श्रावण १८ शुक्रबार, काठमाण्डाै । आइडिया स्टुडियो नेपाल तथा प्रभु बैंकले उद्यमशीलताको विकास आजकाे आवश्यक्ता रहेकाे महसुस गरि तीन वटा शैक्षिक संस्थासँग रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच आइडिया स्टुडियो नेपाल र प्रभु बैंकले संयुक्त रुपमा गण्डकी प्रदेशका धौलागिरि बहुमुखी क्याम्पस, म्याग्दी बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पससँग रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेको हाे ।
आइडिया स्टुडियो नेपालकी व्यापार प्रवर्धन अधिकृत प्रज्ञा घिमिरेका अनुसार उक्त समझदारी पत्रमा प्रभु बैङ्क लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आइडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गर्नुभएको छ भने धौलागिरि बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी र कालिका बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख सह प्राध्यापक विरन्जी गौतमले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार आइडिया स्टुडियो नेपालसँग सहकार्य गर्दै आफूहरूले विद्यार्थीमा उद्यमशीलता प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको र अबको सहकार्यले त्यस क्षेत्रमा राम्रो प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले आफ्नो संस्थाले शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक र व्यवहारिक बनाउन शिक्षक तथा प्राध्यापकहरूलाई तालिम र अनुसन्धानका कार्यक्रमहरूमा सहयोग र प्रोत्साहन गर्दै आएको बताउनुभयो ।
त्यस अवसरमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएका तीनवटै क्याम्पसका क्याम्पस प्रमुखहरुले हालको समयमा युवाहरू बिदेसिने क्रम बढिरहेका बेला शैक्षिक संघ संस्थाहरूले देश भित्रै अवसर देखाउन जरुरी रहेको उल्लेख गर्दै यस सहकार्यले त्यस क्षेत्रमा केही मात्रामा भएपनि लाभ पुग्ने विश्वास जनाउनुभयो ।
यस सहकार्यले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा उद्यमशीलताको क्षेत्रमा सिर्जनात्मक वातावरण बनाउन मद्दत पुग्नु सँगै नवोदित उद्यमीहरूलाई सशक्तिकरण हुने विश्वास पनि लिइएको छ ।

Leave a comment