थामे क्षेत्रमा दुई हिमताल फुट्दा बाढी आएको निष्कर्ष

भाद्र १ शनिबार, काठमाण्डाै। सोलुखुम्बुकाे थामे क्षेत्रमा दुई हिमताल फुट्दा बाढी आएको बताइएकाे छ । रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सहितको टोलीले आज क्षतिग्रस्त थामे क्षेत्रको हवाई निरीक्षणपछि हिजो दुई वटा हिमताल फुटेकाले बाढी आएको र सो क्षेत्रमा बाढीको जोखिम कायमै रहेकाे जानकारी दिएकाे छ ।

विपद् व्यवस्थापन समितिले जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको जनाएको छ । थामे भन्दा माथिपट्टि पाँच वटा हिमताल रहेकाे छ, शुक्रबार दुईवटा विस्फोट भएपछि बाढी आएको पुष्टि भएकाे छ । प्रमुख जिल्ला अधिकारी खत्रीले बाँकी तीनमध्ये एउटा सुरक्षित रहेको र दुई वटा जोखिम रहेको बताउनुभयाे । खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेकाले सो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको पनि उहाँले बताउनुभयो ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका(३ फाक्दिङदेखि नाम्चे जाने पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रमा आवतजावत टुटेको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.