डेङ्गीका बिरामी छ हजार तीन सय ४७ पुगे

भाद्र १७ साेमबार, काठमाण्डाै। देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजार तीन सय ४७ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार छ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिनुका साथै तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेक सबै जिल्लामा देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ ।

महाशाखाका अनुसार डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ जनामा देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छ।

वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.