तेह्रौँ दक्षिण एसियाली खेलकुदमा पदक विजेता किराँत राई खेलाडी सम्मानित

माघ १२ विहिबार, काठमाण्डाै । नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता किराँत राई खेलाडीहरूलाई नगद सहित सम्मान गरिएको छ । किराँत राई खेलकुद सङ्घले आफ्नो १०औँ स्थापना दिवसका अवसरमा बिहिबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साग खेलमा पदक जितेका १९ जना किराँत राई खेलाडीलाई सम्मान गर्नुभएकाे थियाे । कार्यक्रममा उहाँले खेलक्षेत्र राष्ट्रको सान भएकाे र यस क्षेत्रको विकास गर्न सके देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभएकाे थियाे ।

सम्मानित हुने खेलाडीमा उसु खेलकी जुनी राई, गल्फका शुक्रबहादुर राई, शारीरिक सुगठनका उमेश राई र सुरेशदेव पराजुली, आर्चरीकी इमायुङग राई, बास्केटबलकी आशा राई हुनुहुन्छ । त्यसैगरी ह्यान्डबलकी बन्दना राई, निशा राई, माला राई, उमा राई र रन्जना राई, भारोत्तोलनकी अस्मिता राई र सङ्गीता राई, बक्सिङका पुरन राई, ब्याडमिन्टनकी सीता राई र अनुमाया राई, तेक्वान्दोकी युनिशा राई, करातेका एस्तर राई सम्मानित हुनुभयो । बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राईलाई पनि सो अवसरमा सम्मान गरियो । सम्मानित हुने खेलाडी एवं प्रशिक्षकले सम्मानपत्र सहित जनही १० हजार रुपैयाँ प्राप्त गर्नुभएकाे थियाे ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.