पुष १९ शनिबार‚ काठमाण्डौ । विसं २०८० मा स्थापना भएको यल नेवा समाजको दोस्रो वार्षिक साधारणसभा (एजिएम) तथा निर्वाचन कार्यक्रम ललितपुर महानगरपालिका पुल्चोक स्थित अक्षेश्वर महाविहारमा भव्य रूपमा सम्पन्न भएको छ।

साधारणसभामा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, पूर्वमन्त्रीहरु प्रेमभक्त महर्जन, रामकृष्ण चित्रकार, र बागमती प्रदेश, ललितपुर क्षेत्र नं. ३ प्रदेशसभा सदस्य रघुनाथ महर्जन तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा यल नेवा समाजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले नेवा समुदायको सांस्कृतिक धरोहर संरक्षण आजको आवश्यकता भएको भन्दै समाजले खेलेको भूमिकाको प्रशंसा गरेको थियो।

यल नेवा समाजको मुख्य उद्देश्य नेवा समुदायको मौलिक संस्कृति, भाषा, परम्परा, मठ–मन्दिर, बिहार तथा ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धन गर्नु रहेको छ। साथै, जीर्ण अवस्थामा रहेका धार्मिक तथा सांस्कृतिक संरचनाको मर्मत, पुनर्निर्माण र प्रवर्द्धन गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु पनि समाजको प्राथमिकतामा रहेको छ।

कार्यक्रममा समाजले आगामी दिनमा सांस्कृतिक कार्यक्रम, सचेतनामूलक अभियान, सम्पदा संरक्षणसम्बन्धी योजना तथा सामाजिक विकासका गतिविधिहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको जानकारी गराइयो।
कार्यक्रमका क्रममा समाजको नयाँ कार्यसमिति निर्वाचनमार्फत चयन गरिएको थियो । नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूले नेवा समुदायको संस्कृति, पहिचान र ऐतिहासिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचनमार्फत अध्यक्षमा नानी काजी शाक्य, उपाध्यक्षमा न्हुक्षे बहादुर नेमकुल, सचिवमा संजय शर्मा राजोपाध्याय, सह–सचिवमा विष्णुलाल सिकर्मी तथा कोषाध्यक्षमा दिपेन्द्र राज शिल्पकार, निर्वाचित भएका छन्। यस्तै, सदस्यहरूमा भिम नारायण नकर्मी, दिपेश मान जोशी, प्रकाश देउला र कृष्णदास कर्माचार्य निर्वाचित भएका छन्।

अन्त्यमा, नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन गरिएको थियो।







