श्रावण २७ शुक्रबार, काठमाण्डाै । मिटरब्याजी समस्या पहिचान र अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, साथै यस्तो समस्या भविष्यमा आउन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको खाणको सचिवालयले जानकारी दिएको छ। कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्टा छन्। कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत गई समस्याका कारकहरू तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनिकरण गर्न अबलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस सहितको एक महिनाभित्र प्रतिवेदन पेश गर्ने लगायतका आदेश दिइएको छ।
Leave a comment