मंसिर २७ बुधबार, काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी खोज आवश्यक रहेकाे बताउनु भएकाे छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित काठमाण्डाै विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन सम्बन्धी खोज–अनुसन्धान गर्न काठमाण्डाै विश्वविद्यालयलाई आग्रह गर्नुभएको हाे ।
उहाँले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न आवश्यक रहेकाे हुनाले प्राध्यापक तथा अध्येतालाई अनुरोध गर्नुभयो । साथै विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको पनि बताउनुभयाे । जसले गर्दा आर्टिफिसियल इन्टेलिजेन्स देखि जलवायु परिवर्तन रोकथामका उपाय, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयामका लागि बाटो खुलेको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले पछिल्ला दशकमा विश्वविद्यालयले विस्तार गरेको प्राज्ञिक दायराबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको बताउनुभयो । विश्वविद्यालयले एक हजार शैय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकामा आफू अत्यन्त खुसी भएको बताउनुभयाे । उहाँले विश्वविद्यालयले चुस्ततापूर्ण बहु विशिष्टीकृत शिक्षण अस्पताल खोल्ने विश्वास व्यक्त गर्नुभयो । साथै आफूले आर्जन गरेको ज्ञान र सीपलाई देश र मानव जातिको हितका लागि अर्पण गर्न आह्वान गर्नुभयाे।
प्रधानमन्त्री दाहालले अध्ययन र अनुभवका लागि विदेशमा रहनुभएका विद्वत वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गर्नुभयो ।

Leave a comment