्टर जमिन खेतीयोग्य रहेको छ ।

  • विधुत् उत्पादनमा अझै धेरै सुधार आवश्यक छ – मन्त्री खड्का

    विधुत् उत्पादनमा अझै धेरै सुधार आवश्यक छ – मन्त्री खड्का

    भाद्र १ आईतबार, काठमाण्डाै । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विधुत उत्पादनमा अझै धेरै सुधार आवश्यक रहेकाे बताउनुभयाे । आइतबार काठमाण्डाैमा आयोजित नेपाल विधुत् प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले विगतका वर्षमा निजी क्षेत्रसँग सहकार्य गरेर विधुत् उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल भएकाे तर त्याे पर्याप्त नभएकाे यसमा अझै धेरै सुधारका पक्ष बाँकी रहेको बताउनुभयो ।

    उहाँले ऊर्जा र विधुत् अक्सिजन सरह अपरिहार्य रहेको भन्दै नेपाल विधुत् प्राधिकरणलाई २४ घण्टा अविच्छिन्न, सुरक्षित र भरपर्दो आपूर्ति गर्न सक्ने संस्थामा रूपान्तरण गर्नुपर्ने बताउनुभयाे । साथै सुरक्षित, गुणस्तरीय र भरपर्दो विधुत् प्रवाह आजको मुख्य आवश्यकता ठहर गर्दै प्राधिकरणलाई स्मार्ट प्रविधि प्रयोगमार्फत विधुत् चुहावट न्यूनीकरण गर्न निर्देशन पनि दिनुभयो।

    अब विधुत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा पनि निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराइएको र आगामी दिनमा विधुत् बिक्रीमा समेत संलग्न गराइने उहाँले बताउनुभयाे ।

    समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी विच्छा,विधुत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगाएतका विशिष्ट व्यक्तिहरु उपस्थिति रहेकाे थियाे ।

    साथै प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने उत्कृष्ट काम गर्ने कार्यालयहरूलाई समेत पुरस्कृत गरिएको थियो।

  • फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा

    फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा

    श्रावण २२ बिहिबार, काठमाण्डाै । फिफा विश्व वरियतामा नेपाली महिला राष्ट्रिय टोली ८७औँ स्थानमा उक्लिएको छ । नेपाली महिला फुटबलको इतिहासमा यो अहिलेसम्मकै सर्वोत्कृष्ट वरियता हो । यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित विश्व वरियता सूचिमा ९१औँ स्थान हासिल गरेकाे थियो ।

    स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ । यसैगरी स्विडेन छैटौँबाट तेस्रो स्थानमा उक्लिँदा पाँचौँ स्थानबाट इङ्गल्यान्ड चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको जर्मनी पाँचौँ स्थानमा झरेको छ ।

    दक्षिण एसियाली देशमा भारत सबभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा रहकाे छ। नेपाल एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगिताको समूह ‘जी’ मा परेको छ ।

  • समय तालिका बनाएर बजेट कार्यान्वयन गर्नु-अर्थमन्त्री पौडेल

    समय तालिका बनाएर बजेट कार्यान्वयन गर्नु-अर्थमन्त्री पौडेल

    श्रावण २२ बिहिबार, काठमाण्डाै । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

    उहाँले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यान्वयनमा परिणाम निकाल्न पनि निर्देशन दिनुभएकाे छ । साथै विद्यमान कानूनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

    अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो जुन कूल राजस्वको १०.९ प्रतिशत हो। बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयहरूका सचिव लगायतको उपस्थिति थियो ।

  • सर्वाेच्चकाे मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त

    सर्वाेच्चकाे मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त

    श्रावण १२ साेमबार, काठमाण्डाै । सर्वाेच्चकाे मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त हुनु भएकाे छ। न्याय परिसदका प्रवक्ता डा.अशोककुमार क्षेत्रीले जानकारी दिए अनुसार न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

    उनका अनुसार मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार देखि अनिवार्य अवकाशमा लिएका थिए। बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

