ओमसतिया गाउँपालिकाद्वारा मास्क, डेटोल, एन्टिसेप्टिक र साबुन वितरण

भैरहवा,१३ चैत । रुपन्देहीमा ओमसतिया गाउँपालिकाले गाउँपालिका भरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट रोक्न गाउँपालिकाले नागरिकलाई घरभित्र बस्न अनुरोध गर्दै सबै घरमा पुगेर मास्क र साबुन बितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । गाउँपालिकाको कार्यालयले जनप्रतिनिधिलाई स्थानीय क्षेत्रमा हुने समस्याको समाधान गर्न पहल गर्न निर्देशन दिनाका साथै लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष हिरा केवटले बताउनुभयो । विश्वलाई त्रसित बनाएको कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउन सबैले पालना गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “स्थानीय क्षेत्रमा कुनै समस्या परे प्रहरी वा नजीकका जनप्रतिनिधिलाई खवर गर्न सार्वजनिक सूचना जारी गरिएको छ ,” अध्यक्ष केवटले भन्नुभयो । ओमसतिया गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले जनताको घरघरमा पुगी एन्टिसेप्टिक, साबुन र मास्क बितरण गरिरहेका छन्् । गाउँपालिकाका प्रवक्ता शिब धवलले सबै जनतालाई घर बाहिर ननिस्किन अनुरोध गरिएको बताउनुभयो । जिल्लामा अहिले सुरक्षाकर्मीले लकडाउन पालना गराउन स्थानीयवासीलाई सचेतना दिलाउने, माइकिङ गर्ने र नियन्त्रणमा लिने गरेका छन् । बजार क्षेत्रमा लकडाउन पूर्णरुपमा पालना भए पनि गाउँगाउँमा आंशिक मात्र पालना भएको देखिन्छ । रुपन्देहीमा अहिले प्रदेश सरकारले सरकारी अस्पताल भीम अस्पताललाई कोभिड–१९ को सङ्क्रमणको आशङ्का लागेकाहरुलाई उपचार केन्द्र तोकेको छ भने बुटवलको धागो कारखानामा आइसोलेशन वार्ड बनाएको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.