श्रावण ४ शुक्रबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली ले अर्थतन्त्रलाई सुदृढ बनाउनु नै आफू नेतृत्वको सरकारको प्रमुख ध्येय भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको प्रस्ट पार्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी का अध्यक्षसमेत रहनुभएका ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको बताउनुभयाे । उहाँ केही नयाँ काम गरि मुलुकको समस्या समाधानमा योगदान गर्न भनी जिम्मेवारी लिएकाे साथै अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको पनि बताउनुभयो ।
उहाँले नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीति कठोर नहुने सङ्केत गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न उच्च प्राथमिकताका साथ काम गर्न निजी क्षेत्रका तर्फबाट आग्रह गर्नुभयो । उनले उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेकोले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । साथै मौद्रिक नीतिमार्फत शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने धारणा पनि राख्नुभयो ।
Leave a comment