महोत्तरी, ९ चैत । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार महोत्तरी जिल्लाकाे भारतीय सीमानाका बन्द गरिएका छन् । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाकाको भिठ्ठामोर बाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएकोछ । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको हाे। करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ । यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् । बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती शुरु गरेका जनाइएको छ । सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिम विरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवा सहित तीन नगरपालिका एवं एकडारा र सम्सी सहित दुई गाउँपालिका समेत पाँच स्थानीय तह पर्दछन् । जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरण सहितको स्वास्थ टोली यस अघि नै सञ्चालनमा आइसकेका छन् ।
Leave a comment