भाद्र ९ आइतबार, काठमाण्डाै। नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएकाे खेलमा नेपालले भुटानलाइ ४–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानकाे तर्फबाट जेत्सन दोर्जीले र नेपालका लागि निराजन धामीले गोल गरेका थिए ।

टाई ब्रेकरको पहिलो प्रहारमा नेपालका तर्फबाट राम थापाले गाेल गरे भने भुटानका लागि जेत्सन दोर्जीले गोल गरे । नेपालकाे तर्फबाट दोस्रो गाेल अभिनाश स्याङतान, तेस्रो गोल सेमन्त थापा र चौथो गाेल जियारत शेखले गरे भने भुटानकाे तर्फबाट अन्य गाेल हुन सकेन।
सोमबार भारत र बङ्गलादेश सेमिफाइनल खेल्नेछन् । फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुनेछ ।

Leave a comment