नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात

श्रावण १७ बिहीबार, काठमाण्डाै । नेपालगञ्ज नाकाबाट सात अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत २०८०/८१ आवमा आयात भएको खाद्यान्न (चामल, मकै, गहुँ र धान ) अघिल्लो आव २०७९/०८०का तुलनामा करिब ५० करोडले बढी मूल्यको रहेकाे छ ।

भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार गत आवमा चामल मात्रै चार अर्ब १२ करोड २६ लाख ६९ हजारको तीन लाख ३ हजार ३४० क्विन्टल आयात भएको र यसबाट ४७ करोड २७ लाख २२ हजार राजस्व सङ्कलन भएको बताउनुभयाे । साथै अघिल्लो आव २०७९/०८० मा चार अर्ब ७३ करोड ६० लाख ११ हजारको ४७ हजार ३६० क्विन्टल चामल आयात भएको थियो । आव २०७९/८०माभन्दा आव २०८०/८१ मा चामल आयातमा मूल्यमा कमी आए पनि परिमाणमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार कार्यालयबाट गत आवमा ५३ करोड ४१ लख ८७ हजारको धान आयात भएको छ । आव २०७९/८० मा १५ करोड ६१ लाख ८७ हजारको धान आयात भएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०८०/०८१ मा दुई अर्ब चार करोड १८ लाख १५ हजारको मकै भारतबाट आयात भएको छ भने आव २०७९/८० मा दुई अर्ब ९ करोड ९९ लाख ९५ हजारको मकै आयात भएको थियो । त्यस्तै गत आवमा ८४ करोड ९१ लख ९३ हजारको गहुँ आयात भएको छ भने आव २०७९/८० मा ११ करोड ४१ लख ८८ हजारको मात्रै गहुँ आयात भएको थियो ।

Comments

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.