Category: सामाजिक सद्भाबना

  • नेवा संस्कृति संरक्षणमा सक्रिय यल नेवा समाजको दोस्रो एजीएम सम्पन्न

    नेवा संस्कृति संरक्षणमा सक्रिय यल नेवा समाजको दोस्रो एजीएम सम्पन्न

    पुष १९ शनिबार‚ काठमाण्डौ । विसं २०८० मा स्थापना भएको यल नेवा समाजको दोस्रो वार्षिक साधारणसभा (एजिएम) तथा निर्वाचन कार्यक्रम ललितपुर महानगरपालिका पुल्चोक स्थित अक्षेश्वर महाविहारमा भव्य रूपमा सम्पन्न भएको छ।

    साधारणसभामा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, पूर्वमन्त्रीहरु प्रेमभक्त महर्जन, रामकृष्ण चित्रकार, र बागमती प्रदेश, ललितपुर क्षेत्र नं. ३ प्रदेशसभा सदस्य रघुनाथ महर्जन तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा यल नेवा समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले नेवा समुदायको सांस्कृतिक धरोहर संरक्षण आजको आवश्यकता भएको भन्दै समाजले खेलेको भूमिकाको प्रशंसा गरेको थियो।

    यल नेवा समाजको मुख्य उद्देश्य नेवा समुदायको मौलिक संस्कृति, भाषा, परम्परा, मठ–मन्दिर, बिहार तथा ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धन गर्नु रहेको छ। साथै, जीर्ण अवस्थामा रहेका धार्मिक तथा सांस्कृतिक संरचनाको मर्मत, पुनर्निर्माण र प्रवर्द्धन गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु पनि समाजको प्राथमिकतामा रहेको छ।

    कार्यक्रममा समाजले आगामी दिनमा सांस्कृतिक कार्यक्रम, सचेतनामूलक अभियान, सम्पदा संरक्षणसम्बन्धी योजना तथा सामाजिक विकासका गतिविधिहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको जानकारी गराइयो।

    कार्यक्रमका क्रममा समाजको नयाँ कार्यसमिति निर्वाचनमार्फत चयन गरिएको थियो । नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूले नेवा समुदायको संस्कृति, पहिचान र ऐतिहासिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचनमार्फत अध्यक्षमा  नानी काजी शाक्य, उपाध्यक्षमा  न्हुक्षे बहादुर नेमकुल, सचिवमा संजय शर्मा राजोपाध्याय, सह–सचिवमा विष्णुलाल सिकर्मी तथा कोषाध्यक्षमा दिपेन्द्र राज शिल्पकार, निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा भिम नारायण नकर्मी, दिपेश मान जोशी, प्रकाश देउला र कृष्णदास कर्माचार्य निर्वाचित भएका छन्।

    अन्त्यमा, नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन गरिएको थियो।

  • सूर्यदेवको पूजा गरी छठ मनाइँदै

    सूर्यदेवको पूजा गरी छठ मनाइँदै

    कार्तिक १३ आइतबार, काठमाण्डाै । हरेक वर्षझै यस वर्ष पनि कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म सूर्यदेवको पूजा, आराधना गरि छठ मनाइँदैछ । यस पर्व शुक्रबार देखि सुरु भएको थियाे । यस पर्वकाे प्रथम दिन कार्तिक शुक्ल चतुर्थीका दिन ब्रतालुहरुले स्नान गरी एक छाक खाएर बस्ने गर्छ । यसकाे दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा षष्ठी मातालाई खरना (सखर हालेर बनाइएको खीर) चढाई प्रसाद स्वरुप ब्रत बस्नेले एक छाक खान्छन् । त्यसपछि कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ र रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाएकाे सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिई समापन गरिन्छ ।

    छठ पर्व पहिले तराईकाे सिमित क्षेत्रमा मात्र मनाइन्थ्याे भने हाल याे देशकाे बिभिन्न क्षेत्रमा भब्यताका साथ मनाइन्छ । छठपर्वका लागि भनेर राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । यस दिन सरकारले सार्वजनिक बिदाकाे घाेषणा पनि गरेकाे छ ।

