ऋण अनुदानमा परिणत गर्न चिनलाई आग्रह

भाद्र ६ बिहिबार, काठमाण्डाै। नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिएको ऋण अनुदानमा परिणत गर्न चिनलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै लेखिएकाे पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभएको थियाे ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गर्नुभएको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैङ्कबाट करिब हालको विनिमय दरअनुसार रु २५ अर्ब ८८ करोड ऋण सम्झौता गरेको थियो । विसं २०७२ चैत ८ गते ऋण सम्झौता भई २०७३ साल पुस २७ गतेबाट निर्माण सुरु भएको थियो । विसं २०७९ पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा अर्थ सचिव डा रामप्रसाद घिमिरे, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायत अन्य विशिष्ट व्यक्तिहरु उपस्थित हुनुहुन्थ्यो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.