असार ३२ बुधबार, काठमाण्डाै । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने बुधबार बेलुकी सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो ।

बुधबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनुभयाे। राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिय सभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गरेका हुन ।
मन्त्री न्यौपानेले पदबहाली गरेपछि सङ्घ प्रदेश र स्थानीय तहमा हुने सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न सङ्घीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गर्नुभयाे ।
निवर्तमान मन्त्री राजकुमार गुप्ताकाे भ्रष्टाचारको अडिओ काण्ड बाहिर आए लगतै चाैतर्फी दबाबपछि मन्त्री गुप्ताले राजीनामा दिएसँगै उनको ठाउँमा प्रधानमन्त्री ओलीले न्यौपानेलाई ल्याउनुभएकाे हाे।

Leave a comment