श्रावण १ मंगलबार, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले जनतामा आशा र विश्वास जागेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलवार बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा भएको बताउनुभयो । नयाँ सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उहाँले बताउनुभयो । देशको विकास, सुशासन र आमजनताका निम्ति आफूले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले यस अघि प्रधानमन्त्री हुँदा पनि यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको प्रष्ट पार्नुभयो ।
साथै यस पटक उहासँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू भएको बताउँदै त्यसले अप्ठ्यारासँग जुध्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । हाल मनसुनको चापले गर्दा ठाउँठाउँमा बाढी पहिरो, केही सडक पुलहरू भत्किने र त्यसबाट जनधनको क्षति भएको छ । नेपालको भौगोलिक स्थितिका कारणले यस्ता कुराहरू रोक्न कठिनाइ भइरहेको छ । तर आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले एक वर्ष भित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने बताउनुभयो । उहाँले भविष्यका कर्णधार बालबालिकाहरूलाई फस्टाउन दिने कुरामा जोड दिने बताउनुभयाे।
उहाँले सरकारले सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा देखिने गरी काम गर्ने कुरामा विश्वस्त, आश्वस्त र ढुक्क हुन आग्रह गर्नुभयो । नागरिकको आत्मीयता र माया मर्न नदिने पनि विश्वास दिलाउनुभयो ।

Leave a comment