गोकर्णमा दुईदिने माउन्टेन बाइक क्रस–कन्ट्री र डाउनहिल टुर्नामेन्ट सम्पन्न

पुष ५ शनिबार‚ काठमाण्डौ । गोकर्णको सहिद स्मारक पार्कमा माउन्टेन बाइकिङका लोकप्रिय विधा क्रस–कन्ट्री (XC) डाउनहिल (DH) अन्तर्गतको दुईदिने पुष ४ र ५ गते टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल साइक्लिङ संघको आयोजनामा भौतिक रूपमा सम्पन्न प्रतियोगितामा दुवै विधा गरी कुल १०० जना भन्दा बढि खेलाडी सहभागी भएका थिए। प्राकृतिक ट्रयाकमा आयोजना गरिएको यस प्रतियोगिताले माउन्टेन बाइकिङ प्रति खेलाडी तथा दर्शकहरुमा अझ आकर्षण बढाएको छ।

प्रतियोगिताको पहिलो दिन पुष ४ गते क्रस–कन्ट्री विधा अन्तर्गत प्रतिस्पर्धा गरिएको थियो। यस विधामा खेलाडीहरूले लामो दूरी, उकालो–ओरालो, साँघुरा बाटो तथा प्राविधिक खण्डहरू पार गर्दै आफ्नो शारीरिक सहनशीलता, गति र रणनीतिक क्षमता प्रदर्शन गरे। निर्धारित लाप पूरा गर्ने क्रममा खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो।

त्यसैगरी, दोस्रो दिन पुष ५ गते डाउनहिल विधा अन्तर्गतको प्रतिस्पर्धा आयोजना गरिएको थियो। तीव्र गति, ढुंगायुक्त ट्र्याक, जम्प, तीखा मोड तथा प्राविधिक अवरोधहरूले भरिएको ट्र्याकमा खेलाडीहरूले समयसँग प्रतिस्पर्धा गरेका थिए। सुरक्षात्मक हेल्मेट, गार्ड र विशेष डिजाइन गरिएका डाउनहिल बाइक प्रयोग गरिएको यस विधाले दर्शकहरूलाई अत्यन्तै रोमाञ्चक अनुभव प्रदान गरेको थियो।

डाउनहिल विधातर्फ का विजयी खेलाडीकाे तालिका –

श्रेणीप्रथमदाेश्राेतेश्राे
मेन युथराेनिक्स हाङप्रतिक पाेखरेलपुष्कर रेग्मी
मेन जुनियरदिपसागर तामाङआरभ श्रेष्ठकबिर खड्का
मेन मस्टरम‌ंगल कृष्ण लामाधनजित राईगाैरव श्रेष्ठ
वुमन ईलाइटउषा खनालइन्द्रकुमारी तामाङ
मेन ईलाइटराजेश मगरनिरभ श्रेष्ठप्रचित थापा मगर

नेपाल साइक्लिङ संघका अध्यक्ष सुदिप पौडेलका अनुसार, यस प्रतियोगिताको मुख्य उद्देश्य माउन्टेन बाइकिङ खेलको प्रवर्द्धन गर्नुका साथै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नु हो। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई प्रोत्साहन गर्ने र नेपालमा साहसिक खेलकुदको विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ। यस प्रतियोगिताका विजयी प्रतिस्पर्धीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष दिपक रिसालले यस प्रकारको राष्ट्रिय प्रतियोगिता आफ्नो नगरपलिकामा सफलतापुर्वक सम्पन्न गराउन पाएकोमा गौरवान्वित महशुस गरेको बताउनुभयो। साथै उहाँले नगरपलिकाको तर्फबाट विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्ने‚ नगद पुरस्कारका लागि नगरपालिकाले ५ लाख छुट्याएको समेत जानकारी दिनुभयो।अझ भविश्यमा यसप्रकारका खेलहरु आयोजना गर्ने सधै नगरपालिका तयार रहेको बताउनुभयो ।

दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप सफल बनाएको आयोजकले जनाएको छ। आगामी दिनमा अझ व्यवस्थित र ठूला स्तरका माउन्टेन बाइकिङ प्रतियोगिता आयोजना गर्ने योजना रहेको जानकारी पनि आयोजक पक्षले दिएको छ।

यस प्रतियोगिता आयोजनाका लागि सहयोगी संस्थाहरूमा गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, स्राम, काठमाण्डौ बाइक स्टेशन, ट्रायल बिल्डर्स नेपाल, शहीद स्मारक र शान्ति पार्क, नेपाल पर्यटन बोर्ड, नेपाली चुलो रेस्टुरेन्ट र प्रो स्पोर्टस लगायतका संस्थाहरू रहेका छन्।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.