भाद्र १ बुधबार, काठमाण्डाै । बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मंगलबार सकिएको छ। बन्दीपुरका नेवार समुदायका व्यक्तिले तीन वर्षपछि बाघजात्रा मनाएका हुन्। कोभिड–१९ को जोखिमका कारण यसअगाडि बाघजात्रा निकालिएको थिएन। खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो। बन्दीपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले भने, ‘जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्य देखाइएको थियो। बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन्। बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ। भक्तपुरबाट बन्दीपुरमा छिरेका नेवार समुदायले यहाँको जात्रा र संस्कृति संरक्षण गर्दै आएको बताइन्छ। आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइसराइँ गरी आएका जनाइएको छ। भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाएकाे थियाे। भक्तपुरबाट उनीहरू भक्तपुरे नेवारी संस्कृतिलाई पनि भित्राएको थियो। यसरी व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण बन्दीपुरमा आजसम्म पनि विभिन्न जात्राको परम्परा रहँदै आएको छ।
Leave a comment