हरि बोधिनी एकादशी पर्व-तुलसी र दामोदरको विवाह गरीदै

कार्तिक १५ शनिबार, काठमाण्डाै । कात्तिक शुक्ल एकादशीका दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु भगवान् विष्णुको प्रतीकका रूपमा आज तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिदैछ ।

आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनी देखि हरि बोधिनी एकादशी का दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । किसानले उखुको बोट मठमा गाड्छन् । यस दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

आजका दिन देशका विभिन्न नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइदैछ । यस दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । त्यसैगरी काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौ का शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आज दर्शनार्थीहरुकाे ठुलाे भिड लाग्दछ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.