श्रावण ५ साेमबार, काठमाण्डाै । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेकाे बताउनुभयाे । साेमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन ,उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
मन्त्री अधिकारीले कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको र कृषिमा आत्मनिर्भर हुने गरी मन्त्रालयले विभिन्न कामहरु गरिरहेको बताउनुभएको छ । उहाँले धानमा आत्मनिर्भर बन्न लागेको बेला मधेस प्रदेशमा खडेरीका कारण आएको समस्या समाधानका लागि मन्त्रालयले अध्ययन गर्न कर्मचारीको टोली खटाएको जानकारी दिनुभयो ।
उहाँले विगत लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिदसम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरणसम्बन्धी कार्यविधि संशोधन गरिएको जानकारी गराउनुभयो । यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीको भनाइ छ ।
विगत सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारी समायोजन अनुसारको सङ्गठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरी सङ्गठन सुदृढ तथा व्यवस्थापन गरिएको जानकारी दिनुभयाे ।
साथै बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको, कृषि तथा पशुपन्छी बिमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो ।

Leave a comment