सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति

श्रावण १७ बिहीबार, काठमाण्डाै । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति भएको छ । गृह मन्त्रालयमा बिहिबार बसेको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित कार्यदलहरुले विधेयकमा यसअघि मिल्न बाँकी रहेका सबै विषयमा सहमति जनाएकाे छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्ति प्रक्रिया छिटै टुङ्गोमा पुर्याउन सकिने बताउनुभयो । उनले गम्भीर मानव अधिकार उल्लङ्घन विषयमा सहमति भएको र सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने जानकारी दिनुभयो । साथै सङ्क्रमणकालीन न्यायसँग जोडिएको विषय पृथक् र विशेष प्रकारको न्याय प्रणाली भएको बताउनुभयाे । यसलाई फौजदारी अभियोगसँग हेर्न नहुने पनि बताउनुभयाे ।

उहाँका अनुसार समितिले विज्ञहरुका सुझावको आधारमा विषयहरू टुङ्ग्याइएको र सहमतिको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रूपमा बुझाएर विधेयक अघि बढाइने जानकारी दिनुभयो ।

साथै उहाँले सुरक्षाकर्मीका परिवारलाई राहत परिपूरण, बहिर्गमित लडाकु, गम्भीर मानव अधिकार उल्लङ्घनजस्ता विषयमा सहमति भइसकेको भन्दै लामो समयदेखि अड्केको विषयलाई पीडितको मागअनुसार नै टुङ्ग्याएको पनि बताउनुभयो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.