कानून व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा

चैत ७ शनिबार‚ काठमाण्डौ। कानून व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा भव्यताका साथ मनाइदैछ। नेपाल बार एसोसिएसनको आयोजना तथा भक्तपुर बार एसोसिएसनको आतिथ्यतामा दुई दिने कार्यक्रम चैत ६ र ७ गते सञ्चालन भइरहेको छ।

“महिलाको समानुपातिक समावेशिता : परिवर्तन र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने नारासहित आयोजित सम्मेलनको पहिलो दिन बिहान ७;३० बजे दत्तात्रय मन्दिरबाट प्रभातफेरी आयोजना गरिएको थियो। प्रभातफेरीपछि उद्घाटन कार्यक्रम ख्वप ब्याङ्क्वेटमा सम्पन्न भएको थियाे ।

सम्मेलनको अध्यक्षता सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश माननीय श्री सपना प्रधान मल्ल ज्युले गर्नुभएको थियो। उहाँको प्रमुख आतिथ्यतामा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न न्यायाधीश, वरिष्ठ अधिवक्ताहरू तथा कानून व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले महिलाको न्यायमा पहुँच, समान अवसर तथा कानून व्यवसायमा महिलाको प्रभावकारी सहभागिताबारे जोड दिएको थियाे।

सम्मेलनको दोस्रो दिन अर्थात् चैत ७ गतेको कार्यक्रम भक्तपुर जिल्ला अदालतमा जारी रहेको छ। दोस्रो दिन विभिन्न विषयगत छलफल, अनुभव आदान–प्रदान तथा निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम समावेश गरिएको छ।

आयोजकका अनुसार यस सम्मेलनले कानून व्यवसायमा आबद्ध महिलाहरूबीच सहकार्य विस्तार, नेतृत्व विकास तथा नीतिगत सुधारका लागि महत्वपूर्ण आधार तयार पार्ने अपेक्षा गरिएको छ। साथै, यस्ता कार्यक्रमहरूले समावेशी र न्यायपूर्ण समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.