चैत १० आइतबार,काठमाण्डाै। दक्षिण एसियाली क्षेत्रका कृषकहरु बैङ्कको कर्जा तिर्न नसक्दा धरापमा परेका छन्। दक्षिण एसियाली किसान महासङ्घले काठमाण्डाैमा आयोजना गरेको पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै किसानले उत्पादनको मूल्य नपाउँदा बैङ्कबाट लिएको कर्जा समेत तिर्न नसकेकाे र पेसाबाटै पलायन हुने अवस्था रहेकाे जनकारी दिएकाे छ ।
महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका किसानले उत्पादनको मूल्य नपाउने साझा समस्या भोगिरहेका र यसको समाधान हुनुपर्नेमा जोड दिइएको बताउनु भयाे । साथै हालको कृषि प्रणालीले माटोको स्वास्थ्य र जलवायु परिवर्तनमा असर गरेकाले यसलाई फेर्नुपर्ने जोड दिइएको पनि बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा रासायनिकबाट प्राङ्गारिक खेतीमा जानुपर्ने, किसानको शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्नेमा आठै देशका किसान प्रतिनिधिले जोड दिएकाे बताउनुभयाे । साथै दक्षिण एसियाली देशका किसानले सिधै उपभोक्तालाई बेचबिखन गर्न सक्ने गरी कानुनी व्यवस्था गरिनुपर्नेमा पनि सम्मेलनले जोड दिएको जानकारी दिनुभयाे ।
सम्मेलन चैत ७ र ८ गते काठमाण्डौमा सम्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।सम्मेलनले २४ बुँदे घोषणापत्र र चार बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

Leave a comment