निर्वाचन आयोगमा दलहरुकाे निवेदन दिने क्रम जारी

मंसिर ७ आईतबार, काठमाण्डाै। निर्वाचन आयोगमा राजनीतिक दलकाे निवेदन दिने क्रम जारी रहेकाे छ । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरु भएको निवेदन दिने यो क्रम यही मङ्सिर १० गतेसम्म रहनेछ ।

यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुनेछ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएअनुसार अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवेदन दिएको छ ।

प्रवक्ता भट्टराईले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरी सुझावका लागि आयोगको वेबसाइटमा राखिएको र आजसम्म सुझाव दिन आह्वान गरिएको जानकारी दिनुभयो ।

उहाँले आयोगले माघको पहिलाे हप्ता आचारसंहिता जारी गर्ने तयारी रहेको र निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापनका लागि खरिद प्रक्रिया र अन्य तयारी भइरहेको जानकारी दिनुभयाे ।

यस निर्वाचनको निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम छ । आगामी फागुन २० गते राष्ट्रियसभा रिक्त हुने सदस्यको एक तिहाइ सदस्य १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ । सो सभाको एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यसूची छ । आयोगमा दर्ता कायम रहेका पुराना र नयाँ सबै दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै निवेदन दिनुपर्नेछ ।

आयोगको कार्यक्रम अनुसार यही मङ्सिर ५ गते मतदाता नामावली सङ्कलन र अद्यावधिक सम्पन्न भइसकेको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.