१३ जेठ,कास्की। आज पोखरामा पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन (इच्छुक)लाई स्मरण गरि पे्रस सङ्गठन नेपाल कास्कीले इच्छुकको १८औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम आयोजना गरी शहीद इच्छुकप्रति श्रद्धासुमन अर्पण गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकले जहिले पनि जनपक्षीय पत्रकारितामा आफूलाई समर्पित गरेकाले अहिलेको अवस्थामा समेत जनउत्तरदायी र जनपक्षीय पत्रकारिताको खाँचो औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले शहीद इच्छुकले जनपक्षीय पत्रकारितामार्फत राजनीतिक तथा सामाजिक परिर्वतनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै सञ्चारकर्मीले उहाँको आदर्श र व्यक्तित्वको जहिले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । राजनीतिक परिर्वतन भएर सङ्घीयता कार्यान्वयनको अहिलेको अवस्थामा समेत जनपक्षीय पत्रकारिताको खाँचो रहेको उहाँको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले सेनका लेख तथा विचारहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै शहीदले देखेका सपनाहरु पूरा गर्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य दिलीपविक्रम शाही, सङ्गठनका जिल्ला संयोजक माधव बराल, सहसंयोजक सन्देश श्रेष्ठ लगायतले सेनको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । इच्छुक स्मृति दिवसमा प्रेस सङ्गठनले हरेक वर्ष वितरण गर्दै आएको थमन–महेष स्मृति पत्रकारिता पुरस्कार यस वर्ष कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाले वितरण गर्न नसकिएकाले छिट्टै वितरण गरिने संयोजक बरालले जानकारी दिनुभयो । सो पुरस्कारका लागि आज प्रतिभा छनोट समिति गठन गरिएको छ । समितिमा अग्रज पत्रकार कोमलनाथ बराल, पुण्य पौडेल, महासङ्घ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल तथा सङ्गठनका संयोजक र सहसंयोजक सदस्य रहनुभएको छ । विसं २०५९ जेठ १३ गते तत्कालीन राज्यसत्ताले इच्छुकलाई नियन्त्रणमा लिएर चरम यातनापछि महेन्द्र पुलिस क्लबको हिरासतमा हत्या गरेको थियो ।
Leave a comment