श्रावण १२ बिहिबार, काठ्माण्डाै । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालका अनुुसार बोर्डले चार खम्बे नीति अवलम्बन गरी बिहीबार धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित विकासका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यसमा संस्थागत नियमन क्षमता अभिवृद्धि, नियमन निकायको ‘वाच डग एजेन्सी’ भूमिका सशक्तीकरण, बजारको सन्तुलन तथा विस्तार र बजार पारदर्शिता तथा ‘मेरिट बेस’ प्रणालीको विकास जस्ता बजार सुधारका नीति अवलम्बन गरिएको छ ।
चालु आवको नीति तथा कार्यक्रममा पहिलेकाे आवको नीति तथा कार्यक्रमलाइ नै निरन्तरता दिइ केही नयाँ बुँदा थप गरिएको छ । यसमा नयाँ स्टक डिलर थप्ने, नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तथा नेपाल स्टक एकस्चेञ्ज र सीडीएस एन्ड क्लिएरिङ को सेयर संरचनामा सुधारका लागि सहजीकरण गरिने भन्ने कुराहरु समेटिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई १० प्रतिशत आईपीओ आरक्षण गर्ने नीति तर्जुमा गरिने र साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्लेटफर्मका लागि आवश्यक व्यवस्था गरिने भन्ने कुरा पनि थप गरिएको छ ।
त्यस्तै व्यापक बहसमा रहेको वस्तु विनिमय बजारलाई प्रभावकारी बनाउनका लागि आवश्यक कदम चाल्न पनि नीति तथा कार्यक्रममा समेतिएकाे छ । कमोडिटी एक्सचेन्जलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि बोर्डले आगामी दिनमा आवेदन खुला गर्ने पनि उल्लेख गरेको छ । बोर्डले धितोपत्र बजार विस्तार र विकासका लागि भन्दै प्रत्येक वर्ष नीति तथा कार्यक्रमा सार्वजनिक गर्ने गरेको छ ।
Leave a comment