भाद्र ८, काठमाण्डाै । मानव अधिकार आयोगद्वारा देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण गर्दै सहयाेग गर्न आग्रह गरेकाे छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाण्डाै उपत्यका लगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन भइरहेको छ । सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुर्व्यवहार गरेको पाइएको छ । जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष हो ।
अतः कानुनको दायराभन्दा माथि गई गरिने यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गरेकाे छ । साथै, हालको जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्चमनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोग नेपाल सरकारलाई आग्रह गरेकाे छ ।
Leave a comment