भाद्र १ शनिबार, काठमाण्डाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले संसदबाट श्रमसम्बन्धी ऐन संशोधन गर्न आवश्यक रहेकाे बताउनुभयाे । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री भण्डारीले समयमा हुन नसक्दा म्यानपावर व्यवसायीको नवीकरण लगायतका काममा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ ।
मन्त्री भण्डारीले ऐन अनुसार लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर व्यवसायीको नवीकरण नगर्ने व्यवस्था रहेको भएपनि विविध परिस्थितिका कारण सरकारले बाधा अड्काउ फुकाऊ मार्फत नवीकरण गर्नु परिरहेको बताउनुभयो ।
बैठकमा सांसदहरुले विभिन्न देशका कूटनीतिक नियोगहरूबाट मागपत्र प्रमाणीकरण हुनु पूर्व ती देशमा जाने कामदारले तिर्नुपर्ने शुल्क निर्धारण गर्नुपर्ने, गैर कानुनी रुपमा वैदेशिक रोजगारीमा जान रोक्नुपर्ने, एक वर्षमा १०० जना कामदार वैधानिक रुपमा नपठाउने तर कर्मचारी राखेर म्यानपावर संस्था कसरी सञ्चालन भइरहेको छ खोजी हुनुपर्ने, महिला कामदारलाई गैरकानुनी रुपमा खाडी मुलुक पठाउन पूर्ण रुपमा रोक लगाउनुपर्ने कुरामा जोड दिएकाे थियाे।

Leave a comment