अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन मंसिर हुने

श्रावण ११ बुधबार, बुटवल । नेपालकाे लुम्बिनीमा २०७९ सालकाे मंसिर महिनामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनी विकास परिषद कोषको बैठक बुधबार बसेको थियाे । बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरुको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार प्रसारको नयाँ उभार ल्याउन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेकाे बताएकाे छ । लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने देखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ । बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा कार्य गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कोषका अध्यक्ष श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा संघीय सरकारले बिशेष ध्यान दिने बताए । उनले राम्रगाम र देवदहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सचीमा सूचीकृत गर्ने लक्ष्य रहेकाे बताए । साथै कोषले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न आवश्यक रणनीति, दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको जनाएको छ ।

मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहनुकाे साथै लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरुको विकास गर्न पनि जरुरी रहेको बताए । लुम्बिनी विश्वकै पर्यटकको रोजाइमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्न मन्त्रालयले विशेष महत्वका साथ अघि बढ्ने प्रतिबद्धता जनाएकाे बताएकाे छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.