श्रावण २५ बुधबार, काठमाण्डाै । भक्तपुरको सूर्यविनायक नगरपालिकाकाे गुण्डु स्थित पाथीभरा मन्दिर परिसरमा द्वारका धाम निर्माणको शुभारम्भ भएको छ । गौ संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा आज दिउँसो १ बजेर ३२ मिनेटको साइतमा द्वारका धाम निर्माणका लागि शिलान्यास भएको हो । भागवत रसिक गुरु शास्त्रीका अनुसार “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथीभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्वारका धाम निर्माणमा हामी जुटेका छौँ, त्यसको आज शिलान्यास भएको छ, करिब आठ रोपनी क्षेत्रफलमा रु २० करोडको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्वारकाधामको गुरुयोजना निर्माण गरि कार्य अगाडि बढाएका हौँ ।” द्वारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने भन्दै उहाँले भारतको द्वारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य भइसकेको बताउनुभयो । शास्त्रीले सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकार तथा अन्य दाताबाट सङ्कलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको उल्लेख गर्दै द्वारका धामसँगै पाथीभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषि मूर्ति स्थापना गरिने कार्यक्रममा बताउनुभयो । कार्यक्रममा १००८ स्वामी पद्मधर आचार्य, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायतले द्वारकाधामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनुभयो ।
Leave a comment