Category: कृषि

  • नेपालमा बाली उत्पादनको लागि उपयुक्त माटो ४०–४५ प्रतिशत मात्र

    नेपालमा बाली उत्पादनको लागि उपयुक्त माटो ४०–४५ प्रतिशत मात्र

    मसिंर १६ शुक्रबार, काठमाण्डाै । नेपालको खेतीयोग्य जमिनको ४० देखि ४५ प्रतिशत माटो मात्र बाली उत्पादनको लागि उपयुक्त रहेको छ । डिजिटल सोइल म्यापको पछिल्लो तथ्याङ्क अनुसार नेपालको खेतियोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ४–५ प्रतिशत क्षारिय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको रहेकाे पाइएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ । कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनु आवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ ।

    कृषि विभागका महानिर्देशक डा रेवतीरमण पौडेलका अनुसार नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको बताउनुभयाे । उनका अनुसार खेती गरिने जमिनमा फस्फोरस तत्व तुलनात्मक रूपमा राम्रो पाइएको छ जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ । पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ जसमा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाइएको पनि उहाँले बताउनुभयो । साथै गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु, रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु, भू–क्षय निरन्तर भइरहनु, औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जानुलगायत कारणले माटोको स्वास्थ्यता बिग्रने बताउनु भयाे ।

    स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्बराशक्तिको दीगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ ।यसै सन्दर्भमा नेपालमा पनि १९ मसिंरमा ‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ नाराको भावलाई सार्थक पार्न नवौँ विश्व माटो दिवस मनाउन लागिएको छ । हाल नेपाल लगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्बराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो छ । यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र नेप्लिज सोसाइटी अफ स्वाइल साइन्सको समन्वयमा विभिन्न कार्यक्रम तय गरिएको छ ।

  • बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पायाे

    असाेज ११ मंगलबार, काठमाण्डाै । तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा पाएकाे छ । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउनकाे लागि मङ्गलबार अर्थ मन्त्रालय र आविष्कार केन्द्रबिच सम्झौतामा हस्ताक्षर गरिएकाे हो । सम्झाैतामा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभएकाे हाे । मन्त्रि परिषदकाे गत भाद्र ३१ गतेकाे बैठकले गरेकाे निर्णय अनुसार कृषि औजार कारखाना र राष्ट्रिय आविष्कार केन्द्र बिच सम्झाैता भएकाे हाे । मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालन गरिने घोषणाअनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा लगाइएकाे बताइएकाे छ । अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच १० वर्षका लागि सम्झौता भएको हाे ।

    राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल सरकार र अर्थ मन्त्रालयसँग यस किसिमको सम्झौता होला भनेर नसोचेको बताएका छन् । उनले यस सम्झाैता राम्रो कामका लागि भएको हाे, आफूहरूको ज्ञान, शिप र विवेकले भ्याएसम्म राम्रो गरेर देखाउने प्रतिबद्धता जनाउनुभयो । सम्झौताअनुसार कारखानाको मर्मतसम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलो पटक सरकारले गर्नेछ भने योजना निर्माण, जनशक्ति विकास, कृषि औजार उत्पादन र बजारीकरण लगायतका काम आविष्कार केन्द्रले गर्नेछ । साथै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम सञ्चालन गर्ने, दक्ष जनशक्ति तथा आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्ने कार्य गर्न पाउनेछ । सम्झौता अनुसार आविष्कार केन्द्रले औजार बिक्री गरेपछि प्राप्त रकमको ५० प्रतिशत रकमकाे राष्ट्रिय आविष्कार केन्द्र कोष खडा गर्ने र बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्नेछ ।