श्रावण १३ आइतबार, काठमाण्डाै । अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने काम सरकारले गर्ने बताउनुभएको छ । अर्थ मन्त्रालयमा भएकाे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, इप्पानका पदाधिकारीसँगको भेटबार्तामा अर्थमन्त्री पौडेलले नेपालमा बिजुली पुग्यो भन्ने अवस्थामा नपुगिसकेकाले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्ने बताउनुभएको हो। अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको उल्लेख गर्दै प्रतिव्यक्ति विधुत खपत बढाउन अझ धेरै बिजुली आवश्यक हुने भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको मनोबल बढ्ने गरी काम गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
साथै इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा ऊर्जा क्षेत्र यहाँसम्म आउनुमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताउनुभयो । उहाँले साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भएका, ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन रहेका र ३९ सय मेगावाट बराबरकै १३६ आयोजना नेपाल विधुत प्राधिकरणसँग विधुत खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको बताउनुभयाे । यस्तै सर्वेक्षण सम्पन्न भई निर्माणका लागि विधुत विकास विभागमा आवेदन दिएका १० हजार सात सय र निर्माण अनुमति लिएर पीपीएका लागि प्राधिकरणमा आवेदन दिएका १० हजार मेगावाटका आयोजनामध्ये पनि ८० प्रतिशत निजी क्षेत्रको अगुवाइमा अघि बढिरहेको पनि बताउनुभयो ।
निजी क्षेत्रले नेपालको ऊर्जा विकासमा आक्रमक ढङ्गले अघि बढिरहेको बेला नेपाल सरकारले गत जेठमा सार्वजनिक गरेको वित्त नीति र नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले ऊर्जा विकासमा संलग्न सम्पूर्ण निजी क्षेत्र उत्साहित हुन नसकेकोले निजी क्षेत्र उत्साहित हुने गरी ऊर्जा उत्पादकका सवालहरू सम्बोधन गरिदिन इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले अर्थमन्त्री पौडेलसँग आग्रह गर्नुभयो ।
उक्त भेटमा इप्पानबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र उत्तम भ्लोन, उपमहासचिव प्रकाश दुलाल तथा कार्यसमिति सदस्यद्वय उत्तरकुमार श्रेष्ठ र भरत पराजुली सहभागी हुनुभएको थियो ।

Leave a comment