  • नेप्से  झिनो अङ्कले घट्यो , १९ अर्बभन्दा बढीको कारोबार

    नेप्से झिनो अङ्कले घट्यो , १९ अर्बभन्दा बढीको कारोबार

    श्रावण १२ साेमबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अङ्कले घटेको छ । परिसूचक शून्य दशमलव ०६ प्रतिशत अर्थात् दुई दशमलव ०७ अङ्कले घटेर दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ ।

    आज विभिन्न ३२१ कम्पनीका चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ दशमलव २९ बराबरको कारोबार भएको छ ।

    त्यसतै आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९, सान्भी इनर्जी लिमिटेडको नौ दशमलव ९२, ट्रेड टावर लिमिटेडको नौ दशमलव ५३ प्रतिशतले बढेको छ ।

    भने बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ४९, लक्ष्मी उन्नति कोषको सात दशमलव ५२ र ग्रिन भेञ्चर लिमिटेडको पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।

  • निर्यातमा इतिहासकै उच्च विन्दु हासिल- प्रधानमन्त्री ओली

    निर्यातमा इतिहासकै उच्च विन्दु हासिल- प्रधानमन्त्री ओली

    श्रावण ८ बिहिबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताउनुभयाे ।

    उनले आफ्नाे सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको हाे ।

    उहाँले सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको बताउनुभयाे । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको पनि जानकारी गराउनुभयाे ।

  • राष्ट्रपतिद्वारा संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता

    राष्ट्रपतिद्वारा संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता

    श्रावण ८ बिहिबार, काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहीबार फिर्ता पठाएकाे जानकारी दिनुभयाे ।

    उक्त विधेयक दुवै सदनबाट पारित भएपछि गत ३१ असारमा सभामुख देवराज घिमिरेले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनु भएकाे थियाे ।

  • नेपाल उप–विजेतामै सीमित

    नेपाल उप–विजेतामै सीमित

    श्रावण ५ साेमबार, काठमाण्डाै । नेपाल यू–२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को उप–विजेतामै सीमित भएको छ ।

    सोमबार बंगलादेशको ढाकास्थिति बसुन्धरा किङ्स एरेनामा भएको खेलमा बंगलादेशकाे टिमसँग ४–० पराजित भएसँगै नेपालले उप विजेतामा नै चित्त बुझाउनुपरेकाे थियाे ।

    नेपाललाई उपाधि जित्नका लागि बंगलादेश विरुद्धको खेलमा जित आवश्यक रहेकाे थियाे । तर बंगलादेशलाइ त्यति दवाव थिएन । बंगलादेशको तर्फबाट सागोरिकाले खेलको ८, ५१, ५८ र ७७ औं मिनेटमा गोल गरेकाे थियाे ।

  • नेपाल स्टक एक्सचेञ्ज परिसूचक २१ अङ्कले बढ्यो

    नेपाल स्टक एक्सचेञ्ज परिसूचक २१ अङ्कले बढ्यो

    श्रावण ५ साेमबार, काठमाण्डाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ७६ अङ्क अर्थात् शून्य दशमलव ७५ प्रतिशतले बढेर दुई हजार आठ सय ९२ दशमलव ७२ बिन्दुमा कामय भएको छ । 

    आज विभिन्न ३११ कम्पनीका तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर एक लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा रू १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार दुई सय ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह एक दशमलव ४२, लघुवित्त एक दशमलव ९३, निर्जीवन बीमा एक दशमलव २७ र अन्य समूह एक दशमलव ८४ प्रतिशतले बढेको छ ।

    त्यस्तै बैङ्किङ शून्य दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ३०, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७५ करोड ६६ लाख ४६ हजार ३०७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार सात सय ११ कित्ता शेयर किनबेच भएको छ ।

  • कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हाे – मन्त्री रामनाथ अधिकारी

    कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हाे – मन्त्री रामनाथ अधिकारी

    श्रावण ५ साेमबार, काठमाण्डाै । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेकाे बताउनुभयाे । साेमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन ,उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

    मन्त्री अधिकारीले ‍‍‍कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको र कृषिमा आत्मनिर्भर हुने गरी मन्त्रालयले विभिन्न कामहरु गरिरहेको बताउनुभएको छ । उहाँले धानमा आत्मनिर्भर बन्न लागेको बेला मधेस प्रदेशमा खडेरीका कारण आएको समस्या समाधानका लागि मन्त्रालयले अध्ययन गर्न कर्मचारीको टोली खटाएको जानकारी दिनुभयो ।

