मंसिर २५ बिहिबार, काठमाण्डाै।नेपाल प्रिमियर लिग (एनपिएल)दोस्रो संस्करणको भएकाे खेलमा लुम्बिनी लायन्स विराटनगर किङ्सलाई पराजित गरि फाईनलमा पुग्न सफल भएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएकाे थियाे। एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए , निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे र रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए । बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशोधित जिसिले समान तीन/तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए ।
एनपिएलको फाइनल खेल शनिवार हुनेछ । जसमा लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँग खेल खेल्ने छ ।

Leave a comment