एमाले बैठक :निर्वाचन समीक्षा

चैत २० शुक्रबार‚ काठमाण्डौ। नेकपा एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन को समीक्षा गर्दै विभिन्न समसामयिक विषयमा विस्तृत छलफल गरेको छ। पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापा को अध्यक्षतामा उक्त बैठक बसेकाे थियाे।

उपमहासचिव लेखराज भट्टकानुसार बैठकले फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्राप्त जनमतलाई सम्मान गर्ने निर्णय गरिएको जानकारी दिनुभयाे । साथै बैठकले नवनिर्वाचित प्रधानमन्त्री वालेन्द्र शाह लाई बधाई दिँदै उहाँको नेतृत्वमा बनेको मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको बताउनुभयाे।

यस्तै बैठकले संसदीय दलको नेताको निर्वाचन पार्टी विधानअनुसार लोकतान्त्रिक विधिबाट सम्पन्न भएको निष्कर्ष निकालेको छ। साथै, संविधान र प्रचलित कानुनअनुसार सञ्चालनमा रहेका नेपाली सेना लगायतका सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् मित्रवत् रहने र अझ सुदृढ बनाइने पनि उपमहासचिव भट्टले जानकारी दिनुभयाे।

बैठकले सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा प्रतिबन्ध लगाउने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ। त्यसैगरी, सरकारी विज्ञापन केवल सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने निर्णयले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर बनाउने भन्दै सो निर्णय पनि फिर्ता लिन आग्रह गरिएको छ।

यसैबीच, पश्चिम एसियामा जारी हिंसाका कारण ठूलो संख्यामा नेपाली नागरिक असुरक्षित बनेको भन्दै उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न तथा स्वदेश फर्किन चाहनेहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिएको भट्टले जानकारी दिनुभयो।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.