  • द्वारका धाम निर्माणको शिलान्यास, पाँच वर्ष भित्र सम्पन्न गरिने

    श्रावण २५ बुधबार, काठमाण्डाै । भक्तपुरको सूर्यविनायक नगरपालिकाकाे गुण्डु स्थित पाथीभरा मन्दिर परिसरमा द्वारका धाम निर्माणको शुभारम्भ भएको छ । गौ संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा आज दिउँसो १ बजेर ३२ मिनेटको साइतमा द्वारका धाम निर्माणका लागि शिलान्यास भएको हो । भागवत रसिक गुरु शास्त्रीका अनुसार “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथीभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्‍याएका छौँ, अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्वारका धाम निर्माणमा हामी जुटेका छौँ, त्यसको आज शिलान्यास भएको छ, करिब आठ रोपनी क्षेत्रफलमा रु २० करोडको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्वारकाधामको गुरुयोजना निर्माण गरि कार्य अगाडि बढाएका हौँ ।” द्वारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने भन्दै उहाँले भारतको द्वारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य भइसकेको बताउनुभयो । शास्त्रीले सङ्घ, प्रदेश र स्थानीय गरी तीनवटै सरकार तथा अन्य दाताबाट सङ्कलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको उल्लेख गर्दै द्वारका धामसँगै पाथीभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषि मूर्ति स्थापना गरिने कार्यक्रममा बताउनुभयो । कार्यक्रममा १००८ स्वामी पद्मधर आचार्य, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायतले द्वारकाधामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनुभयो ।

  • बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व शुरु

    श्रावण १३ शुक्रबार, काठ्माण्डाै । आजबाट काठमाडौँ उपत्यकामा बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ सुरू भएको छ । याे पर्व वर्षभरि दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल संवतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् । यस अवधिमा स्वयम्भू महाचैत्यमा एक महिनासम्म मेला लाग्ने गर्छ। भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमा गरे पछि शोभाभगवतीसँगैका विजयश्वरीको दर्शन गरी केलटोल स्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

    साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ तथा आसपासका क्षेत्रबाट भक्तजनहरु आउने गर्छन् । याे पर्व कहिलेदेखि सुरू भएको भनेर यकिनका साथ भन्न नसकिए पनि पौराणिककाल देखि नै अभ्यासमा रहेको जनविश्वास छ । नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।

  • काठमाण्डाै जिल्ला अदालत बार एशाेिसिएशनकाे निर्वाचन सम्पन्न

    अषाढ ३२ शनिबार, काठमाण्डाै । काठमाण्डाै जिल्ला अदालत बार एशाेषिएशनकाे निर्वाचन काठमाण्डाै जिल्ला अदालत परिसरमा सम्पन्न भएकाे छ । शनिबार सम्पन्न भएकाे निर्वाचनमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षकाे प्यानल नै भारी मतले बिजयी भएकाे छ । जसमा अध्यक्षमा रामचन्द्र पाैडेल‍ , उपाध्यक्षमा पुरुषाेत्तम अधिकारी , सचिवमा उज्वल राम श्रेष्ठ , सहसचिव मा अन्जु रेग्मी अर्याल र काेषाध्यक्षमा सन्ताेष भण्डारी र अन्य १४ जना सदस्य गरी पुरा प्यानलनै भारी मतले बिजयी भएकाे छ ।

    सम्पन्न चुनाबमा नेपाल डेमाेक्र्याटिक लयर्स एसाेसिएसनकाे तर्फबाट रामचन्द्र पाैडेल अध्यक्षमा ९६४ मत प्राप्त गर्नु भएकाे छ । अध्यक्ष पाैडेलले कानुन व्यवसायी काे हकहितकाे का साथै स्वच्छ बार काे कल्पना साथ बार र बेन्चकाे सुमधुर सम्बन्ध साथ अघि बढ्ने प्रतिबध्दता जनाउनु भएकाे छ ।

  • अफगानिस्तानबाट ११ जना नेपाली नागरिकहरू उद्धार

    भाद्र ९ बिहिबार, काठमाण्डाै । आज ११ जना नेपाली नागरिकहरू अफगानिस्तानकाे काबुलबाट उद्धार भई नयाँदिल्ली आइपुग्नु भएको छ । अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी नै रहेको छ । काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई बिभिन्न ठाँउबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । विमानस्थल बाहिर जम्मा भएको भिडका कारण एकिकृत गरिएका नेपाली नागरिकहरुलाई विमानसम्म पुर्याउनका लागि विभिन्न तहमा समन्वय भैईरहेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म पनि खुलिसकेको छैन ।

    अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिएकाेछ । नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सोको जानकारी माथी उल्लेखित फोन नम्बरहरू, WhatsApp, Viber वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।