आश्विन २ बिहिबार, काठमाण्डाै । अखिल नेपाल फुटबल संघ (एन्फा) कारबाहीमा परेको छ । एएफसी फुटसल एसियन (एएफसी) कप छनोट प्रतियोगितामा नेपालले सहभागिता नजनाएका कारण एन्फा कारबाहीमा परेको हाे ।
एएफसी को अनुशासन तथा नैतिकता समितिको अगस्ट २१ गते बसेको बैठकबाट एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना सहितको कारबाही गरिएको हो ।
एएफसीका अनुसार नेपालले छनोट प्रतियोगिता सुरु हुनुभन्दा १०६ दिन अगाडि आफ्नो नाम फिर्ता लिएको थियो । जसका कारण एन्फालाई एएफसी फुटसल एसियन कप इन्डोनेसिया २०२६ को धारा ६.७ अन्तर्गत अपराधी ठहर गरिएको हो ।
एएफसी अनुशासन तथा नैतिकता संहिताको धारा ११.३ बमोजिम कारबाहीको निर्णय सूचित भएको मितिबाट ३० दिन भित्र जरिवाना तिनुपर्ने नियम छ । तर, स्रोतका अनुसार एन्फाले सो रकम अहिलेसम्म पनि तिरिसकेको छैन ।
आगामी जनवरी २७ देखि फेब्रुअरी ७ सम्म फुटसल एसियन कप इन्डोनेसियामा हुँदैछ । यस प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । साथै छनोट प्रतियोगिता सेप्टेम्बर २० देखि सुरु हुँदैछ ।

Leave a comment