    उहाँले विगत लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिदसम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरणसम्बन्धी कार्यविधि संशोधन गरिएको जानकारी गराउनुभयो । यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीको भनाइ छ ।

    विगत सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारी समायोजन अनुसारको सङ्गठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरी सङ्गठन सुदृढ तथा व्यवस्थापन गरिएको जानकारी दिनुभयाे ।

    साथै बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको, कृषि तथा पशुपन्छी बिमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो ।

  • मुस्ताङमा साइकल ट्रेल निर्माण

    मुस्ताङमा साइकल ट्रेल निर्माण

    श्रावण १ बिहिबार,मुस्ताङ । मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका अनुसार जोमसोम-धार्काजुङसम्मको करिब आठ किलोमिटर लम्बाइको साइकल ट्रेल रु २० लाख बजेटमा निर्माण गरिएको हो ।

    पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेलले यस साइकल ट्रेलकाे निर्माणले मुस्ताङको पर्यटन विकास, पर्यटन प्रवर्द्धनका साथै पर्यटकको बसाइँ लम्ब्याउनका मद्दत गर्ने बताउनुभयाे ।

    ट्रेल निर्माणका लागि सुक्खावाल, ग्याविन वालका साथै जोमसोम–धार्काजुङ ट्रेलमा दुई वटा फलामे पुल बनाइएको छ । ट्रेल निर्माणमा साबिकको पुरानो बाटोको स्तरोन्नति र नयाँ दुई किमी सडकमा ट्रयाक ओपन गरिएको छ ।

    पौडेलका अनुसार समुन्द्री सतहको करिब चार हजारभन्दा माथिको उचाइमा रहेको ढल्केडाँडा छिचोल्दै साइकल ट्रेल गर्ने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र पर्वतीय उच्च उचाइमा बेग्लै अनुभव गर्न सक्नेछन् । साथै ढल्केडाँडा पुग्ने पर्यटकले उपल्लो मुस्ताङ, नेपाल–चीन सिमाना, तल्लो मुस्ताङ र मध्य मुस्ताङको विभिन्न क्षेत्रको दृश्यावलोकन गर्न सक्नेछन् ।

    अब पर्वतीय हाइअल्टिच्युड साइकल ट्रेल निर्माणसँगै यहाँ साइक्लिङ गर्न आउने पर्यटकले जोमसोम–कागबेनी सडकमार्ग प्रयोग नगरी धार्काजुङ हुँदै मुस्ताङ–डोल्पासम्मको छोटो यात्रा गर्न पनि सक्नेछन् ।

  • काठमाण्डौ महानगरपालिकाे बजेट पारित

    काठमाण्डौ महानगरपालिकाे बजेट पारित

    असार ३२ बुधबार, काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाे आगामी आर्थिक वर्ष २०८२/८३ को लागि गत आइबार प्रस्ताव गरेको बजेट आज नगरसभाबाट पारित गरेकाे छ ।

    कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले ल्याउनुपर्ने समयसीमाभन्दा ढिला गरी कामपाले रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो ।

    पारित बजेटमा सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा रु ५१ प्रतिशत , सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ रु १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा १२ प्रतिशत र आर्थिक विकासको लागि ३ प्रतिशत बजेट ल्याइएको छ ।

  • मन्त्री न्यौपानेद्वारा पदबहाली

    मन्त्री न्यौपानेद्वारा पदबहाली

    असार ३२ बुधबार, काठमाण्डाै । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने बुधबार बेलुकी सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो ।

    बुधबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनुभयाे। राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिय सभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गरेका हुन ।

    मन्त्री न्यौपानेले पदबहाली गरेपछि सङ्घ प्रदेश र स्थानीय तहमा हुने सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न सङ्घीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गर्नुभयाे ।

    निवर्तमान मन्त्री राजकुमार गुप्ताकाे भ्रष्टाचारको अडिओ काण्ड बाहिर आए लगतै चाैतर्फी दबाबपछि मन्त्री गुप्ताले राजीनामा दिएसँगै उनको ठाउँमा प्रधानमन्त्री ओलीले न्यौपानेलाई ल्याउनुभएकाे हाे।