श्रावण १८ शुक्रबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने बताउनुभयाे । साथै यसका विकल्प र उपायबारे छलफल गरी दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन पनि दिनुभएको छ ।
प्रधानमन्त्री ओलीका अनुसार निर्माण भएको लामो समयसम्म पनि यी दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौँ विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रुपमा लिनु पर्ने बताउनुभयाे । साथै ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याएको खण्डमा सरकारले तालिकामा राखेर अगाडि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यसचिव, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको उपस्थिति थियो ।
छलफलमा प्राधिकरणका पदाधिकारीबाट विमानस्थल सञ्चालनमा भइरहेका समस्या, भइरहेको कामलगायत विभिन्न पक्षमा भइरहेको तयारीबारे ब्रिफिङ गरिएको थियो ।

Leave a comment