नेपाल र भारतका भन्सार अधिकारीहरूबीच वार्ता

चैत २९ शुक्रबार,काठमाण्डाै। नेपाल र भारतका भन्सार अधिकारीहरूबीच वार्ता सम्पन्न भएको छ । दुई देश बीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउन र अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रण गर्न भन्सार अधिकारीहरूबीच काठमाण्डौमा चैत २८ र २९ गते भेटवार्ता कार्यक्रम सन्चालन गरिएकाे थियाे ।

भन्सार विभागका महानिर्देशक महेश भट्टराईका अनुसार दुवै देशले भन्सार प्रक्रियालाई कागजविहीन (पेपरलेस) बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएकाे बताउनु भयाे ।

उहाँका अनुसार नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने कुरामा भारत सहमत रहेकाे बताउनुभयाे ।

साथै उहाँले वार्तामा दुबै पक्षले आयात–निर्यातसम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी गर्ने, भन्सारसम्बन्धी आपसी सहयोगसम्बन्धी सम्झौता अगाडि बढाउने र सीमावर्ती क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी व्यापार प्रवर्धन गर्ने विषयमा सहमत भएकाे जानकारी दिनुभयाे । वार्तामा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक महेश भट्टराई र भारतका तर्फबाट राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तव रहेकाे थियो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.